कम्युनिष्टले उत्तर र कांग्रेसले दक्षिणको बिचार छरेर जनता ठगिरहेका छन् : डा. भट्टराई

पोखरा । समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम कम्युनिष्टले उत्तर र कांग्रेसले दक्षिणको बिचार छरेर जनता ठगिरहेको आरोप लगाएका छन् । पोखरामा शुक्रबार आयोजित तमुवान राष्ट्रिय समिति घोषणा सभालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका समाजवादी पार्टीका अध्यक्ष डा.भट्टराईले नेकपाले उत्तरतिरको बिचारलाई लिएर कम्युनिष्टको भ्रम छरिरहेको र कांग्रेस दक्षिण तिरको पुरातन र दक्षिणपन्थी बिचारको आधारमा जनता ठगिरहेको आरोप लगाएका हुन् । तर समाजवादी पार्टीले आफ्नै धरातलमा उभिएर देश रुपान्तरणको सपना देखिरहेको उनले बताए ।

डा.भट्टराईले पहिचानसहितको संघीयता कायम गरेरै छाड्ने उद्घोष गरे । डा.भट्टराईले नेपालमा जातिय, क्षेत्रीय, भौगोलिक वा लैंगिक सबैको अधिकार आधा मात्रै स्थापित भएको बताए । अधिकार अहिले आधा भरिएको गिलासजस्तो मात्रै भएको छ,‘उनले भने,‘आधापनि पोखाइयो भने केहिपनि रहँदैन, त्यसैले यसलाई पछि आधा भर्नेगरी छाडिएको मात्र हो, यसलाई पूरा गरेरै छाडिन्छ ।’

डा.भट्टराईले संघर्ष नगरी अधिकार नपाउने भन्दै पहिचानको अधिकारका लागि लड्न तमुहरुलाई आह्वान गरे । एक÷दुई जना सत्तामा पुग्दैमा पहिचानको आन्दोलनले सार्थकता पाउँदैन, ‘उनले भने,‘नत यो मागेर वा चाकडी गरेर नै पाइन्छ, पहिचान र अधिकारका लागि संघर्ष गर्नुको विकल्प छैन ।’ उनले संविधान संसोधन गरेर पहिचान स्थापित गर्नु समाजवादी पार्टीको प्रमुख लक्ष्य रहेको बताए ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.