कसले जित्ला पिपिएलको उपाधि ? यसरी भए सन्दीप फ्लप !

सन्देश श्रेष्ठ

पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटको उपाधिका लागि घरेलु टीम पोखरा पल्टन र चितवन राइनोज भिड्ने भएका छन् । फाइनल खेल कात्तिक २० गते मंगलबार पोखरा रंगशालाको क्रिकेट मैदानमा हुनेछ । पोखरा पल्टन अंक तालिकाको शीर्ष स्थानमा रहँदै सिधै फाइनलमा प्रवेश गरेको हो भने चितवन राइनोज इलिमिनेटर राउण्डमा हुलास काठमाडौं रोयल्सलाई पराजित गर्दै फाइनलमा पुगेको हो । समान पाँच÷पाँच खेल खेलेका ६ टीम मध्ये पोखरा पल्टन, चितवन राइनोज, हुलास काठमाडौं रोयल्स र एक्सपर्ट धनगडी ३÷३ खेलमा जीत र २÷२ खेलमा हार बेहोर्दै समान ६÷६ अंक भएको थियो । तर रन रेटले उछिन्दै पोखरा पल्टन अंक तालिकाको शीर्ष स्थानमा रहन सफल भयो । पोखरा पल्टनको नेट रन रेट ०.७८८ छ ।

समान अंक जोडेको चितवन राइनोज ०.५२३ रन रेटसहित दोश्रो स्थानमा र हुलास काठमाडौं रोयल्स ०.१६५ रन रेटसहित तेश्रो स्थानमा रहँदै इलिमिनेटर राउण्डमा प्रवेश गरेका थिए । एक्सपर्ट धनगडी भने समान अंक भएपनि रन रेटमा पछि पर्दै लिग चरणबाटै बाहिरियो । उसको रन रेट –०.३९८ छ । इलिमिनेटर राउण्डमा चितवन राइनोजले हुलास काठमाडौं रोयल्सलाई ६ विकेटले पराजित ग¥यो ।

कसले जित्ला उपाधि ?
चितवन राइनोज र पोखरा पल्टन दुबै उपाधिका हकदार भइसकेका छन् । यद्यपि कसले जित्छ त्यो भने मंगलबारको खेलसम्म कुर्नु पर्नेछ । चितवन राइनोज इलिमिनेटर राउण्डमा ज्ञानेन्द्र मल्ल नेतृत्वको हुलास काठमाडौं रोयल्सलाई पराजित गर्दै फाइनलमा आएको हो । चितवन राइनोजको नेतृत्व नेपाली राष्ट्रिय क्रिकेट टीमका कप्तान पारस खड्काले गरेका छन् । उनी चितवन राइनोजका मार्की प्लेयर तथा कप्तानसमेत हुन् ।

चितवन राइनोज अनुभवी र युवाको समिश्रण भएको टीम हो । अलराउण्डर खेलाडी भएका कारण चितवन राइनोजको व्याटिङ र फिल्डिङ दुवै उत्कृष्ट छ । तरपनि व्याटिङ उसको जितको आधार हो । चितवनमा पारसलाई साथ दिएका छन् भारतका सन्नी पटेलले । उनले व्याटिङ धर्मराएको बेलामा पनि विनिङ सट हानेर चितवनलाई जिताउने गरेका छन् । विराटनगरसँग लिग चरणको अन्तिम खेलमा हारको नजिक पुगिसकेको चितवनलाई छक्का÷चौका प्रहार गर्दै जित दिलाएका थिए । उसो त उनको बलिङ पनि कसिलो हुने गर्छ ।

पोखरा पल्टनको नेतृत्व भने शरद भेस्वाकरले गरेका छन् । राष्ट्रिय टीमबाट खेलेर कयौं पटक विनिङ सट हान्दै नेपाललाई जित दिलाएका शरद अनुभवी व्याट्स म्यान हुन् । उनी पोखरा पल्टनको मार्की प्लेयर र कप्तान हुन् । यद्यपि, शरदले आफ्नो अनुभव यस प्रतियोगितामा खासै देखाउन सकेका छैनन् ।

