‘कर्माचार्य ग्रुपले गुणस्तरमा सम्झौता गर्दैन’

विक्रम कर्माचार्य
कार्यकारी निर्देशक, कर्माचार्य ग्रुप

नेपाली उपभोक्ताहरुको विश्वास जित्दै लोकप्रियता कायम गर्न सफल कर्माचार्य ग्रुप नेपालको प्रतिष्ठित व्यावसायिक घराना हो । ग्रुप अन्तर्गतका उद्योगहरुबाट उत्पादित तेल तथा विस्कुट लगायतका प्रडक्टले नेपाली बजारमा पकट जमाएको छ । यसैक्रममा कर्मचार्य ग्रुपको विशेषता, बजारको अवस्था, उद्योगहरुले भोग्नु परेका समस्या, भावी योजना लगायत विविध विषयमा केन्द्रित रहेर कार्यकारी निर्देशक बिक्रम कमाचार्यसँग आर्थिक आवाजका लागि सुरेन्द्र पौडेलले गरेको कुराकानीः

कर्माचार्य ग्रुप अन्तर्गत कुन उद्योग सञ्चालनमा छन् ?

कर्माचार्य ग्रुप अन्तर्गत रहेका उद्योगहरुमा गण्डकी आयाल मिल प्रालि, कर्माचार्य बेक्स फुड्स प्रालि, कर्माचार्य फुड ग्रेन्च प्रालि, गण्डकी प्लाष्टिक प्रडक्ट, फिस्टेल डेरी प्रालि, कन्ट्री कन्फेक्सनरी प्रालि सञ्चालनमा छन् ।

कर्माचार्य ग्रुप अन्तर्गतका उद्योगबाट कुनकुन प्रडक्ट उत्पादन हुँदै आइरहेका छन् ।

हामी विशेषत फुड प्रोसेसिङ इन्डष्ट्रिजमा केन्द्रित छौं । गण्डकी आयल मिलबाट उत्पादित कोशेली तोरीको तेल र हाल कोसेली हेल्थ सन फ्लावार तेल बजारमा छन् । हामीले विस्कुटको पनि उत्पादन गरिरहेका छौं । यसको उत्पादन पनि पछिल्लो क्रममा बजारमा सर्वाधिक मन पराइएको छ र उत्पादन पनि बढाएका छौं । कर्माचार्य डाइजेष्टिभ, कर्माचार्य टप, विसमारी लगायत विभिन्न ब्राण्डका विस्कुटहरु कर्माचार्य बेक्स एण्ड फुड्स प्रालिले उत्पादन गरिरहेको छ । कर्माचार्य फुड्स ग्रेन्च प्रालिमार्फत कुमारी चामल बजारमा ल्याएका छौं । फिस्टेल डेरी प्रा.लि.मार्फत नोभा ब्राण्डका दूध तथा दुग्धजन्य उत्पादनहरु बजारमा उपलब्ध छन् । बेननेभिस ब्राण्डका आइसक्रिम पनि उत्पादन तथा बिक्रीवितरण भइरहेको छ । कागज तथा प्याकर उत्पादन कन्ट्री कन्फेस्नरी युनिटमार्फत हुँदै आइरहेको छ । यसरी हामीले दैनिक उपभोग्य सामानदेखि बिस्कुट, आइसक्रिमसम्म उत्पादन गरेर आम नेपाली उपभोक्ताको मन जितिरहेका छौं ।

ट्रेडिङ व्यवसायतर्फ कर्माचार्य ग्रुपले कुनकुन प्रडक्टको बिक्रीवितरण गर्दै आइरहेको छ ?

कर्माचार्य इन्टरनेशनल प्रालि तथा कर्माचार्य व्रदर्शमार्फत विभिन्न प्रडक्टहरुको गण्डकी धौलागिरीमा आधिकारिक बिक्रेता भएर काम गरिरहेका छौं । हाल यी ट्रेडिङ फर्म मार्फत पूजा सोप एण्ड हाउस होल्ड प्रालि, मकालु सोप प्रालि, नेबुला फुड्स प्रालि, सूर्य नेपाल प्रालि, स्टर्न सुगर मिल, एभरेष्ट सुगर मिल, बागमती सुगर मिलका उत्पादनहरु हामीले बिक्री वितरण गर्दै आइरहेका छौं ।

गुणस्तरियताको हिसाबले कर्माचार्य ग्रुप कस्तो छ ?

गुणस्तरियताको हिसाबले हामी अब्बल छौं । हाम्रा उत्पादनहरु सबै गुणस्तरीय छन् । गुणस्तरमा हामी सम्झौता गर्दैनौं । हरेक सामान उत्पादन गर्दा गुणस्तरको ख्याल गर्छौं । त्यसैले त कर्माचार्य ग्रुपबाट उत्पादित वस्तु नेपाली उपभोक्ताबीच लोकप्रिय छ ।

बजार मूल्यको अवस्था कस्तो छ ?

