कम्पनीमा जानुपरे विद्यार्थी, बृद्धबृद्धा र अपाङ्गतालाई सहुलियत दिदैनौं : यातायात व्यवसायी

सन्देश श्रेष्ठ
पोखरा, २७ पुस । यातायात व्यवसायीका नेताहरुले सार्वजनिक सवारी साधनमा विद्यार्थी, बृद्धबृद्धा र अपाङ्गता भएकाहरुलाई सहुलियत नदिने घोषणा गरेका छन् । गण्डकी धौलागिरी अञ्चल सार्वजनिक यातायात समन्वय समिति पोखराको शुक्रबार लेखनाथमा आयोजित दशौं वार्षिक साधारण सभा तथा सातौं अधिवेशनमा बोल्ने वक्ताहरुले सिण्डिकेटको नाममा यातायात व्यवसायी समिति खारेज गरी कम्पनीमा जान बाध्य बनाए विद्यार्थी, बृद्धबृद्धा र अपाङ्गतालगायतलाई सवारी साधनमा दिइदै आएको छुट नदिइने चेतावनी दिएका हुन् ।

कार्यक्रममा बोल्दै गण्डकी धौलागिरी अञ्चल सार्वजनिक यातायात समन्वय समितिका बरिष्ठ उपाध्यक्ष तथा पृथ्वी राजमार्ग बस सञ्चालक समितिका महासचिव योगेन्द्रबहादुर केसीले यातायात क्षेत्र कम्पनीमा जानु परे कुनैपनि हालतमा सहुलियत छुट नदिने बताए । उनले भने,‘कम्पनीमा गएपछि कम्पनीको नियमानुसार नै चल्छौं, राजस्व तिर्नपनि तयार छौं, तर हिजो दिइदै आएको सामाजिक सेवा दिन बाध्य छैनौं, विद्यार्थी, बृद्धबृद्धा र अपाङ्गता भएका कसैलाई पनि सहुलियत छुट दिदैनौं, राज्यले दिने त्यस्तो सामाजिक सेवा दिन बाध्य छैनौं अब ।’ उनले नेपाल राष्ट्रिय यातायात महासंघको नेतृत्वलाई राज्यसँग घुँडा नटेक्न चेतावनी दिदै घुँडा टेकेमा पोखराबाट विद्रोह गर्ने चेतावनीसमेत दिए । उनले लगानीकर्ताको लगानी सुरक्षित भएमात्रै सामाजिक सुरक्षा कोष लागू गर्ने बताए । अन्यथा सामाजिक सुरक्षा कोष लागू गर्न नसक्ने उनको कथन थियो ।

नेपाल यातायात राष्ट्रिय महासंघका केन्द्रीय उपाध्यक्ष ऐनकुमार साईले अहिले नै कम्पनीमा जानका लागि नहतारिन यातायात व्यवसायीहरुलाई आग्रह गरे । उनले भने,‘अदालतमा मुद्धा बिचाराधिन छ, माघ १२ गते सायद एउटा फैसला आउला त्यसैले अहिले नै कम्पनीमा जान नहतारिनुस् ।’ उनले राजनीतिक वातावरण बन्दै गएकाले फेरि पनि यातायात व्यवसायीको पक्षमा हुनेगरी पहिलेकै अवस्था आउन सक्ने सम्भावना रहेकोसमेत बताए ।

नेपाल ट्रक यातायात व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष कृष्णहरी जिसीले व्यवसायी भित्रको किचलो र हानथाप जस्ता कमिकमजोरीमा टेकेर राज्यले यातायात व्यवसायीलाई नै प्रहार गरेको टिप्पणी गरे । उनले फेरिपनि सम्पूर्ण यातायात व्यवसायी एकजुट हुनसके पहिलेकै अवस्था आउने दाबी गरे ।

गण्डकी धौलागिरी अञ्चल सार्वजनिक यातायात समन्वय समिति पोखराका अध्यक्ष पदमबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा समितिका संस्थापक अध्यक्ष हरिप्रसाद खनाल, निवर्तमान अध्यक्ष वसन्तुकुमार प्रधान, पूर्व अध्यक्ष बलराम गिरीलगायतले पनि यातायात व्यवसायी मिलेर सरकारलाई घुँडा टेकाएर भएपनि यातायात समिति यथावत राख्नुपर्नेमा जोड दिएका थिए ।

अध्यक्षमा केदार

यसैबीच, गण्डकी धौलागिरी अञ्चल सार्वजनिक यातायात समन्वय समिति पोखराको सातौं अधिवेशनले स्थानिय श्रृङ्ग व्यवसायी समिति पोखराका अध्यक्ष केदार पौडेलको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । समितिको बरिष्ठ उपाध्यक्षमा पृथ्वी राजमार्ग बस सञ्चालक समितिका योगेन्द्रबहादुर केसी, उपाध्यक्ष द्वयमा ट्याक्सी व्यवसायी समितिका प्रकाश तिवारी र गण्डकी मिनि ट्रक व्यवसायी समितिका दयाराम भारतीलाई चयन गरेको छ ।

यसैगरी, समितिको महासचिवमा पोखरा बस ब्यबसायी समितिका अमृत शर्मा तिमिल्सिना, सचिवमा बेगनासताल बस सञ्चालक समितिका श्रीप्रसाद तिवारी, कोषाध्यक्षमा बिन्ध्यबासिनी बस सञ्चालक समितिका सन्तोष राना र सह कोषाध्यक्षमा ट्रयाक्टर सञ्चालक समितिका लक्ष्मण बास्तोलालाई चयन गरेको छ ।

You might also like

Comments are closed.