एण्डालास र कालिका क्याम्पसबीच शैक्षिक कार्यक्रम आदानप्रदान गर्ने सम्झौता

पोखरा , २५ फागुन
इन्डोनेसियाको एण्डालास विश्वविद्यालय र पोखरा –१५ मा रहेको कालिका बहुमुखी क्याम्पसबीच शैक्षिक कार्यक्रम आदानप्रदान गर्ने सम्झौता भएको छ ।
परिवर्तित सन्दर्भमा सामाजिक शास्त्र तथा विकास अनुसन्धानका चुनौती र संभावना विषयक दुई दिने अन्तराष्ट्रिय सम्मेलन शनिबार पोखरामा सम्पन्न कार्यक्रम समापनको अवसरमा भएको सम्झौता पत्रमा क्याम्पस प्रमुख बालाकृष्ण शर्मा र एण्डालास विश्व विध्यालयका प्रतिनिधि डा. मास्कोटा डेल्फिले हस्ताक्षर गरेका छन् ।

कालिका सामुदायिक क्याम्पस ग्रामिण विकास विभागद्धारा आयोजित सम्मेलनमा चार देशका प्रोफेशरहरुले समाजशास्त्रीय अनुसन्धानबाट ग्रामिण विकासको अवस्था, जलबायु परिवर्तन र त्यसले जनजीवनमा पारेको प्रभाव, समाजशास्त्र र पर्यटन, खाद्य सुरक्षा, सनातन सामाजिक संरचना, पुस्तान्तर, बैदेशिक रोजगार, लैङ्गिक सवाल, दिगो विकासका बारेमा प्रस्तुती राखेका थिए ।  कार्यक्रममा क्याम्पस संचालक समितिका अध्यक्ष तथा संघिय प्रतिनिधि सभाका सांसद एवं उद्योगपति सुर्यबहादुर केसीले एउटा सामुदायिक क्याम्पससँग इण्डोनेशियाको विश्वविद्यालय बीचको भगिनी सम्बन्धले दुई देश बीच शिक्षामार्फत संस्कृति र विकासलाई आदान प्रदान गर्न भुमिका खेल्ने विश्वास ब्यक्त गरे ।

केसीले गण्डकी प्रदेशको एक मात्र ग्रामिण विकास अध्यापन हुने कालिका बहुमुखी सामुदायिक क्याम्पसले ग्रामिण विकास नै आर्थिक समृद्धि आधार मान्दै अध्यापन गराएको बताए । उनले दक्ष जनशक्ति उत्पादन गरेर देश भित्रै रोजगार सृजना गर्न ग्रामिण विकास अध्ययनले सहयोग हुने बताए ।  कार्यक्रममा प्राध्यापक तथा नारीवादि अभियान्ता डा. चन्द्र भद्रा, प्राध्यापक डा. शुक्रराज अधिकारी, नेपाल, भारत, इन्डोनेशिया, अष्ट्रेलिया लगायतका देशहरुबाट ७० जना सहभागिता रहेको थियो भने २० वटा प्राज्ञिक प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

You might also like

Comments are closed.