कप्तान पारस खड्का एक्सपर्ट एजुकेसनको ‘ब्राण्ड एम्ब्यास्डर’

काठमाडौं, ३० साउन । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्कालाई एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेजले ‘ब्राण्ड एम्ब्यास्डर’का रुपमा नियुक्त गरेको छ । काठमाडौंमा मंगलबार एक कार्यक्रमको आयोजना गरि एक्सपर्ट एजुकेसनले कप्तान खड्कालाई तीन वर्षसम्मको लागि ‘ब्राण्ड एम्ब्यास्डर’ भएको घोषणा गरेको हो । सन् २००६ मा स्थापना भएको यो एजुकेशन एण्ड भिजा सर्भिसेजले नेपाली खेलकुद क्षेत्रसँग सहकार्य गर्दै विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आइरहेको छ ।

‘लेट्स प्रमोट नेपाली क्रिकेट टुगेदर’ नारा राखिएको यस कार्यक्रम अन्तर्गत कप्तान खड्काले एक्सपर्ट एजुकेसनसँग मिलेर नेपाली क्रिकेट विकासका लागि काम गर्नेछन् । कप्तान पारसले पहिलेको एजुकेशन सेन्टरहरुसँगको सबै सम्झौता सकिएको भन्दै एक्सपर्ट एजुकेसनसँग तीन वर्षसम्मको लागि नयाँ सम्झौता गरेको बताए ।

‘यो एक्सपर्ट एजुकेशनसँगको नयाँ सम्झौताले पक्कै पनि म लगायत नेपाली क्रिकेटलाई सहयोग पुगेको छ । यो एजुकेशनले विगत केही वर्षदेखि नेपाली क्रिकेटको प्रमोटमा कामहरु आइरहेको छ । यो इन्स्टिट्युसनले स्कुल तथा कलेज लेभलमा लिग क्रिकेट प्रतियोगिताहरु आयोजना गर्दै आइरहेको छ । त्यसैले एक्सपर्ट एजुकेशनसँग आवद्ध हुन पाउँदा मलाई खुशी लागेको छ,’ उनले भने ।

साथै, उनले अरु एजुकेशन सेन्टरहरुलाई पनि नेपाली खेलाडी तथा खेललाई सहयोग गर्न आग्रह समेत गरे । ‘म सबैलाई नेपाली क्रिकेटको प्रमोटमा लाग्न आग्रह गर्छु । म लगायत अरु केही खेलाडीहरुलाई पनि यसैगरि ‘ब्राण्ड एम्ब्यास्डर’ बनाई आर्थिक रुपमा सहयोग गर्न अनुरोध गर्छु । तपाईहरुको साथ र सहयोगले नेपाली क्रिकेटले ‘ओडीआई’ सम्मको स्थान हासिल गर्न सकेको छ । अझ लगानी गरे नेपालले टेस्ट राष्ट्रको स्थान पाउन सक्नेछ । यो शुरुवात मात्र हो, हामी सबै मिलेर क्रिकेट खेलको स्तर अझ माथि पु¥याउन आग्रह गर्छु,’ उनले बताए ।

यसैबीच, एक्सपर्ट एजुकेशनले नेपालका भेट्रान क्रिकेटर शक्ति गौचनलाई १ लाख ५० हजार रुयैयाँ सहयोग स्वरुप प्रदान गरेका छन् । भैरहवामा सञ्चालित स्टार क्रिकेट एकेडेमीलाई एक्सपर्ट एजुकेशनले सहयोग स्वरुप सो रकम दिएको हो । शक्तिले सञ्चालन गर्दै आइरहेको स्टार क्रिकेट एकेडेमीले खेलाडी उत्पादन र प्रशिक्षण दिने कार्य गर्दै आइरहेको छ । भेट्रान क्रिकेटर शक्तिले पहिलो पटक निजी क्षेत्रबाट यस्तो सहयोग आएको जानकारी दिए ।

‘म एकदमै खुशी छु, किनभने मेरो राष्ट्रलाई दिने सफल खेलाडीको उदेश्यमा यो एजुकेशनले सहयोग गरेको छ । म उहाँहरु प्रति आभारी छु । खेलाडी उत्पादनका लागि यो एजुकेशनसँग लामो समयसम्म सहकार्य गर्न पाउँ,’ उनले बताए । त्यस्तै, नेपाली खेलकुद पत्रकारितामा महत्वपूर्ण योगदान दिने एक जना पत्रकारलाई पनि ५० हजार नगद रुपैयाँका साथ सम्मान गर्ने जानकारी दिइयो । कप्तान पारस खड्का र एक्सपर्ट एजुकेशनका प्रमुख कार्यकारी अधिकृत सन्जिब शर्माबीच सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

You might also like

Comments are closed.