पोखरा, २० जेठ
गण्डकी प्रदेश सरकारले पनि बिजुलीबाट चल्ने बस सञ्चालन गर्ने भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पोखरामा आगामी वर्षदेखि बिजुलीबाट बस सञ्चालन गर्ने बताएका हुन् । कास्कीको अन्नपूर्ण गाउँपालिकामा पर्ने ‘नयापुलदेखि घान्द्रुक उरीसम्म’को बाटो पिच गर्ने कार्यको शिलान्यास कार्यक्रममा बोल्दै उनले अबको एक वर्ष भित्रै पोखरामा बिजुलीबाट बस सञ्चालन भइसक्ने बताए ।
बिजुली उत्पादन बढेसँगै बिजुली खपतपनि बढाउनु परेको छ–उनले भने,‘त्यसका लागि एक वर्षभित्रै पोखरामा बिजुली बस सञ्चालनको ब्यबस्था गर्छौं ।’ उनले बिजुली बस ल्याउनका लागि प्रेरित गर्न बिजुली बसको भन्सार शुल्क घटाउने योजना सुनाए । साथै बिजुलीबाट चल्ने गाडीको प्रवद्र्धन गर्नुका साथै पोखरा बजारको मूख्य चोकचोकमा चार्जिङ स्टेसन राखिने उनले जानकारी दिए ।
मुख्यमन्त्री गुरुङले सडक निर्माणको ठेक्का लिएर काम नगर्ने ठेकेदारलाई प्रदेश सरकारले नछाड्ने चेतावनी दिए । सडक निर्माणको जिम्मा लिएर काम नगर्ने ठेकेदारलाई प्रदेश सरकारले छाड्दैन–उनले भने,‘भागेर जाने ठेकेदारलाई समात्ने क्षमता हामीसँग छ, कसैलाई फकाएर ल्याउँछौं, नमान्नेलाई समाएर ल्याउँछौं, कसैलाई ब्ल्याकलिस्टसमेत राख्छौं ।’ उनले ब्ल्याकलिस्टमा राखेका ठेकेदारलाई अन्य सडक निर्माणको ठेक्का नदिने स्पष्ट पारे ।
गण्डकी प्रदेशमा २ हजार २ सय कर्मचारी आवश्यक भएपनि हालसम्म ९ सय कर्मचारी मात्रै आइपुगेको बताए । कर्मचारी कम हुँदा पहिलेको केन्द्रीय शासन प्रणाली भन्दापनि गाह्रो गरेर काम गर्नुपरेपनि जनतालाई सेवा दिन कमी नगरेको उनको दाबी छ । उनले पर्याप्त नभएपनि खाँचो भने नहुनेगरी कर्मचारी भएको बताए ।
मुख्यमन्त्री गुरुङले प्रदेश सरकारले आर्थिक वर्ष २०७६÷७७ का लागि ३५ अर्ब बराबरको बजेट ल्याउने तयारी गरेको बताए । अबको ४ वर्षभित्र स्थानिय तहका केन्द्रहरुको लिंक रोड बनाइसक्ने घोषणा गर्दै उनले त्यसलाई प्राथमिकतामा राखेर बजेट आउने बताए । साथै उनले एक निर्वाचन क्षेत्र एक सडक बनाउनपनि उल्लेख गरे । उनले संघ सरकारले संघीय शासन प्रणाली अनुसार बजेट नल्याएको टिप्पणी गरे । संघीयतालाई आत्मसाथ नगरेकाले नै मैले गुनासो गरेको हुँ–उनले भने,‘गुनासो गरिरहेपछि एक दिन न एक दिन त सुन्छ नि भन्ने विश्वास छ ।’ गुनासो गर्नै छाड्ने हो भने कहिल्यै सम्बोधन नहुने भएकाले गुनासो गर्नुपरेको उनको प्रष्टीकरण थियो ।
मुख्यमन्त्री गुरुङले पोखराको फेवातालबाहेकलाई पर्यटन नदेख्ने मानसिकता रहेको भन्दै त्यसमा सुधार गर्नुपर्ने बताए । उनले भने,‘पर्यटन भनेको फेवाताल मात्र होइन, अनि पर्यटक भनेको विदेशी मात्र होइन ।’ फेवातालबाहेकका पर्यटकीय क्षेत्र गण्डकी प्रदेशमा प्रशस्त रहेको भन्दै उनले ति क्षेत्रको प्रवद्र्धन गर्न सकेमा त्यसले समृद्धीमा सघाउ पुग्ने बताए । उनले पर्यटकको संख्या बढाउने भन्दा गुणात्मकतामा ध्यान दिनुपर्नेमा जोड दिए । साथै उनले गण्डकी प्रदेशलाई स्याउ निर्यात गर्ने प्रदेश बनाउने घोषणा गरे । स्याउका लागि मुस्ताङ उपयुक्त ठाउँ भएकाले यस वर्ष १ लाख विरुवा निःशुल्क वितरण गरेर स्याउ उत्पादन बढाउनुका साथै केहि वर्षभित्रै निर्यात गर्न सक्षम बनाइने उल्लेख गरे ।
Comments are closed.