कर्पोरेट सदस्यको उम्मेदवार बन्दै युवा व्यवसायी अधिकारी

आर्थिक आवाज
पोखरा, १२ भदौ । लामो समयसम्म व्यवसायमा संलग्न रहेका युवा व्यवसायी हर्कबहादुर अधिकारी (मिरज)ले पोखरा उद्योग वाणिज्य संघको आसन्न महाधिवेशनमा कर्पोरेट सदस्यमा उम्मेदवारी दिने भएका छन् । विभिन्न संघसंस्थाको सफल नेतृत्व गरिसकेका अधिकारीले निजी क्षेत्रको छाता संस्थामा प्रतिनिधित्व गरेर व्यावसायिक हकहितमा लाग्ने सोच रहेको आर्थिक आवाजलाई बताए ।

‘व्यवसायी साथीहरुले उद्योग वाणिज्य संघमा प्रवेश गर्नका लागि मलाई प्रोत्साहन गरिरहनुभएको छ,’ उनले भने, ‘कर्पोरेट सदस्यमा उम्मेदवार बनेपछि सम्पूर्ण कर्पोरेट सदस्यहरुको माया पाउनेमा म विश्वस्त छु ।’ २९ सदस्यीय कार्यसमितिमा २ जना कर्पोरेट सदस्य रहने व्यवस्था छ । संघमा ६८ जना कर्पोरेट सदस्यहरु छन् ।

अग्रजबाट सल्लाह सुझाव लिँदै नयाँ व्यवसायीलाई उद्यममा लाग्न प्रोत्साहन गर्ने उनले बताए । ‘समय सापेक्ष नयाँ भिजनका साथ म अगाडि बढ्छु,’ उनले भने, ‘संघलाई गतिशील बनाउन र उत्कृष्ट संघको रुपमा स्थापित गराउन मेरो भुमिका रहनेछ ।’

माउन्ट एभरेष्ट डेभलपर्स प्रालि र मिर्लुङ प्रोभिजन स्टोर्सका सञ्चालक अधिकारी लायन्स क्लब अफ पोखरा माउन्टेन सिटीका अध्यक्षसमेत हुन् । अधिकारी विभिन्न सामाजिक संघसंस्थामा आबद्ध छन् ।

You might also like

Comments are closed.