दीपेन्द्र शर्मा
क्षेत्रीय प्रबन्धक
एनआइसी एसिया बैंकनिजी क्षेत्रको अग्रणी वित्तीय संस्था एनआइसी एसिया बैंकले पछिल्लो समय आक्रामक रुपमा शाखा बिस्तार गरिरहेको छ । बैंकले पोखरा क्षेत्र तथा प्रदेश नं. ४ लाई पनि प्राथमिकतामा राखेर वित्तीय कारोबार गर्दै आइरहेको छ । यसै क्रममा बैंकको पछिल्लो वित्तीय अवस्था, भावी योजना, पछिल्लो समय बैंकमा देखिएको तरलता अभाव लगायत विविध विषयमा बैंकका क्षेत्रीय प्रवन्धक दीपेन्द्र शर्मासँग आर्थिक आवाजका लागि सुरेन्द्र पौडेलले गरेको कुराकानीको सारः
एनआइसी एसिया बैंकको पछिल्लो वित्तीय अवस्था कस्तो छ ?
बैंकको गत आर्थिक वर्षको वित्तीय अवस्था निकै उत्साहजनक छ । आर्थिक वर्ष २०७३÷७४ को असार मसान्तसम्ममा कर्जातर्फ वार्षिक विन्दुगत आधारमा २२ प्रतिशत (रु.१३ अर्ब), निक्षेपतर्फ २६ प्रतिशत (रु.१८ अर्ब) तथा सञ्चालन मुनाफामा १८ प्रतिशत (रु.२८ करोड) को वृद्धि हासिल गरेका छौं । प्रतिशेयर आम्दानी रु. २१.९०, कुल सम्पत्तिमा प्रतिफल १.६ प्रतिशत तथा स्व पुँजीमा प्रतिफल १६.५४ प्रतिशत छ । पुँजी पर्याप्तता अनुपात १३.८७ प्रतिशत छ, जुन नेपाल राष्ट्र बैंकले तोकेको १० प्रतिशत भन्दा ३.८७ प्रतिशतले बढी हो । समग्रमा बैंकको वित्तीय परिसूचकहरु निकै उत्साहजनक छन् । चालु आर्थिक वर्ष २०७४÷७५ को पुस मसान्तसम्मको वित्तीय अवस्थालाई हेर्दा कर्जातर्फ वार्षिक विन्दुगत आधारमा ७८.९५ प्रतिशत (रु.४५अर्ब), निक्षेपतर्फ ५१.९० प्रतिशत (रु.४१ अर्ब) तथा सञ्चालन मुनाफामा २५.३१ प्रतिशत (रु.२२ करोड) को वृद्धि हासिल गरेका छौं । साथै दोस्रो त्रैमासिकको प्रतिवेदन अनुसार बासलातको आकारका आधारमा हामी निजी क्षेत्रका बैंकहरु मध्ये टप थ्री बैंकमा परिसकेका छौं ।
एनआइसी एसिया बैंकका विशेषता के–के छन् ?
एनआइसी एसिया निजी क्षेत्रको अग्रणी वित्तीय संस्था हो । दुई स्वस्थ ‘क’वर्गका वाणिज्य बैंकको मर्जर पश्चात २०७० असार १६ गतेबाट एनआइसी एसियाको जन्म भएको हो । अनुभवी, ख्यातिप्राप्त तथा व्यावसायिक दक्षता भएका नेपाली संस्थापकहरुद्वारा बैंक प्रबद्र्धित छ । संस्थागत सुशासनलाई उच्च प्राथमिकता दिई बैंकले शेयरधनीहरुलाई उच्चतम प्रतिफल प्रदान गर्न सफल छ । बैंकले अन्तर्राष्ट्रिय स्तरमा समेत आफ्नो छबी फैल्याउन सफल छ । स्तरीय सेवाबाट हामीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विभिन्न अवार्डहरु वर्षेनी जित्न सफल छौं ।
सेवाग्राहीलाई आकर्षित गर्न के–के योजना ल्याउनुभएको छ ?
हाल बैंकले बचतकर्ताहरुलाई उच्चतम प्रतिफल दिने उद्देश्यले ८ प्रतिशत ब्याजदरको समुन्नति बचत खाता तथा ११ प्रतिशत ब्याजदरको मासिक रुपमा ब्याज भुक्तानी हुने मुद्धती खाता ल्याएको छ । साथै बैंकले ग्राहकलाई निःशुल्क आश्बा, डिमाट खाता, डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङको सुविधा पनि प्रदान गरेको छ । बैंकको भिसा डेबिट र क्रेडिट कार्ड प्रयोगकर्ताहरुले प्रत्येक महिना कार्डबाट गरिने पहिलो तीनवटा भुक्तानीमा १० प्रतिशत वा प्रतिभुक्तानी ५ सय रुपैयाँसम्म नगद फिर्ता हुने स्किम पनि हालै सार्वजनिक गरेको छ ।
आगामी वर्षमा यस बैंकका लक्ष्यहरु के–के छन् ?
