कवि नवराज पराजुलीको एकल कविता कन्सर्ट असोज २६ गते

पोखरा, २२ असोज ।

चर्चित युवा कवि नवराज पराजुलीको एकल कविता कन्सर्ट पोखरामा हुने भएको छ । लायन्स क्लव अफ पोखरा स्वर्णिम सिटिको निम्तोमा यही असोज २६ गते उनी पोखरा आउँदैछन् ।

शुक्रबार अपरान्ह चार बजे पोखरा सभागृहमा हुने कन्सर्टको अन्तिम तयारीमा जुटेको आयोजकले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । युवामाझ चर्चित कवि पराजुलीलाई टिकट काटेर सुन्नुपर्नेछ । जसको लागि आयोजकले तीन सय, पाँच सय र एक हजार दरका टिकटको व्यवस्था गरेको छ ।

आयोजक संस्थाका अध्यक्ष लायन गोविन्द देवकोटाले कन्सर्टका बारेमा जानकारी दिनुका साथै संस्थाको उद्देश्यमाथि प्रकाश पारेका थिए । शारीरिक अपांगता भएका व्यक्तिहरुको सहयोगका लागि कविता कन्सर्ट आयोजना गरिएको उनले बताए । करीब दुई लाख ५० हजार खर्च हुने कन्सर्टबाट ५० हजार आम्दानी गर्ने लक्ष्य राखिएको छ । सो रकम नै अपांगता भएका व्यक्तिहरुका लागि सहयोग गरिने आयोजकले जनाएको छ ।

उक्त पत्रकार सम्मेलनमा जोन चियरपर्सन बिन्दु श्रेष्ठले शुभकामना मन्तव्य राखेकी थिइन् । संस्थाका अध्यक्ष देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा प्रथम उपाध्यक्ष तथा कविता कन्सर्टका संयोजक लायन मोहन प्रसाद अधिकारीले स्वागत तथा लायन भाइराज राना मगरले सञ्चालन गरेका थिए ।

युवा कवि पराजुलीको पहिलो कविता संग्रह ‘सगरमाथाको गहिराई’ले यस वर्षको पद्मश्री पुरस्कार समेत प्राप्त ग¥यो । कविता वाचनमार्फत लाखौं समर्थक बटुलेका कवि पराजुलीको ‘सगरमाथाको गहिराई’मा सानाठूला ३६ कविता समावेश छन् । डेढ घण्टासम्म अधिकांश कवितालाई पोखरामा सुन्न पाईनेछ ।

You might also like

Comments are closed.