पोखरा, १४ बैशाख
गण्डकी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री विकाश लम्सालले कर्मचारीको सुस्तताले सोंचेजस्तो काम गर्न नसकेको आरोप लगाएका छन् । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशले शनिबार आयोजना गरेको ‘पर्यटन र पत्रकारिता’ विषयक प्यानल डिस्कसन कार्यक्रममा बोल्दै उनले भन्दै अब चाँडै परिणाम देखिनेपनि उनले बताए । प्रदेश सरकार नया संरचनामा रहेकाले यसलाई ब्यबस्थित बनाएर ऐन, कानुन बनाउन समय लागेकालेपनि प्रदेशले रफ्तार लिन नसकेको उनले बताए । बीसौं वर्षदेखी खिया लागेका कर्मचारीलाई सँगसँगै हिंडाएर जनताको अपेक्षा पूरा गर्न सरकार लागिपरेको बताउँदै उनले भने,‘कर्मचारीमा बीसौं वर्षदेखी खिया लागेको छ, यो पखाल्न त समय लाग्छ, तैपनि सिमित श्रोत र साधन तथा खिया लागेका कर्मचारीका बाबजुद जनताका अपेक्षा गरिरहेकै छौं ।’

मन्त्री लम्सालले गण्डकी प्रदेश सरकारले जे बोल्छ त्यो पूरा गरेरै छाड्ने बताएका छन् । प्रदेश सरकारले सक्ने काम मात्रै भन्ने र भनेका काम गरेरै देखाउने बताएका हुन् । हामी नसक्ने कुरा भन्दैनौं–उनले भने,‘तर प्रदेश सरकार जे बोल्छ, त्यो पूरा गरेरै छाड्छ ।’ उनले गण्डकी प्रदेश सरकारले पर्यटनलाई समृद्धीको आधारको पहिलो नम्बरमै राखेकाले पर्यटनलाई नै सफल बनाएर यसैबाट गण्डकी प्रदेशमा समृद्धी ल्याउने बताए ।
मन्त्री लम्सालले गण्डकी प्रदेशको मूख्य आयश्रोत पर्यटन नै भएकाले यहाँको पर्यटन फस्टाएरै जाने दाबी गरे । उनले भने,‘पर्यटनले फड्को मारेरै जान्छ, आउँछ त्यो दिनपनि, त्यो चाँडै आउँछ ।’ उनले पर्यटनको विकासका लागि प्रदेश सरकारले पर्यटन नीति र ऐन ल्याउन लागेको पनि जानकारी दिए ।
मन्त्री लम्सालले पर्यटनमा छलाङ मार्नका लागि पर्यटन अध्ययन गर्ने पर्यटन विश्वविद्यालय आवश्यक रहेको बताए । त्यसका लागि पनि गण्डकी प्रदेश सरकारले पहल गरिरहेको बताए । त्यस्तै उनले काठमाडौं–पोखरा सडक मार्ग फराकिलो पारेर २ घण्टामा आवतजावत गर्नसक्ने बनाउने हो भने पर्यटक दोब्बर भित्रिने दाबी गरे ।
मन्त्री लम्सालले भर्खर बामे सर्दैगरेको होम–स्टेलाई कर लगाउन नहुने बताए । बरु होम–स्टेको प्रवद्र्धन र यसलाई सस्टेनबल बनाउनका लागि सबैले सहयोग गर्नुपर्ने उनको भनाई थियो ।
पोखरा उद्योग वाणिज्य संघका निवर्तनमा अध्यक्ष विश्वशंकर पालिखेले सरकारले पर्यटन व्यवसायलाई हल्का रुपमा लिँदा यो क्षेत्र सोंचेजस्तो विकास हुन नसकेको टिप्पणी गरे । उनले पर्यटनमा देखिएका समस्या समाधान नगरी प्रदेश सरकारले हचुवाका भरमा आन्तरिक भ्रमण वर्ष घोषणा गरेको आरोप लगाए । भ्रमण वर्ष घोषणा गर्दैमा सफल हुँदैन–उनले भने,‘भ्रमण वर्ष मनाउन कारण चाहिन्छ, प्रोडक्ट चाहिन्छ, डिस्काउन्टले मात्र पर्यटक आकर्षित हुँदैनन् ।’ उनले पर्यटन वर्ष घोषणा गर्दा प्रदेश सरकारले नीजि क्षेत्रसँग समन्वय र सहकार्य नगरेकोसमेत आरोप लगाए । त्यसको सट्टा भ्रमण वर्ष सफल बनाउन कति प्रतिशत छुट दिनेबारेमात्रै छलफल र दवाब दिएको उनको भनाई थियो ।
पालिखेले होटल र होम–स्टे बिच प्रदेश सरकारले विभेद गरेको आरोप लगाए । एउटै देशमा दुई वटा नीति हुन सक्दैन–उनले भने,‘होटल तथा रेष्टुरेण्ट व्यवसायीलाई कर लगाईन्छ, तर उस्तै खालको व्यवसाय गर्ने होम–स्टेलाईचाहिंक कर लिइदैन, बरु अनुदान दिईन्छ, यहाँ विभेद छ, यस्तो संसारमा कहिंपनि हुँदैन ।’
पत्रकार केशवशरण लामिछानेले सञ्चालन गरेको कार्यक्रममा पर्यटन व्यवसायी तथा पत्रकारहरुले पर्यटनमा दोषारोपण नगरी सरकार र नीजि क्षेत्र हातेमालो गरेर अघि बढ्न सुझाव दिएका थिए । उनीहरुले पर्यटन र पत्रकारिता एक सिक्काका दुई पाटा भएकाले यी दुई पक्षबीचपनि सहकार्य हुनुपर्नेमा जोड दिए ।
Comments are closed.