पहिलो खेलमै सन्दीप लामिछानेको विराटनगरलाई हराएर वाहवाही कमाएको पोखरा पल्टन घरेलु टीम हो । होम ग्राउण्ड र दर्शकको सपोर्टका कारण पोखरा आत्मविश्वासी देखिएको छ । पोखरा व्याटिङ र फिल्डिङ दुबैमा राम्रो छ । पोखराका कप्तान शरद भेस्वाकर जुनसुकै बेला व्याटिङ वा बलर दुबै चम्किन सक्ने बताउँछन् । विपक्षीको खेल अनुसार रणनीति बदलेर जित निकाल्न सक्ने क्षमता आफ्नो टीममा रहेको उनको दाबी छ । पोखरामा युएईका स्टार मोहम्मद नाबी र भारत पञ्जावका रवि ईन्दर सिंह मेहरा छन् । त्यस्तै प्रतियोगिताको पहिलो खेलमै ११ बलमा ४१ रन हानेर चक्मा दिने बिनोद भण्डारी, राष्ट्रिय टीमका युवा खेलाडी रोहितकुमार पौडेललगायतका खेलाडीपनि पोखरामा छन् ।

पीपीएलमा बिदेशी खेलाडी हाबी
पोखरा प्रिमियर लिग (पीपीएल)मा बिदेशी खेलाडी हाबी भएका छन् । नेपाली राष्ट्रिय टीमका कप्तान पारस खड्कासहित सबै खेलाडी प्रतिष्पर्धामा भएपनि सबै टीममा बिदेशी खेलाडी हाबी भएका हुन् । हरेक टीमको जित वा हार बिदेशी खेलाडीमा निर्भर देखियो । त्यतिमात्रै होइन बिदेशी खेलाडीको उत्कृष्ट प्रदर्शनका कारण नेपाली खेलाडी ओझेलमासमेत परे ।

अंक तालिकाको शीर्ष बरियतामा रहँदै सिधै फाइनलमा पुगेको पोखरा पल्टन होस् वा इलिमिनेटर राउण्डबाट फाइनलमा पुगेको चितवन राइनोज, वा लिग चरणमा अंक तालिकाको पुछारमा रहेर प्रतियोगिताबाट बाहिरिएको विराटनगर टाइटन्स होस् सबै टीम बिदेशी खेलाडीमा निर्भर देखिए ।

फाइनलमा पुगेको पोखरा पल्टन युएईका स्टार मोहम्मद नाबी र भारत पञ्जावका रवि इन्दर सिंह मेहरामा निर्भर देखिन्छ । यी दुई खेलाडीले राम्रो खेल्दा पोखराले सहजै जित निकाल्ने गरेको छ भने नराम्रो खेल्दा हार बेहोर्दै आएको छ । उसो त अर्को फाइनलिष्ट चितवन राइनोज पनि बिदेशी खेलाडीमै निर्भर छ । चितवनको टीममा रहेका सन्नी पटेलले विराटनगरबिरुद्ध हारको नजिक पुगेको टीमलाई विनिङ सट खेल्दै टीमको उद्धार गरेका थिए । उनको उत्कृष्ट प्रदर्शनका कारण पारस खड्कासमेत ओझेलमा परे ।

फाइनलिष्ट मात्र नभई अन्य टीम पनि बिदेशी खेलाडीमै निर्भर रहे । इलिमिनेटर खेलेको हुलास काठमाडौं रोयल्स पनि बिदेशी खेलाडीको खेलमा निर्भर देखियो । काठमाडौंबाट खेलेका किसन कोल्छावाला र गौरव तमोर नै टीमको हार वा जितको आधार बने । सोहि कारण यो टीमका कप्तानसमेत रहेका नेपाली राष्ट्रिय क्रिकेट टीमका उप कप्तान ज्ञानेन्द्र मल्ल ओझेलमा परे । अंक तालिकाको चौथो स्थानमा रहँदै प्रतियोगिता टुंग्याएको एक्सपर्ट धनगडी पनि बिदेशी खेलाडीमै निर्भर देखियो । ईंगल्याण्डका ड्यानिअल विलियम लोरेन्स र पिटर डेभिड टे«गोको खेलमा धनगडीको जित वा हार हुँदा नेपाली खेलाडी उनीहरुको छायाँमा परे ।