बैंकले ३ वर्ष अगाडि नै आफ्नो पञ्चवर्षीय दीर्घकालीन रणनीति ‘स्टाटेजी २०२०’ बनाई सोही अनुसार आफ्नो व्यावसायिक गतिविधि सञ्चालन गर्दै आएको छ । यस दीर्घकालीन रणनीति अनुसार उपभोक्ता कर्जा एवं साना तथा मझौला कर्जा र बचत तथा चल्ती निक्षेप हाम्रा मुख्य प्राथमिकता छन् । सञ्चालन दक्षता बढाउन प्रक्रिया स्वचालीकरणमा थप दक्षता हासिल गर्ने तथा पूर्ण रुपले ग्राहकमुखी बैंकको रुपमा अघि बढ्ने योजना छ । शाखा सञ्जाललाई अझै बढाउँदैछौं । बैंकले एनआइसी एसिया लघुवित्त र एनआइसी एसिया क्यापिटलको स्थापना गरेको छ । आफ्नै विप्रेषण कारोबार पनि सञ्चालनमा ल्याएको छ ।
बैंकहरुको भिडमा एनआइसी एसियालाई नै किन रोज्ने ?
यस बैंकको मुख्य लक्ष्य भनेकै ग्राहकको सन्तुष्टि तथा खुशी हो । ग्राहकको सेवालाई ग्राहकमुखी, ग्राहकको हित र चाहना अनुरुप उत्कृष्ट बैंकिङ सेवा प्रदान गर्दै आएकाले अन्य बैंक भन्दा भिन्न बैंकको रुपमा आफूलाई प्रस्तुत गर्न हामी सफल छौं । जुन तथ्य हामीले यस आर्थिक वर्षमा हासिल गरेको वित्तीय नतिजाहरुबाट पनि स्पस्ट भइसकेको छ । साथै यस बैंकले स्थानीय तहका खाता सञ्चालन तथा सामाजिक सुरक्षा भत्ता वितरणका कार्यहरु पनि गर्दै आएको छ, जसले यस बैंकको विश्वसनियतालाई अझै प्रगाढ बनाएको छ ।
यहाँहरु बैंक शाखा बिस्तारमा निकै नै आक्रामक देखिनुको कारण के हो ?
मर्जर पश्चातका केही वर्षहरुमा मर्जरका कारणले हामीले स्थानान्तरण बाहेक थप नयाँ शाखा खोल्न सकेका थिएनौंं, जसले हाम्रो भौतिक सञ्जालहरुको वृद्धिमा केही संकुचन देखा परेको थियो । तसर्थ हामी शाखा बिस्तारमा गत आर्थिक वर्षदेखि निकै आक्रामक भएकै हो । यस आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्ममा मात्रै हामीले थप ४३ वटा शाखा सञ्चालनमा ल्याएका छौं । आगामी दिनहरुमा पनि उक्त रणनीतिलाई थप निरन्तरता दिने योजना बनाएका छौं । केही वर्षमा देशकै निजीस्तरमा सञ्चालित वाणिज्य बैंकहरु मध्ये भौतिक सञ्जालमा सबैभन्दा बढी सञ्जाल भएको वाणिज्य बैंक हुने दीर्घकालीन रणनीतिका साथ अगाडि बढिरहेका छौं । शाखा बिस्तारले बैंकको निक्षेप संकलन तथा कर्जा लगानीमा थप वृद्धि गर्ने छ र बैंकको मुनाफामा थप योगदान गर्नेछ । जसले अहिलेको पुँजी वृद्धिलाई प्रतिफल पु¥याउनको लागि थप सहयोग गर्नेछ ।
हाल कति शाखा सञ्जाल, कर्जा र निक्षेपकर्ताहरु छन् ?
