सन्देश श्रेष्ठ
पोखरा, २ मंसीर
पोखरामा कर दिवसको अवसरमा प्रभातफेरी निकालिएको छ । आन्तरिक राजश्व कार्यालय पोखरा शाखाको आयोजनामा कर दिवसको दिन मंसीर १ गते शनिबार प्रभातफेरी निकालिएको हो । योसँगै पोखरामा कर सप्ताह शुरु भएको छ । कर सप्ताह अन्तर्गत मंसीर ७ गतेसम्म विभिन्न छलफल तथा अन्र्तक्रिया लगायतका कार्यक्रम आयोजना हुनेछन् ।
कर सप्ताह अन्तर्गत नै शनिबार पोखरामा प्रभातफेरी निकालिएको हो । प्रभातफेरीको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले रिबन काटेर उद्घाटन गरे । पोखरा सभागृह प्राङ्गणबाट शुरु भएको प्रभातफेरी सभागृहचोक, सृजनाचोक, रत्नचोक हुँदै आन्तरिक राजश्व कार्यालय पोखराको प्राङ्गणमा पुगेर समापन भएको थियो । प्रभातफेरीमा उद्योगी, व्यवसायी, आन्तरिक राजश्व कार्यालयका कर्मचारी, सुरक्षाकर्मी, नागरिक समाजका अगुवालगायतको सहभागिता रहेको थियो । प्रभातफेरीमा सहभागीहरुले कर तिरौं, शान्ति र गौरवको अनुभूति गरौं, ईमान्दार भई तिरौं कर, संघीय सफलताको पूर्वाधार, समृद्ध राष्ट्र निर्माण हाम्रो संकल्प, समुन्नत नेपालका लागि कर साझा विकल्पलगातका नाराहरु लेखिएका प्लेकार्डहरु बोकेका थिए ।
प्रभातफेरीको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले समृद्धीका लागि कर तिर्न गण्डकी प्रदेशबासीलाई आग्रह गरे । सरकार, प्रदेश र देशलाई नै बलियो र समृद्ध पार्न नागरिकले कर तिर्नुपर्ने उनको भनाई थियो । उनले भने,‘समृद्धीका लागि कर तिरौं, जनताले कर तिरेमात्र सरकार, प्रदेश र देश बलियो हुन्छ, र यसैका माध्यमबाट मात्र विकास र समृद्धीमा पुग्न सकिन्छ ।’
मुख्यमन्त्री गुरुङले कर तिर्नु जनताको कर्तव्य भएको बताए । उनले भने,‘सरकारले जनताको सुरक्षा, कानूनी हक, अधिकारको ज्ञारेन्टी गर्नुपर्छ र त्यसका लागि कर तिर्नु जनताको कर्तव्य हो ।’ उनले दोहोरो कर हटिसकेको दाबी गरे । दोहोरो करको नाममा केहिले कर नतिर्न खोजेको आरोप लगाउँदै उनले भने,‘गण्डकी प्रदेश सरकारले दोहोरो करको अन्त्य गरिसकेको छ, एक ठाउँमा तिरेको कर संघ, प्रदेश र स्थानिय तहमा जानेगरी वातावरण मिलाइएको छ, एउटै व्यक्तिले एकै प्रकारको कर फरक÷फरक सरकारलाई तिर्नु पर्दैन, तर अझैपनि केहिले दोहोरो करको बहानामा कर तिर्न आनाकानी गरिरहेका छन् ।’
कर नतिर्ने असल नागरिक होइनन् : गुरुङ
कार्यक्रममा गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले कर आफ्नै घर बनाउन तिर्नुपर्ने बताए । उनले भने,‘कर हाम्रै लागि हो, आफ्नै घर बनाउने हो, किनकी सरकारले कर उठाएर नागरिकको सुरक्षा, स्वास्थ्य, शिक्षालगायतमा खर्च गर्छ ।’ उनले कर बिना विकास र समृद्धी हाँसिल गर्न नसकिने बताउँदै विकास र समृद्धीका लागि सबैले कर तिर्नुपर्नेमा जोड दिए । मन्त्री गुरुङले कर नतिर्ने असल नागरिक हुननसक्ने बताए । उनले भने,‘कर नतिर्नेहरु जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिदैमा असल नागरिक हुँदैनन्, असल नागरिक बन्न त सरकारले तोकेको कर तिर्नुपर्छ ।’
पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले दुई नम्बरी नभई एक नम्बरी भएर कर तिर्न नागरिकलाई आग्रह गरे । कर छल्न नहुने बताउँदै उनले भने,‘कर छल्ने नगरौं, कर छलियो भने दुई नम्बरी भईन्छ, त्यसैले दुई नम्बरी होइन एक नम्बरी हुनुस् ।’ उनले कर सप्ताह सप्ताहमा मात्र सिमित नभई यो प्रभावकारी हुनुपर्नेमा जोड दिए । उनले नागरिकले कर तिरेपछि उनीहरुलाई कर तिरे अनुसारको सेवा सुविधा दिनुपर्ने बताउँदै हालसम्म भने त्यसो हुन नसकेको बताए ।
नेपाल उद्योग वाणिज्य संघ गण्डकी प्रदेश अध्यक्ष सञ्जीवबहादुर कोइरालाले सरकारले कर बृद्धि गर्दा नीजि क्षेत्र निरुत्साहित भएको बताए । उनले सरकारलाई करको दर होइन करको दायरा बढाउन सुझाव दिए ।
आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख केशवकुमार उप्रेतीले कर सम्बन्धी सचेतना जगाउन सप्ताहव्यापी कार्यक्रम गर्नलागेको जानकारी दिए ।
Comments are closed.