कास्कीमा एटिएम सुरु गर्ने पहिलो सहकारी बन्यो पोखरा रोयल, सेवाको प्रशंसा गरे मन्त्री थापाले

आर्थिक आवाज
पोखरा, ७ माघ । पोखरा रोयल सहकारी संस्थाले एटिएम सेवा सञ्चालनमा ल्याएको छ । सहकारीको कार्यालय बुद्धचोक पोखरासँगै सञ्चालनमा आएको एटिएम मेसिन सेवाको सोमबार एक कार्यक्रमका बीच गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले उद्घाटन गरे ।

उक्त अवसरमा बोल्दै थापाले सहकारीहरु पछिल्लो समय आधुनिक बन्ने क्रम बढेको बताए । ‘सहकारीहरु समयसापेक्ष परिवर्तन हुँदै अगाडि बढ्नुपर्छ,’ उनले भने, ‘वित्तीय कारोबार गर्ने संस्थाहरुका लागि एटिएम अपरिहार्य तथा अति आवश्यक छ ।’ एटिएमले सहकारीलाई प्रविधिमैत्री बनाउनसमेत सहयोग पुग्ने उनले बताए ।

कार्यक्रममा बोल्दै जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष रविरमण तिवारीले एटिएम सेवा सञ्चालन गर्नु सहकारी क्षेत्रका लागि गौरवको विषय भएको धारणा राखे । ‘सहकारीहरु सक्षम र सवल छन् भनेर पोखरा रोयलले प्रमाणित गरेको छ,’ उनले भने, ‘सहकारी क्षेत्रले धेरै राम्रा र प्रविधिमैत्री सेवा भित्र्याउन सक्छन् ।’

आफ्ना सेयर सदस्यहरुको हितलाई ख्याल गर्दै र सहकारीलाई आधुनिक तथा प्रविधिमैत्री बनाउने क्रममा एटिएम सेवा सञ्चालनमा ल्याइएको सहकारीका सचिव भीम गुरुङले जानकारी दिए । ‘लामो समयको प्रयासपछि हामीले एटिएम सेवा सञ्चालन गर्न सक्षम भएका छौं,’ उनले भने । एटिएम सेवा सञ्चालन गर्ने कास्कीको पहिलो सहकारीसमेत पोखरा रोयल बनेको छ ।

एटिएमको स्थापनासँगै सहकारीले आफ्ना सेयर सदस्यहरुलाई एससिटी कार्ड वितरण सुरु गरेको मुख्य प्रवन्धक मीलन ढकालले जानकारी दिए । पोखरा रोयलले वितरण गर्ने एससिटी कार्ड नेपालभरका एटिएम मेसिनमा प्रयोग गरेर पैसा निकाल्न सकिने एससिटीका प्रवन्धक दीपक मास्केले जानकारी दिए । पोखरा रोयल सहकारीले आधुनिक बैंकिङ प्रणाली अनुसार नै आफ्ना सेयर सदस्यलाई सेवा सुविधा प्रदान गरिरहेको छ । सहकारीले यस अगाडि २४सैं घन्टा मोबाइल बैंकिङ लगायतका सेवा सञ्चालन गरिसकेको छ । सहकारीमा अहिले ५ हजार जना सेयर सदस्य छन् ।

You might also like

Comments are closed.