एक्स्पो पोखरा आजदेखि, यस्ता छन् एक्स्पोका विशेषता र आकर्षणहरु

आर्थिक आवाज

पोखरा, १३ मंसिर । पोखरामा बिहीबारदेखि ‘सफल एक्स्पो पोखरा’ हुने भएको छ । पोखरा उद्योग वाणिज्य संघको आयोजनामा विगत वर्षहरुमा हुने राष्ट्रिय औद्योगिक व्यापार मेलाको परिमार्जित रुप ‘सफल एक्स्पो पोखरा’ नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा मंसीर २४ गतेसम्म जारी रहनेछ । तेस्रो मोबाइल मेलासमेत जोडेर आयोजना गर्न लागिएको ‘सफल एक्स्पो पोखरा’को सम्पूर्ण तयारी पूरा भएको पोखरा उद्योग वाणिज्य संघले मंगलबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । एक्स्पोको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्ने कार्यक्रम तय भएको आयोजक पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले जानकारी दिए ।

एक्स्पोमा ३ सय स्टल रहने र त्यसको सम्पूर्ण स्टल बुकिङ भइसकेको जनाइएको छ । पोखरासहित राष्ट्रको औद्योगिक, कृषिजन्य, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटनलगायत कृषिजन्य उत्पादनहरुलाई प्रवद्र्धन तथा बजारीकरणमा सघाउ पु¥याउनु तथा गण्डकी प्रदेश र खासगरी पोखराको व्यवसाय बिस्तारको सम्भावनाको खोजीमा पनि एक्स्पो समर्पित रहेको आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघले जनाएको छ । एक्स्पोमा मेड इन नेपाल पेभेलियन, विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उत्पादन, दैनिक उपभोग्य खाद्यबस्तु र लत्ताकपडा, पुष्प प्रदर्शनी, हस्तकलाका सामग्री, अटो प्रदर्शनी, महिलाहरुद्वारा उत्पादन गरिएका सामानहरु, रेष्टुरेण्टहरु रहने जनाइएको छ ।

एक्स्पोमा पहिलोपटक छुट्टै औद्योगिक पेभेलियन राखिएको छ । औद्योगिक पेभेलियनमा पोखरा औद्योगिक क्षेत्रका २० वटा उद्योगका स्टल रहने अध्यक्ष अधिकारीले बताए । एक्स्पोमा यस पटक पर्यटनको पनि स्टल रहने भएको छ । पोखरा पर्यटन परिषदसँगको सहकार्यमा स्टल राखेर पोखराका पर्यटकीय क्षेत्रहरुको जानकारी, एडभेञ्चर स्पोर्टससँग सम्बन्धित प्याराग्लाइडिङ, बञ्जीजम्प, जीप फ्लयार, क्यानोनिङ, हट बेलुनलगायतबारे जानकारी दिइने उनले बताए । त्यस्तै होमस्टेको पनि स्टल रहने उनले उल्लेख गरे ।

यसैगरी एक्स्पोको अर्को आकर्षण भनेको मोबाइल मेला हो । मोबाइल वितरक संघ गण्डकीसँगको सहकार्यमा छुट्टै मोबाइल पेभेलियन राख्न लागिएको हो । मोबाइलका २० स्टल रहने र त्यहाँ मोबाइलका नयाँ नयाँ मोडलहरुको प्रदर्शनी, मोबाइल एक्सचेञ्ज अफर, नयाँ ब्राण्डका मोबाइलको उपलब्धता, मोबाइलको फिचर्स तथा फेसिलिटीबारे जानकारी गराइने मोबाइल बिक्रेता संघ गण्डकीका अध्यक्ष शिवराज पहारीले जानकारी दिए । उनले मोबाइल एक्सचेञ्जका लागि मोबाइल वालाले मोबाइलसहित मोबाइल खरिद गरेको विल र आफ्नो स्पष्ट परिचय खुल्ने परिचय पत्र बोकेर आउनुपर्ने बताए । एक्स्पोमा लोकदोहोरी प्रतियोगिता, नेपालका ख्यातिप्राप्त व्याण्डहरुको सांगीतिक कार्यक्रम, लोकनृत्य, रत्यौली, विद्यालय स्तरीय एकल र सामूहिक नृत्य प्रतियोगिता, लोपोन्मुख सांस्कृतिक झाँकी र नाचहरुसहित हास्यव्यङ्ग्य कार्यक्रम हुने संघका महासचिव अर्जुन पोखरेलले जानकारी दिए ।

एक्स्पोमार्फत अर्थतन्त्र चलायमान बनाउन एवम् उत्पादक र उपभोक्तालाई एउटै थलोमा भेट गराई उद्यमशीलता सृजना गर्न एक्स्पो आयोजना गरिएको पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले जानकारी दिए । उनले एक्स्पोलाई भव्य बनाउन कुनैपनि कसर बाँकी नराखेको बताए ।

संघका महासचिव अर्जुन पोखरेलले पोखरालाई पर्यटनको मूख्य हब र पोखरा वरपरको क्षेत्रलाई सब हब बनाउँदै समग्र पर्यटन क्षेत्रको प्रवद्र्धन गर्न एक्स्पो कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे । पोखराको औद्योगिक घराना लक्ष्मी समूहको सफल ब्राण्ड टाइटल स्पोन्सर रहेको एक्स्पोबाट ९० लाख संकलन गरेर ६० लाख खर्च गरी ३० लाख बचत गर्ने लक्ष्य राखिएको संघका अध्यक्ष अधिकारीले जानकारी दिए । एक्स्पोको प्रवेश शुल्क ६० रुपैयाँ तोकिएको छ भने विद्यार्थीलाई ४० रुपैयाँ राखिएको छ । प्रवेश टिकटमा दैनिक पुरस्कार राखिएको छ भने अन्तिममा एक जनालाई बम्पर उपहार हिरो ड्युट स्कुटर प्रदान गरिने उनले बताए ।

You might also like

Comments are closed.