ऐन कानुन बने, अब सुशासनको प्रत्याभूति हुनेगरी काम गर्छौं : मेयर जिसी

 

मानबहादुर जिसी

मेयर, पोखरा महानगरपालिका

पोखरा नेपालको सबैभन्दा ठूलो महानगरपालिका हो । नेपालको मुख्य पर्यटकीय गन्तव्य तथा गण्डकी प्रदेशको राजधानी समेत रहेको पोखरामा स्थानीय तहको निर्वाचन पछि मेयर मानबहादुर जिसीले कार्यभार सम्हालेको १ वर्ष २ महिना भन्दा बढी भइसकेको छ । पोखरालाई स्मार्ट सिटी बनाउने प्रतिबद्धतासहित चुनावी अभियानमा होमिएर बिजयी भएका जिसीले अपेक्षा अनुसार काम गर्न नसकेको स्वीकार गरेका छन् । यद्यपि, उनले ऐन कानून बनिसकेकाले आगामी आर्थिक वर्षबाट उत्साहजनक काम गर्ने बताएका छन् । मेयर बनेको एक वर्षे अनुभव, भएका काम र आगामी कार्ययोजना लगायत विविध विषयमा केन्द्रित रहेर जिसीसँग आर्थिक आवाजका लागि सुरेन्द्र पौडेलले गरेको कुराकानी  :

कार्यकाल सम्हालेको १ वर्ष भन्दा धेरै भएकोे छ । यस अवधिलाई कसरी समिक्षा गर्नुहुन्छ ?

मैले कार्यकाल सम्हालेको करिब १ वर्ष २ महिना  भइसकेको छ । यस समयमा नियमित कार्य भन्दा अन्य काम केही भएपनि अपेक्षा अनुसार नभएकै हो । थप काम भनेको ऐन नियम कानुन बनाएका छौं । यसबाट काम गर्न धेरै बाटो खुलेको छ । बनेका ऐन तथा नियमले अब काम गर्न सहज हुनेछ भन्ने मलाई लाग्छ । तेस्रो नगसभाले राम्रो फैसला गरेको छ । महानगरलाई कतातिर लैजाने भन्ने कुरा स्पष्ट बोध गराएको छ । काम अनुसार परिणाम निकालेर अगाडि बढ्दा महानरलाई उत्कृष्ट गन्तव्यमा पु¥याउन सहज हुनेछ । अबको एक मात्र लक्ष्य भनेको महानगरलाई उत्कृष्ट बनाउने र रचनात्मक काम गर्ने नै हो । जुन काम आगामी आर्थिक वर्षबाटै सुरुवात हुनेछ ।

अहिलेसम्म खासै राम्रा काम भएका छैनन् । कारण के हो ?

काम केही भएन भन्ने कुरामा म सहमत छैन । रातारात केही परिवर्तन हुँदैन । काम गर्दा धेरै कुरा ख्याल गर्नुपर्ने हुन्छ । भौतिक काम भइरहेका छन् । सडक मर्मत सम्भार गरिएको छ । भित्री बाटो पनि राम्रो बनाइएको छ । सडकहरु ढलान भइरहेका छन् । सरसफाईको क्षेत्रमा पनि धेरै परिवर्तन भएको छ । पुर्वाधारको विकास गर्ने काम भइरहेको छ । महानगर ठुलो छ । कामको लागि सेवाग्राहीलाई महानगरको कार्यालयमा आउन नपरोस् भनेर वडा वडामा नै काम हुने वातावरण बनाएका छौं । प्रविधिमैत्री सुशासनको व्यवस्थापनको तयारीमा छौं । केही काम भएन भन्नु भनेको तिमीहरुले धेरै काम गर्नुपर्छ भन्ने अपेक्षा पनि हो । कामको बारेमा सकारात्मक प्रतिक्रिया आइरहेका छन् । ग्रामीण क्षेत्रमा रहेका वडालाई सडक सञ्जालबाट जोड्ने कामको शुरुवात गरेका छौं । सेवाग्राहीलाई सहज होस् भनेर अनलाइन सिस्टम तथा प्रविधिमैत्री सेवा शुरु गर्ने तयारीमा छौं ।

परिषदबाट अगाडि सारिएका केही योजना महत्वकांक्षी पनि छन् । पुरा हुन्छन् ?

