कर घटाउन पहल गर्छु : प्रजू

पोखरा, २ असोज । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पदका उमेद्वार रवीन्द्रबहादुर प्रजूले पोखरा महानगरपालिकाले बढाएको कर घटाउन आफूले पहल गर्ने बताएका छन् । कर नघटाएमा बोर्ड बैठकमा टेबुल ठोकेरै भएपनि कर घटाएरै छोड्ने प्रतिवद्धता गरेका छन् । पोखरा उद्योग वाणिज्य संघको ३२औं महाधिवेशनमा अध्यक्षका प्रत्यासी रहेका उनले मतदातासँग यस्तो प्रतिक्रिया गरेको प्रजू प्यानलकोे सचिवालयबाट पठाइएको समाचारमा जनाइएको छ ।

‘करको दर होइन दायरा बढाउने हो तर त्यसको विरुद्धमा पोखरा महानगरपालिकाले नगरवासीको ढाडै सेक्ने गरी कर बढाएको छ । त्यसबाट उद्योगी व्यवसायी साथीहरु अझ बढी समस्यामा पर्नुभएको छ,’ प्रजूले भने, ‘म उद्योगी व्यवसायीको पनि प्रतिनिधि भएको नाताले नगरपालिकाको बोर्ड बैठकमा टेबुलै ठोकेर भएपनि समस्या समाधानको लागि पहल गर्नेछु ।’

पोखराको महेन्द्रपुल, चिप्लेढुंगा, नयाँबजार लगायतका ठाउँमा घरदैलोमा पुगेको प्रजू प्यानललाई मतदाताहरुले महानगरले कर बढाएको तर उद्योगी ब्यवसायीका नेतृत्व लिन खोज्नेहरुले कुनै चासो नदिएको गुनासो गरेका थिए । पोखरामा करको दायरामा नआएका हजारौं व्यवसायी साथीहरुलाई करको दायरामा ल्याउने र नियमित कर तिरिरहेका साथीहरुले भोग्नुपरेको समस्या समाधानको लागि संघको तर्फबाटै पहल गर्ने बचन यस प्यानलले दिएको छ ।

मतदाताले अध्यक्ष पदका उमेद्वार रवीन्द्रबहादुर प्रजूलाई तपाई वडाध्यक्ष पनि हुनुहुन्छ र उद्योग वाणिज्य संघको अध्यक्षमा पनि उमेद्वार हुुनुहुन्छ कसरी भ्याउनुहुन्छ भनेर प्रश्न गरेका थिए । जवाफमा अध्यक्ष पदका उमेद्वार प्रजूले यो समस्या होइन । सूचना प्रविधिको अहिलेको युगमा सामाजिक काममा नभ्याउने भन्ने कुरै हुँदैन । मेरा प्रतिश्पर्धी साथीहरु ५ वटा प्राइभेट कम्पनीका अध्यक्ष छन् । उनीहरुलाई आफ्नो काममै फुर्सद हुँदैन र पनि उनीहरु फुर्सद मिलाउँछु र व्यवसायीको सेवा गर्छु भनेर आएका छन् भने मेरो लागि समय मिलाउन समस्या होइन भन्ने जवाफ दिएका थिए ।

मतदातासँग भेटघाटको क्रममा वरिष्ठ उपाध्यक्ष पदका उमेद्वार नारायण कोइरालाले पोखरामा रहेको ट्राफिक समस्याको कारण व्यवसाय्रीले ठूलो नोक्सानी व्यहोर्नुपर्ने अवस्था आएकोले पोखरा उद्योग वाणिज्य संघमा आफ्नो प्यानल निर्वाचत तत्कालै यस समस्या समाधानमा पहल गर्ने वचन दिए ।

कर सम्बन्धमा मतदाताद्वारा उठाइएको प्रश्नको जवाफ दिँदै महासचिव पदका उमेद्वार अजुर््न पोखरेलले पोखरा महानगरपालिका आफूले कर नबढाएको दावी गर्दै आएको र मालपोतको मूल्यांकनको कारण केही कर बढेको भन्दै आएको विषय सरासर झुटा हो भनेका छन् । मालपोतका हाकिमले नै मूल्यांकन रजिष्ट्रेशन पास गर्ने प्रयोजनको लागि मात्रै भएको र नगरपालिकाले त्यसलाई नमानेर छुट्टै मूल्यांकन गर्न सक्ने भनेको अवस्थामा आफ्नो प्यानलले महानगरपालिकालाई यस विषयमा विचार गर्न बाध्य पार्ने आश्वासन दिएका छन् । उद्योगी व्यवसायीलाई समस्या परेको विषयमा पोखरा उद्योग वाणिज्य संघको नेतृत्व लिन तम्सिएका साथीहरु चुइक्कसम्म नबोलेको देख्दा आफूलाई अचम्म लागेको पनि पोखरेलले बताएका छन् ।

मतदातासँगको भेटघाटको क्रममा प्रजू प्यानलमा रहेका उद्योग तर्फका उपाध्यक्ष विन्दु कोइराला सुवेदी, वाणिज्य तर्फका उपाध्यक्ष पवनकुमार प्रजापति, कोषाध्यक्षमा सुरेन्द्रमान विजुक्छे, उपमहासचिवमा चिनुकुमारी गुरुङ्ग तथा सदय पदमा उमेद्वारी दिएका बलराम आचार्य, केशवबहादुर खत्री, दिनेशचन्द्र बाँस्तोला, कुमारी मुना बाँस्तोला, कीर्तिबल्लभ त्रिपाठी, बुद्धिबहादुर गहतराज, ऋषिराम भण्डारी र रामेश्वर अधिकारीले उद्योगी व्यवसायीको हितमा यो प्यानल सँधै सँगै उभिने प्रतिवद्धता गरेका थिए ।

You might also like

Comments are closed.