सरकारले एक वर्षमा एउटापनि राम्रो काम गरेन, सिकेसँगको सम्झौता राष्ट्रघाती: देउवा

सन्देश श्रेष्ठ
पोखरा, २८ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सभापति देउवाले ओली सरकारले १ वर्षमा एउटा पनि राम्रो काम गर्न नसकेको दाबी गरेका छन् । प्रेस युनियन कास्कीले पोखरामा मंगलबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले भने, ‘ओली सरकार आएको १ वर्ष भइसक्यो, ओलीले १ वर्षमा एउटापनि देखाउन लायक राम्रो काम गरेका छैनन् ।’

फौजदारी संहिताको नाममा ओली सरकारले प्रेसलाई नियन्त्रण गर्न खोजेको आरोप लगाए । प्रेसलाई नियन्त्रण गर्न खोज्नु भनेको प्रजातन्त्रकाथी प्रहार भएको बताउँदै उनले भने, ‘फौजदारी संहिताको नाममा ओली सरकारले प्रेसलाई कन्ट्रोल गर्न खोजिएको छ, यो प्रजातन्त्र माकिो अर्को आक्रमण हो ।’

देउवाले पृथकतावादी आन्दोलन गर्दै आएका सिके राउतसँग सरकारले गरेको सहमति राष्ट्रघाती भएको टिप्पणी गरेका छन् । प्रेस युनियन कास्कीले मंगलबार पोखरामा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले सहमति लगत्तै सिके राउतले भनेका कुराहरु सुन्दा राष्ट्रघात भएको पुुष्टी हुने दाबी गरेका हुन् । सरकारसँग सहमति भएपछि पनि राउतले मधेशलाई छुुट्टै राज्य बनाउँछु भनेको भन्दै उनले भने,‘सिके राउतपनि सहमति गर्ने मध्येको एक हस्ताक्षर कर्ता हुन्, सहमति भएलगत्तै सिकेले मधेश छुुट्टै देश बनाउँछु, स्वतन्त्र मधेश, जनमत संग्रह भनेका छन्, त्यसैले यो राष्ट्रघाती सम्झौता हो ।’

पूर्व प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति देउवाले विप्लव नेतृत्वको नेकपाबिरुद्ध कार्वाही थाल्नुपर्ने बताए । हत्याहिंसा बढेको बताउँदै उनले भने,‘सँधै यसरी हुन्छ? अब विप्लवलाई कार्वाही गर्नुपर्छ ।’

सभापति देउवाले ओली सरकारले संघीयतालाई पनि कमजोर बनाउने प्रयास गरिरहेको आरोप लगाए । स्थानिय तहको अधिकार खोस्ने काम ओली सरकारले गरिरहेको बताउँदै उनले भने,‘अहिले विभिन्न बहानामा ओलीले स्थानिय तहको अधिकार खोस्ने काम गरिरहेका छन्, यसको स्थानिय तहबाटै गुनासो आएको छ, अझ एमालेनिकटका जनप्रतिनिधीहरुले पनि बिरोध गरिरहेका छन् ।’ कांग्रेस सभापति देउवाले चिकित्सा शिक्षा विधेयकको पनि बिरोध गरे । ओली सरकारले चिकित्सकलाई पनि नियन्त्रण गर्न खोजेको उनको टिप्पणी थियो ।

सभापति देउवाले सँगै नुहाउँदैमा पार्टीमा भावनात्मक एकता हुन्छ भनेर आफूले पनि नभनेको बताए । पार्टीकै बरिष्ठ नेता रामचन्द्र पौडेलले म्याग्दीको तातोपानीमा सँगै नुहाएको प्रसंग निकाल्दै सँगै नुहाउँदैमा पार्टीमा भावनात्मक एकता हुँदैन भनेको कुरालाई ईंगित गर्दै देउवाले भने,‘मैलेपनि कहाँ भनेको छु र सँगै नुहाउँदैमा पार्टी एकता हुन्छ भनेर ? ।’ कांग्रेस प्रजातान्त्रिक पार्टी भएकाले आआफ्नो धारणा राख्ने छुट भएको उनको भनाई थियो ।

You might also like

Comments are closed.