ओम डेभलपमेन्ट बैंकलाई प्राइम कमर्सियलले प्राप्ती गर्ने, कति पुग्दैछ पुँजी ?

सुरेन्द्र पौडेल
पोखरा, ८ भदौ । पोखरामा प्रधान कार्यालय रहेको राष्ट्रियस्तरको ओम डेभलपमेन्ट बैंकलाई प्राइम कमर्सिल बैंकले एक्युजिसन (प्राप्ती) गर्ने भएको छ । आगामी मंसिरभित्र संयुक्त कारोबार गर्ने गरी एक्युजिसनको सहमति भएको ओमका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीले आर्थिक आवाजलाई जानकारी दिए ।

गत फागुन २५ गते भएको ओमको साधारणसभाले सञ्चालक समितिलाई मर्जर वा एक्यिुजिसमा जानका लागि अधिकार दिएको थियो भने प्राइमको सञ्चालक समितिलाई पनि साधारणसभाले उक्त अधिकारी प्रत्यायोजन गरेको थियो ।

एक्युजिसनसँगै प्राइम कमर्सियल बैंक नेपालका वाणिज्य बैंकहरु मध्ये उत्कृष्ट ५ भित्रमा पर्नेछ । बैंकको चुक्ता पुँजी १० अर्ब ५० करोड रुपैयाँ पुग्नेछ भने निक्षेप १ खर्ब रुपैयाँ भन्दा माथि हुनेछ । कर्जा लगानी ९० अर्ब रुपैयाँ भन्दा बढी हुनेछ । ‘मंसिरसम्म संयुक्त कारोबार गर्ने गरी काम अगाडि बढिरहेको छ,’ अधिकारीले भने, ‘बलियो वित्तीय संस्था निर्माणको अभियानमा यो सहमति महत्वपूर्ण छ ।’

राष्ट्रबैंकको नीति अनुसार दुवै बैंकको चुक्ता पुँजी पुगेपनि बलियो वित्तीय संस्था बनाउने अभियान अन्तर्गत एक्युजिसनको सहमति भएको अधिकारीले बताए । अहिले प्राइमको चुक्ता पुँजी ८ अर्ब ३ करोड रुपैयाँ र ओमको चुक्ता पुँजी २ अर्ब ५१ करोड रुपैयाँ छ । ‘दुवै बैंकको पुँजी पुग्दापुग्दै पनि बलियो बैंक बनाउने उद्देश्यले यो सहमति भएको हो,’ अधिकारीले भने, ‘युनिभर्सल बैंकिङ कन्सेप्ट अनुसार पुँजी बृद्धि गरी सबै वित्तीय सेवाहरु एउटै संस्थाबाट दिने उद्देश्य हो ।’

एक्युजिसनसँगै सञ्चालक समिति र व्यवस्थापन समूहमा कसले कुन जिम्मेवारी पाउने संयुक्त मर्जर समितिले टुङ्गो लगाउने सहमति भएको छ ।

You might also like

Comments are closed.