कम्प्युटर शिक्षा लिन व्यस्त कास्कीका लेखापढी व्यवसायी

आर्थिक आवाज
पोखरा, ६ असोज । नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन कास्कीमा आबद्ध व्यवसायीहरु यतिबेला कम्प्युटर शिक्षा लिनमा व्यस्त छन् । अनलाइन प्रणालीबाट काम गर्नका लागि व्यवसायीलाई दक्ष बनाउने तथा कम्प्युटरको ज्ञान सिकाउने लक्ष्यसहित एसोसिएसनको अग्रसरतामा व्यवसायीहरुले कम्प्युटर शिक्षा लिइरहेका हुन् ।

ग्लोबल आइटी एजुकेसन अमरसिंहचोक, सनराइज कम्प्युटर बिरौटा र लेखनाथमा समेत ७० जना व्यवसायीले कम्प्युटर शिक्षा लिइरहेको एसोसिएनका केन्द्रीय सदस्य तथा पेसागत दक्षता अभिबृद्धि समितिका सदस्य सचिव ठाकुरप्रसाद अधिकारीले जानकारी दिए ।

अनलाइन प्रणालीबाट काम गर्नका लागि व्यवसायीलाई दक्ष बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको एसोसिएसनका कास्की अध्यक्ष खडानन्द लामिछानेले बताए । कम्प्युटर शिक्षाबाट व्यवसायीहरुको व्यावसायिक दक्षता बढ्नुका साथै प्रतिस्पर्धामा अगाडि बढ्न सजिलो हुने निवर्तमान अध्यक्ष अम्बरबहादुर कार्की (अनिल)ले बताए ।

लेखापढी व्यवसायीहरुले निकै उत्सुकताका साथ कम्प्युटर सिकिरहेको ग्लोबल आइटीका सञ्चालक विकास भुर्तेलले बताए । ‘उहाँहरुमा केही सिकौं भन्ने भावना छ,’ उनले भने, ‘छोटो समयमा अपेक्षा भन्दा धेरै ज्ञान हासिल गरिसक्नुभएको छ ।’

You might also like

Comments are closed.