स्याङ्गजा, १७ चैत ।
प्रगतिशिल युवा क्लवले तेस्रो आँधिखोला ओहियाकप रनिङशिल्ड भलिबल प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यकम गर्ने भएको छ । कार्यक्रम आउँदो वैशाख १ गतेदेखि ४ गतेसम्म स्याङ्गजाको आँधिखोला २ स्थित क्लवको खेलमैदान ओहियास्थित आँधीखोला बगरमा सञ्चालन हुने क्लवले शनिवार आयोजित छलफल तथा पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो ।
“प्रगतिशिल युवा क्लवको अभियान, आँधिखोला गाउँपालिकामा स्तरिय एम्वुलेन्स” भन्ने नारासहित कार्यक्रम गर्न लागिएको क्लवले जनाएको छ । ‘आफ्नो गाउँ आफै बनाऔं’ भन्ने उद्देश्य सहित स्थापित क्लवले विगत तीन वर्षदेखि निरन्तर नयाँ वर्षमा कार्यक्रम गर्ने गरे पनि यस वर्ष भने गाउँपालिकामा स्तरिय एम्वुलेन्स सञ्चालनको लागि कार्यक्रम गर्न लागिएको क्लवका संरक्षक कृष्णबहादुर खड्काले जानकारी दिए । उनले कार्यक्रममा मितव्ययीता अपनाउँदै बचत रकम एम्वुलेन्स खरिदको लागि जम्मा गर्ने बताए ।
कार्यक्रमको मुख्य आकर्षणका रुपमा गाउँपालिका स्तरिय पुरुष भलिबल प्रतियोगिता, गाउँपालिका स्तरिय नृत्य प्रतियोगिता, कृषि मेला प्रदर्शनी, बाल उद्यान, निःशुल्क आँखा शिविरका साथै विभिन्न व्यापारिक स्टल पनि रहने क्लवका सल्लाहाकार रविन्द्र क्षेत्रीले जानकारी दिए । साथै कार्यक्रममा ख्याती प्राप्त राष्ट्रिय तथा स्थानिय लोकदोहोरी कलाकार र हाँस्यव्यग्य कलाकारहरुको बेजोड प्रस्तुती रहने उनले जनाए ।
भलिबल प्रतियोगितातर्फ विजेता टिमलाई नगद ३५ हजार ५ सय रुपैयाँका साथमा शिल्ड, मेडल र प्रमाणपत्र, द्धितीय हुने टिमलाई नगद २५ हजार ५ सय रुपैयाँका साथमा मेडल र प्रमाणपत्र, तृतीय हुने टिमलाई नगद १५ हजार ५ सय रुपैयाँको साथमा मेडल र प्रमाणपत्र साथै सान्त्वना स्थान हासिल गर्ने टिमलाई नगद ५ हजार रुपैयाँको साथमा मेडल र प्रमाणपत्र प्रदान गरिने क्लवले जनाएको छ । त्यस्तै प्रतियोगिताको उत्कृष्ट ५ विधा (अनुशासित खेलाडी, उत्कृष्ट खेलाडी, वेष्ट स्पाइकर, वेष्ट सर्भर र वेष्ट लिफ्टर) अन्तर्गत एक—एक जना खेलाडीलाई नगद, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ । प्रतियोगितामा १५ टिमले सहभागिता जनाउने आयोजकको अपेक्षा छ भने भलिवल खेलको लागि दर्ता शुल्क तीन हजार रुपैयाँ लाग्नेछ ।
यस्तै गाउँपालिका स्तरिय नृत्य प्रतियोगितामा प्रथम हुनेलाई नगद दुई हजार रुपैयाँ र प्रमाणपत्र साथै द्धितिय हुनेलाई नगद एक हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिनेछ भने दर्ता शुल्क पाँच सय रुपैयाँ लाग्ने आयोजकले जनाएको छ । कार्यक्रम सम्पन्न गर्नको लागि तीन लाख ७५ हजार रुपैयाँ खर्च लाग्ने आयोजकको अनुमान छ भने कार्यक्रमबाट पाँच लाख ५० हजार रुपैयाँ आम्दानी गर्ने आयोजकको लक्ष्य छ ।
श्रवण कुमारको कथासँग जोडिएको माथिल्लो आँधिखोलाको प्रर्वद्धन र प्रचारका लागि पनि प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रममलाई निरन्तरता दिनुपर्ने गाउँका अग्रजहरुको भनाई छ ।
कार्यक्रममा संस्थाका सल्लाहाकार रामकृष्ण क्षेत्री, निवर्तमान अध्यक्ष मनोज कार्की, वडा संयोजक सुरेन्द्रबहादुर कार्की, वडा सदस्य ख्यामबहादुर कार्की, गाउँसुधार आमा समूहकी अध्यक्ष द्रौपति गोदार लगायतले सल्लाह तथा सुझाव राखेका थिए । क्लवका अध्यक्ष कृष्ण ढकालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन क्लवकी सचिव सविना कार्कीले गरेकी थिईन् ।