महत्वकांक्षी नहुने हो भने काम गरिदैन । संघ तथा प्रदेशसँग समन्वय गरेर गर्नुपर्ने काम पनि केही छन् । फेवा तथा बेगनासलगायतको ताल संरक्षण, फेवाताल ढल डाइभर्सन, फेवा–बेगनास मोनो रेल सम्भाव्यता अध्ययन, विद्युतीय तारलाई जमिनमुनि व्यवस्थापन तथा रेलिङ निर्माण, सडक स्तरोन्नति, पर्यटकीय बसपार्क निर्माण, तालचोक–खुदीको मुहानसम्म चार लेन सडक, सात स्थानमा आधुनिक कृषि पकेट क्षेत्र निर्माण, महानगरपालिका भवन निर्माण, ३० वटा कनेक्टिङ सिटी सडक, फिर्के करिडोर चक्रपथको गुरूयोजना र सिसी टिभी जडान कार्यक्रमलाई महानगरको गौरवको योजनामा हामीले परिषदबाट उल्लेख गरेका छौं । यी योजनाको १ वर्षसम्म अध्ययन तथा अनुसन्धान भए । मोनो रेलको लागि प्रदेशसँग समन्वय गरेर अध्ययन गर्न सकिन्छ । आम नागरिकलाई सहज तरिकाले यातायातको सुबिधा दिन पोखरा र साविकको लेखनाथलाई जोड्न पनि मोनो रेल आवश्यक छ । ल्याण्डफिल्डलाई हामी आफ्नै स्रोतबाट छिट्टै व्यवस्थापन गर्छौं । यस्ता काम महानगरको लागि अत्यावश्यक काम भएकाले पुरा गर्नको लागि हामी लागिरहेका छौं । हाम्रो महानगर पर्यटकीय स्थलले भरिपूर्ण छ । नेपालको सबैभन्दा ठुलो महानगर पनि यही हो । विश्वका १० राम्रा स्थान मध्ये पोखरा पनि एक हो । अबको ४ वर्ष पछि पुर्वाधार पनि त्यसै अनुसार निर्माण भएका हुनेछन् । पिउने पानी, सरसफाई, यातायात लगायतको सुविधा पनि राम्रो हुनेछ । आम मानिसले मुल्याङकन गर्न पाउने गरेर हामी महानरलाई अगाडि बढाउँछौं । महानगर पर्यटनको मुख्य हब हो ।

लेखनाथलाई खासै महत्व नदिएको स्थानीयको गुनासो सुनिन्छ नि ?

लेखनाथ कविशिरोमणि तथा नेपालका गहना हुन् । उनको नामसँग जोडेर विकास कसैले नसाटौं । लेखनाथको प्रतिष्ठा बढाउन के गर्न सकिन्छ सो को बारेमा सोचौं । २० वर्षमा लेखनाथ धेरै अगाडि बढेको छ । यसलाई हामीले विभेद गर्नु आवश्यक छैन । यस्ता कुरामा हामी सचेत छौं । म आफू पनि त्यहीँको स्थानीय हुँ । लेखनाथलाई बिभेद गर्नु भनेको त म आफै ठगिनु पनि त होला । पोखराका सबै ठाउँको स्थानीय आवश्यकता अनुसार समुचित विकास हुनेछ ।

जनप्रतिनिधि आएपछि अहिलेसम्मका मुख्य उपलब्धि के–के हुन् ?

विभिन्न अधिकार वडामा प्रत्यायोजन भएका छन् । वडा कार्यालयबाट काम गर्ने तथा सेवा सुविधा प्रदान गरेका छौं । १०÷१५ लाख रुपैयाँसम्मको सम्झौता तथा फोरफार वडाबाट नै हुनेछ । १ हजार स्क्वायर फुटका घरको वडाबाट नै नक्सा पार हुन्छ र सम्पन्नता पनि त्यहीँबाट दिन्छौं । यस्ता कामलाई हामीले सकारात्मक रुपमा लिनुपर्छ । आगामी साउनबाट कर पनि हामी वडाबाट नै चुक्ता गर्नेछौं । अब यस्ता कामका लागि महानगरका प्रमुख, उपप्रमुख तथा प्रशासकीय अधिकृतलाई भेट्नुपर्ने झन्झट हुँदैन । यती भएमा सिंहदरबारको अधिकार नागरिकको घरघरमा पु¥याएको अनुभूति हुनेछ । प्रत्येक वडामा नमुना सामुदायिक विद्यालय बनाउने र शिक्षाको स्तर उकास्ने तथा सुविधा सम्पन्न विद्यालय बनाउन पनि हामी लागिरहेका छौं ।

स्थानीय तह, प्रदेश र संघीय सरकारबीच द्वन्द्व बढेको हो ?