हामीले गुणस्तर अनुसारको मूल्य लिने गरेका छौं । यसको मतलब महंगो छ भन्न खोजेको भने होइन । गुणस्तरको मापदण्ड पूरा गरेर उत्पादन गर्ने गरेकाले सोही अनुसारको मूल्य त लिनै पर्छ । गुणस्तरहीन सामानसँग दाँजेर महंगो भन्नु मिल्दैन । कोशेली एउटा स्थापित ब्राण्ड हो । यसको तुलना अरुसँग गर्नै मिल्दैन । त्यसैले अरु भन्दा केही महंगो पर्नु स्वभाविक हो । तर स्वास्थ्यमाथि नै खेलवाड गरेर गुणस्तरहीन सामान प्रयोग गर्नुभन्दा गुणस्तरीय सामान प्रयोग गरेर स्वास्थ्यप्रति ढुक्क हुन हाम्रो उत्पादन आम उपभोक्ताले प्रयोग गर्न सक्नुहुन्छ । हामीले उपभोक्ताको मन र विश्वास जितेका छौं । हामीले उत्पादन गरेका विस्कुट पनि गुणस्तरीय र स्वादिलो भएकाले सबैले मन पराएका छन् ।

नेपाली उत्पादनको बजार कस्तो छ ?

नेपालमा मूल्यमा अस्वस्थ प्रतिस्पर्धा छ । कसले सस्तो दिने भन्ने प्रतिष्पर्धाले बजार बिग्रिएको छ । जसका कारण गुणस्तरहीन वस्तु उत्पादन गरेर सस्तोमा बेच्नेहरु पनि छन् । तर हामीले गुणस्तरमा कहिल्यै सम्झौता गरेका छैनौं र गर्दैनांै पनि । त्यसैले गुणस्तरहीन वस्तुसँग मूल्यमा प्रतिष्पर्धा गर्न धेरै नै गाह्रो छ । यसकारण पनि लगानीको प्रतिफल आउने स्थिति छैन । अरुले भन्दा भिन्न तथा नयाँ सामान उत्पादन गरेर उचित मूल्यमा बेच्न सक्ने हो भने चाहिं नेपाली उत्पादित वस्तुको बजार धेरै राम्रो छ ।

नेपाली वस्तु उत्पादन गर्दा राज्यले कत्तिको सहयोग गर्छ ?

नेपाली वस्तु उत्पादन गरेपनि राज्यले हामीलाई अहिलेसम्म खासै सहयोग गरेको छैन । सहुलियत वा अनुदान अहिलेसम्म पाएका छैनौं । उत्पादनमुलक उद्योगहरुलाई शुलभ व्याजदरमा ऋण दिने भन्ने कुरा कागजमा आएको सुनिन्छ तर अहिलेसम्म खासै कार्यान्वयनमा आएको जस्तो लाग्दैन । बनाइएका नीति नियमहरु कागजमा सीमित राख्नुको कुनै अर्थ छैन । व्यवहारमा कार्यान्वयन गर्नु आवश्यक छ । त्यसो गर्न सके विदेश पलायन रोकेर नेपालमा नै युवाहरुलाई राख्न सकिन्छ । त्यसका लागि सरकारले वातावरण बनाउनुपर्छ । नेपालमा वर्षेनी व्यापार घाटा बढिरहेको स्थिति छ । यो व्यापार घाटा बढ्नुको मुख्य कारण छिमेकी राष्ट्रका टेलिभिजनबाट विज्ञापनहरु घरघरमा बजिरहेका छन् । नेपाली बजारलाई छिमेकी राष्ट्रको विज्ञापनले प्रत्यक्ष असर गरेको देखिन्छ । सो असरलाई समयमा नै नरोक्ने हो भने नेपाली व्यवसायीहरु धरासायी हुने तथा व्यापार घाटा भोलिका दिनमा अझ बढ्ने निश्चित छ ।

नेपालमा उद्योग व्यवसायको वर्तमान अवस्था कस्तो छ ?

नेपालमा उद्योगको अवस्था हालसम्म खासै राम्रो छैन । यसलाई सुधार गर्न आवश्यक छ । नेपाली उद्योगकोे भविष्य राम्रो बनाउन सरकारले उचित पहल गर्नुपर्छ । कच्चा पदार्थको भन्सार दर भन्दा तयारी वस्तुको भन्सार दरमा न्युनतम पनि २० देखि ४० प्रतिशत बढी हुनुपर्ने आवश्यकता छ । नेपाली वस्तु उत्पादन गरेर निर्यात गर्ने सामानहरुलाई भन्सार छुट दिनुपर्छ । उत्पादनमुलक उद्योगको आयकरमा ५ प्रतिशत छुट गरेर २० प्रतिशत कामय गरेको छ, जुन सकारात्मक पक्ष हो । सय जना भन्दा बढी रोजगारी दिएको उद्योगलाई आयकरमा थप २० प्रतिशत छुट दिएको छ ।

मजदुर समस्या कस्तो छ ?

