‘कफीबाट पनि समृद्धिमा सघाउन सकिन्छ’

पोखरा । जिल्ला कफी सहकारी संघले सामुदायिक वनमा कफी खेती गर्न पाउने नियम बनाउन माग गरेको छ । अनुत्पादक बनेको सामुदायिक वनमा कफी खेती गर्न पाउने नियम बनाउन सहकारीले माग गरेको हो ।

जिल्ला कफी सहकारी संघ लिमिटेड कास्कीको छैठौं साधारण सभा तथा तेश्रो अधिवेशनको अवसरमा बोल्दै सहकारीका अध्यक्ष आनन्द सुबेदीले जंगलको संरचना नबिग्रिने गरी कफी खेती गर्न पाउने वातावरण निर्माण गर्न आग्रह गरे । सामुदायिक जंगल जो अनुत्पादक छ,’ ‘उनले भने, ‘त्यहाँ जंगलको संरचना नबिग्रिने गरी कफी खेती गर्न पाउने बनाउनुपर्छ, यसका लागि राज्यले वातावरण निर्माण गर्नुपर्छ ।’ उनले कफी खेती जंगलमा लगाउन दिने हो भने त्यसले देशको समृद्धीमापनि सघाउने दाबी गरे ।

कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सभाका अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले कफी खेतीको विकास र बिस्तार गरेर यसको उत्पादन बृद्धि गर्नुपर्ने बताए । सानो स्केलमा गरेर यो व्यवसायीकरण हुँदैन,‘उनले भने,‘यसको व्यवसायीकरणका लागि यसको क्षेत्र बिस्तार गर्दै उत्पादन बृद्धि गर्नुपर्छ ।’ उनले कफीको उत्पादन बृद्धि भएपछि यसको बजारीकरण र रिफाइनिङसहित लेबलिङ गरेर ब्राण्डिङ गर्नुपर्ने आवश्यक्ता औंल्याए । सरकार र कृषक दुबैले लगानी गरिरहेपनि परिणाम नआएको भन्दै अगाडि भने,‘लगानी अनुसार उत्पादन भएन, अर्थात परिणाम सोंचेजस्तो आएन, अब सोंचेजस्तै लगानी गर्न कफी खेतीमा आधुनिकीकरण गर्न जरुरी छ ।’

भूमि ब्यबस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव अच्यूतप्रसाद ढकालले कफी खेती कास्कीको गौरव भएको बताए । कफीलाई घरानिया बालीका रुपमा लिइन्छ,‘उनले भने,‘यो सौखिनहरुले प्रयोग गर्ने बस्तु हो, यसको मूल्यपनि राम्रो हुन्छ, यसले आर्थिक सबलीकरणमा पनि सघाउँछ, यो कास्कीको गौरवपनि हो ।’ उनले कफी खेतीमा सघाउन मन्त्रालय तयार रहेको बताए । उनले भने, ‘कफी खेतीको विकास र बिस्तारमा हामी सघाउन तयार छौं, तर यस्तो सहयोगलाई अनुदानका रुपमा नबुझी सहजीकरण भनेर बुझ्नुपर्छ ।’ कफीको विकासमा सहयोग गर्छौं,‘उनले भने,‘तर पात्र र प्रवृत्र्ति मिल्नुपर्छ ।’ माग्न पनि भाती पु¥याउनुपर्छ,‘उनले थपे,‘दूध माग्न आउँदा डोको लिएर आए आफ्नै सम्धिनीलाईपनि दिन सकिदैन, त्यसैले आवश्यक्ता र ईच्छाशक्ति अनुसार सहयोग दिन्छौं ।’

कार्यक्रममा कफी खेती लगाउने चित्रप्रसाद लामिछाने र रामलाल श्रेष्ठलाई उकृष्ट कफी कृषकका रुपमा पुरस्कृत गरिएको थियो ।

सुबेदी तेश्रो पटक अध्यक्षमा निर्वाचित

जिल्ला कफी सहकारी संघ लिमिटेडको नया कार्य समितिको अध्यक्षमा पुनः आनन्द सुबेदी चयन भएका छन् । शनिबार भएको सहकारीको तेश्रो अधिवेशनले सुबेदीलाई तेश्रोपटक अध्यक्षमा चयन गरेको हो । सुबेदी संस्थापक अध्यक्ष हुन् । अधिवेशनले समितिको उपाध्यक्षमा शोभाखर अधिकारी र सचिवमा हरिराज घिमिरेलाई चयन गरेको छ । त्यस्तै सञ्चालक समितिको सदस्यहरुमा कीर्तिराज राज लामिछाने, बाबुराम पौडेल, ईन्द्रप्रसाद बास्तोला र तीर्थराज अधिकारीलाई चयन गरेको छ ।

अधिवेशनले लेखा समितिको संयोजकमा भोजराज पौडेललाई चयन गरेको छ भने सदस्यहरुमा जीतबहादुर क्षेत्री र ईश्वरबहादुर खत्रीलाई चयन गरेको छ । समितिको कोषाध्यक्ष पद भने खाली राखिएको छ । समितिले कोषाध्यक्षको खाली पदमा पछि मनोनित गर्ने अध्यक्ष आनन्द सुबेदीले जानकारी दिए । त्यस्तै, सल्लाहकार समिति पनि पछि चयन गर्ने उनले बताए ।

You might also like

Comments are closed.