द्वन्द्व गर्नु भनेको संघीयतालाई फेल गराउनु हो । प्रदेशसँग बसेर छलफल गरेर सुझबुझका साथ काम गर्नुपर्छ । संघले एक प्रदेशबाट अर्को प्रदेश जोड्ने काम गर्छ । प्रदेशले एक जिल्लाबाट अर्को जिल्ला जोड्ने योजनाका काम गर्छ । यसका आफ्ना आफ्ना वर्गिकृत छन् । जसले जहाँ काम गरेपनि समन्वय हुनुपर्छ । योजना डुव्लिेकेसन हुनुहुँदैन । राम्रो परिणाम निकाल्ने गरेर काम गर्नुपर्छ । संघ तथा प्रदेश भन्नुभन्दा कार्यपालिका नै कार्य क्षेत्र हो । सबैसँग सहकार्य तथा समन्वय गरेर काम गर्दा संघीयताको कार्यान्वयन हुन्छ ।

आगामी आर्थिक वर्षमा के–कस्ता काम गर्ने सोच बनाउनुभएको छ ?

आगामी आर्थिक वर्षबाट महानगरलाई ५ वर्षमा कसरी अगाडि बढाउने, १० वर्षमा कस्तो बनाउने भन्ने भिजन सहित अगाडि बढ्छौं । ग्रामीण क्षेत्रमा रहेका वडामा एम्वुलेन्स सञ्चालन गरेर मानिसको बाँच्न पाउने तथा औषधी उपचारको अधिकारलाई सुनिश्चित गर्नेछौं । पिउने पानीलाई व्यवस्थित तथा स्वस्थकर बनाउनेछौं । सुशासनको प्रत्याभूति हुने गरी काम गर्नेछौं । गौरवका योजनाको कामको शुरुवात गर्नेछौं र समयमा नै सम्पन्न गर्नेछौं ।

सामाजिक सञ्जालमा छाडा चौपायाँको फोटो राखेर ‘स्मार्ट सिटी’ भनेर व्यङग्य गरिन्छ । के भन्नुहुन्छ ?

स्मार्ट सिटी भनेको पुर्वाधार राम्रो हुनु तथा सुविधा सम्पन्न हुनु हो । खानेपानी, बिजुली, हरियाली वातावरण, सरसफाई स्मार्ट सिटीको मुख्य अङग हुन् । यहाँ स्मार्ट शब्दलाई गलत तरिकाले व्याख्या गरिएको छ । छाडा चौपायाँको समस्या पोखरामा धेरैे थियो । अहिले धेरै छाडा चौपायाको व्यवस्थापन गरेका छौं । व्यवस्थापन गर्दागर्दैै पनि केही अझै देखिएका छन् । हामी व्यवस्थापनमा निरन्तर लागिरहेका छौं । पोखरालाई राम्रो बनाउन सबै मिलेर अगाडि बढ्नु आवश्यक छ । व्यङग्य भन्दा पनि व्यवस्थित पोखरा बनाउने सुझावका रुपमा मैले ग्रहण गर्ने गरेको छु ।

अन्त्यमा के भन्नुहुन्छ ?

व्यवस्था परिवर्तन भएपनि हाम्रो सोचाईमा परिर्वतन भएको छैन । सोचाईमा परिवर्तन गर्नु आवश्यक छ । बिना स्वार्थ तथा बिना पक्षपात सन्तुलित ढङ्गले विकासको अवधारणा लिएर अगाडि बढ्नुपर्छ । काम गर्ने क्रममा प्रशासनिक, प्राविधिक समस्या पनि आउने गरेका छन्, हामी यस्ता समस्या समाधान गर्दै अगाडि बढिरहेका छौं । पोखरा पर्यटकीय शहर भएकाले यसको गरिमालाई बचाई राख्नु आवश्यक छ । पर्यटन प्रवद्र्धनमा पनि हामी आफ्नो ठाउँबाट लाग्नेछौं ।

You might also like

Comments are closed.