उद्योग क्षेत्रमा मजदुरका समस्याहरु प्रयाप्त छ । दक्ष जनशक्तिको अभाव छ । त्यसलाई नीतिगत रुपमा समाधान गर्नुपर्छ । मजदुरको उत्पादकत्व बढाउन सरकारले श्रम ऐन मार्फत ‘पिसरेट सिस्टम’ लागु गर्नु जरुरी छ । विश्वव्यापी हेर्ने हो भने विकसित राष्ट्रहरु पनि औद्योगिक क्रान्ति पिसरेट सिस्टमबाट नै आएको देखिन्छ ।

नेपाली उपभोक्ताहरु कस्ता छन् ?

नेपाली उपभोक्ता अहिले आधुनिक भएका छन् । उनीहरुको मागलाई ध्यानमा राखेर वस्तु उत्पादन गर्न सक्नुपर्छ । उपभोक्ताको माग र बजारको अवस्थालाई बुझ्न नसक्दा कम्पनी नै डुब्ने खतरासमेत रहन्छ । हामीले नयाँ पुस्ताको बिचमा लोकप्रिय बन्न नेपाली उपभोक्ताको चाहना अनुसारको वस्तु उत्पादन गर्न सक्नुपर्छ । हाम्रो संस्कृतिमा पश्चिमेली प्रभाव बढेको देखिन्छ । आयातमुखी बजार भएकाले नेपाली उपभोक्ताले विदेशी उत्पादनहरु पनि प्रयोग गर्ने मौका पाएका छन् । र नेपाली उपभोक्ताको अपेक्षा नेपाली उत्पादन पनि अन्तर्राष्ट्रिय ब्राण्डसँग प्रतिस्पर्धा गर्न सक्ने खालको हुनुपर्छ भन्ने छ । हामी यसतर्फ सचेत छौं । हाम्रो उत्पादनको गुणस्तर र स्वाद पनि अन्तर्राष्ट्रिय ब्राण्डसँग प्रतिस्पर्धा गर्ने खालको छ ।

उद्योगलाई कसरी व्यवस्थित र व्यावसायिक रुपमा सञ्चालन गर्न सकिन्छ ?

उद्योगलाई व्यावसायिक र प्रतिष्पर्धी रुपमा लैजाने हो वा धेरै कुरामा ख्याल गर्नुपर्छ । व्यापार भनेको अरुले उत्पादन गरेका सामान ल्याएर बिक्री गर्ने प्रक्रिया हो । इन्टरप्रेनरसिप भनेको क्रिएटिभिटी हो । नयाँनयाँ वस्तुको उत्पादन गरी फरक ढङ्गले काम गर्नु इन्टरप्रेनरसिप हो । अरुले गरेको कामको फलो नगरी नेतृत्व लिएर तथा नयाँ तरिकाले अगाडि बढ्नुपर्छ । नयाँ, सृजनात्मक र गुणस्तरीय रुपमा सामान उत्पादन कसरी गर्न सकिन्छ ? भनेर रात दिन खट्नुपर्छ । व्यवसायमा व्यावसायिक हुनुपर्छ । गुणस्तरमा सम्झौता गर्नु हुँदैन । त्यस्तो गर्न सकियो भने उद्योग व्यावसायिक र व्यवस्थित हुन्छ ।

कर्माचार्य ग्रुपको विशेषताहरु के–के छन् ?

कर्माचार्य ग्रुप नेपाली उपभोक्ताहरुको विश्वास जित्दै लोकप्रियता कायम गर्न सफल छ । ग्रुप अन्तर्गतका उद्योगबाट उत्पादन सामानहरुलाई नेपाली उपभोक्ताले मन पराइदिनुभएको छ । नेपालमा मात्र होइन, विदेशमा पनि हाम्रा सामानहरु निर्यात भइरहेका छन् । अन्तर्राष्ट्रिय बजारको खोजीको क्रममा अमेरिका, वेलायत, हल्याण्ड लगायतका देशमा हाम्रा वस्तुहरु सानो स्केलमा बजार परीक्षणका लागि पु¥याउन सफल भएका छौं । आगामी दिनमा निर्यातलाई अझै बढाउने योजनामा छौं । हामीले ५ सय कर्मचारीलाई रोजगारी दिन सफल भएका छौं ।

कर्माचार्य ग्रुपको भावी योजना के छ ?

फुड प्रोसेसिङसँग सम्वन्धित भएकाले यसै क्षेत्रमा लगारी बिस्तार गर्ने हाम्रो सोच छ । सायद चाँडै नयाँ प्रोडक्ट मार्केटमा आउँछ । त्यसको तयारीमा लागिरहेका छौं । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल छिट्टै सञ्चालनमा आउने तयारीसँगै अन्तर्राष्ट्रिय बजारमा गण्डकी प्रदेशबाट सम्भावित निकासी बस्तुहरुको पहिचान गरी अन्तर्राष्ट्रिय क्षेत्रमा बजार विस्तार गर्ने सोचमा हामी छौं ।

Citizen Trade Link
Nova computer
टिप्पणिहरु
Loading...