हामीले नेपाल भर १६३ वटा शाखा सञ्जाल, ४ वटा एक्स्टेन्सन काउन्टर, १६१ वटा एटिएम, ५३० वटा पोइन्ट अफ सेल्स, एक हजार भन्दा बढी रेमिटान्स भुक्तानी सञ्जाल मार्फत करिब नौ लाख भन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएका छौं । छिट्टै नै अन्य थप शाखाहरु सञ्चालनमा ल्याउने योजनामा छौं ।
पोखरा क्षेत्रमा एनआइसी एसिया बैंकको वित्तीय अवस्था कस्तो छ ?
पोखरा भित्र न्युरोडमा क्षेत्रीय कार्यालयसहित महेन्द्रपुल, लेकसाइड, बिरौटा, तालचोकमा शाखा छन् । लामाचौरमा बिस्तारित काउन्टर छ । पोखरा सहित यस गण्डकी धौलागिरी क्षेत्रमा १५ वटा शाखा र १ बिस्तारित काउन्टर छ । पछिल्लो समयमा मात्र यस क्षेत्रमा ३ वटा शाखा थपिएका छन् । ३ वटा शाखा थपिने तयारीमा छन् । यो क्षेत्रमा लगानी र कर्जाको अवस्था निकै सन्तोषजनक छ । अन्य बैंकको तुलनामा निक्षेप र कर्जा दुवैमा लिडिङ बैंक हामी नै हौं । यस क्षेत्रमा मात्र करिब ७ अर्ब रुपैयाँ लगानी र ५ अर्ब रुपैयाँ निक्षेप संकलन छ ।
हामीले यस क्षेत्रमा पनि प्राथमिकताका साथ सामाजिक तथा जनचेतना मुलक काम गरिरहेका छौं । हामी निरन्तर रुपमा पोखरा उपत्यका बृहत सफाई अभियानमा भौतिक सहयोग गर्दै सहभागिता जनाई रहेका छौं । यस क्षेत्रका विभिन्न संघसंस्था, स्कुल, कलेज तथा अन्य स्थानहरुमा गई वित्तीय साक्षरताका कार्यक्रम पनि सञ्चालन गर्दै आएका छौं ।
बैंकले कुन–कुन क्षेत्रलाई प्राथमिकतामा राखेर लगानी गरिरहेको छ ?
यस बैैंक निजी वाणिज्य बैंकहरु मध्य रिटेल लोनमा सबैभन्दा धेरै लगानी गर्ने बैंक हो । हामी यस उपलब्धिलाई कायम राख्दै साना तथा मझौला कर्जा उत्पादनमुलक तथा सेवामुलक उद्योग, पर्यटन उद्योग र जलविद्युतमा लगानी गरिरहेका छौं । साथै देशको प्राथमिकतामा पर्ने पर्यटन तथा कृषि क्षेत्रमा सहुलियत दरमा कर्जा प्रदान गर्ने लक्ष्य राखेका छौं । जसले पोखरामा रहेका होटल तथा अन्य पर्यटन उद्योगहरु लाभान्वित हुने अपेक्षा राखेका छौं ।
पोखरा क्षेत्रमा बैंकिङ क्षेत्रका चुनौतीहरु के¬–के छन् ?
राजधानी काठमाडौं पछि पोखरा देशको दोस्रो ठुलो वित्तीय राजधानी हो । यद्यपि शहर केन्द्रित मात्र नभई ग्रामीण क्षेत्रमा पनि शाखा बिस्तार गरी त्यहाँका जनमानसलाई वित्तीय रुपमा साक्षर बनाई बैंकिङ सेवाको पहुँचमा ल्याउनु मुख्य चुनौतीको रुपमा छ । सो चुनौतीलाई मध्यनजर गर्दै यस बैंकले पनि शाखा बिस्तारको रणनीति अपनाएको छ । यद्यपि यस क्षेत्रमा अन्यत्र भन्दा बैंकिङ क्षेत्रले प्रचुर सम्भावना छ
पछिल्ला वर्षहरुमा बैंकहरुमा देखिएको तरलता अभावलाई कसरी विश्लेषण गर्नुहुन्छ ?
अहिले विशेष रुपले रेमिट्यान्समा आएको गिरावट, सरकारले गर्ने पुँजीगत खर्चमा आएको कमी र पछिल्लो समय सरकारले उठाएको पहिलो किस्ताको अग्रिम करले गर्दा बजारमा कर्जा बिस्तार गर्न सकिने रकमको अभाव भएको देखिएको छ । तथापि प्रदेश सरकार एवं राष्ट्रिय सरकार गठन पश्चात् सरकारी पुँजीगत खर्चमा केही बृद्घी हुने अपेक्षा गर्न सकिन्छ, जसले निक्षेप बृद्घीमा पनि योगदान पु¥याउने छ ।