‘कमिसनको चक्करमा पिसीआर मेसिन खरिदमा आलटाल गरेको आरोप’

 

पोखरा ।

गण्डकी प्रदेश सभा सदस्य भागवतप्रकाश मल्लले कोरोना जाँच्ने पिसीआर मेसिन खरिदमा सरकारी स्वास्थ्य एजेन्टले आलटाल गरिरहेको आरोप लगाएका छन् । प्रदेश सभाको आइतबारको बैठकमा विशेष समय लिएर बोल्दै स्याङ्जाली सांसद मल्लले कोरोनाको कहर चलिरहँदा सरकारी एजेन्ट कोरोना जाँच्ने पिसीआर मेसिन खरिदमा कमिसनको चक्करमा लागेर नागरिकलाई बचाउने भन्दा मृत्यूको मुखमा धकेल्ने काम गरिरहेको आरोप लगाएका हुन् ।

स्याङ्जाको वालिङ नगरपालिकाले पिसीआर मेसिन खरिद गर्न करीब १ महिना अघिदेखि पहल गर्दापनि सरकारी एजेन्टले आलटाल गरिरहेको उनको आरोप छ । २९ लाखदेखि ३३ लाख सम्ममा खरिद गर्न सकिने पिसीआर मेसिनलाई एक÷डेढ करोड पर्छ भन्दै अल्मलाईरहेका छन्,‘उनले भने,‘प्रत्यक्ष कुराकानी गर्न खोज्दा सम्पर्कमा आउँदैनन्, यसले नागरिकलाई बचाउने भन्दा मृत्यूको मुखमा धकेल्ने काम भयो ।’ उनले पिसीआर मेसिन खरिदमा ढिलासुस्ती गर्ने स्वास्थ्यका सरकारी एजेन्टको पहिचान गरेर कार्वाही गर्न मागसमेत गरे । साथै उनले वालिङमात्रै नभई गण्डकी प्रदेशका ८५ वटै स्थानिय तहमा पिसीआर मेसिन राख्ने वातावरण निर्माण गर्नपनि सरकारलाई आग्रह गरे ।

सांसद ईन्द्रलाल सापकोटाले धौलागिरी अस्पतालमा पिसीआर जाँच गर्ने मेसिन आवश्यक रहेको भन्दै तत्काल ब्यबस्था गर्न माग गरे । उनले पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको पिसीआर मेसिनमा कहिले जाम हुने त कहिले किटको अभाव भनेर कोरोना जाँच रोकिने अवस्थाको अन्त्य हुनुपर्ने बताए ।

सांसद विन्दुकुमार थापाले भारतबाट आएकाहरुलाई पालिकाहरुले कोरोना जाँच नगरी ल्याइरहेको भन्दै यसले कोरोना संक्रमणको जोखिम बढाएको बताए । उनले विदेशबाट आउने सबैको पिसीआर जाँच गर्ने ब्यबस्था गर्न आग्रह गरे ।

सांसद ललितकला गुरुङले क्वारेन्टिन व्यवस्थित नहुँदा कोरोना संक्रमणको जोखिम बढेको भन्दै खानेपानी, शौचालय, बाथरुमलगायतका पूर्वाधार ब्यबस्थित गर्न आग्रह गरिन् ।

संसदको शून्य समयमा बोल्दै सांसद राजिव पहारीले पोखराको आलुमाइलाचोकमा भेटिएका संक्रमित विदेशबाट आएको व्यक्ति नभएकाले पोखरामा कोरोना कम्युनिटीमा फैलिइसकेको हो कि भन्ने आशंका व्यक्त गरे । उनले कोरोना संक्रमण कम्युनिटीमा फैलिन नदिनका लागि तत्काल कार्ययोजनासहित एक्सनमा जान सरकारलाई आग्रह गरे ।

You might also like

Comments are closed.