पाचौं स्थानमा रहेर प्रतियोगिताबाट बाहिरिएको बुटवल ब्लास्टरका मार्की प्लेयर र कप्तान रहेका सोमपाल कामीसमेत बिदेशी खेलाडीको अगाडि छायाँमा परे । उनको टीममा युएईका रोहन मुस्ताफा र चिराग सुरी थिए । बलिङ र ब्याटिङमा उत्कृष्ट प्रदर्शन गरेर चर्चा कमाएका सोमपालले पीपीएलमा कुनै कमाल देखाएनन् बरु उनको टीमका बिदेशी खेलाडी मोहन मुस्ताफा र चिराग सुरीकै खेलमा उनको टीमको जित र हार निर्भर रह्यो ।

अन्य टीममा मात्र होइन नेपाली क्रिकेटका सर्बाधिक चर्चित खेलाडी सन्दीप लामिछानेको टीमसमेत बिदेशी खेलाडीको खेलमा निर्भर देखियो । लामिछानेले व्यक्तिगत रुपमा योगदान दिएपनि भारतका एन्टन एन्ड्रयू सुविक्सन महेश्वरन र पाकिस्तानका मोहम्मद जैद आलमकै प्रदर्शनका आधारमा जित वा हार निस्कियो । जसका कारण बिदेशी लिगमासमेत चर्चामा रहनेगरेका सन्दीप पीपीएलमा भने सामान्य चर्चामा सिमित बने ।

पीपीएलमा सन्दीप फ्लप
पोखरा प्रिमियर लिग (पीपीएल)मा सन्दीप लामिछाने फ्लप भएका छन् । बिदेशी लिगमा एक्सपोजर पाएर तहल्का मच्चाउँदै आएका सन्दीप पीपीएलमा भने फ्लप भएका हुन् । विराटनगर टाइटन्सको मार्की प्लेयर रहेका सन्दीप कप्तानका रुपमा पनि असफल बने । सन्दीप आफू मात्र हैन, उनको टीम पनि प्रतियोगिताकै असफल टीम बन्यो । प्रतियोगितामा शीर्ष तीन भित्र परेर फाइनल पुग्ने आशा गरिएको विराटनगर पाँच खेलमध्ये एकमा जीत र चार खेलमा हार बेहोर्दै अंक तालिकाको सबैभन्दा पुछारमा रहँदै प्रतियोगिताबाट बाहिरियो । यो हार सन्दीपको लागि अप्रत्याशित हो भने उनका समर्थकका लागि निराशा ।

प्रतियोगिताको पहिलो खेलमा घरेलु टीम पोखरा पल्टनसँग ५८ रनको हार बेहोरेको सन्दीपको टीम विराटनगर टाइटन्सले दोश्रो खेलमा एक्सपर्ट धनगडी ब्लुजसँग ७८ र तेश्रो खेलमा काठमाडौं ब्लुजसँग ५ विकेटको हार बेहो¥यो । चौथो खेलमा बुटवललाई १२ रनले पराजित गर्दै विराटनगरले जितको शुरुवात गरेपनि पाचौं खेलमा चितवन राइनोजसँग भएको प्रतिष्ठाको खेलमा पनि विराटनगर ४ विकेटले पराजित भयो ।

व्यक्तिगत रुपमा पनि सन्दीपले प्रतियोगितामा आफूलाई अब्बल सावित गर्न असफल भए । उनले हालसम्म कुल १० विकेट लिएका छन् । उनले बुटवलबिरुद्ध २, चितवनबिरुद्ध ४, काठमाडौंबिरुद्ध १, धनगडीबिरुद्ध १ र पोखराबिरुद्ध २ विकेट लिए ।

You might also like

Comments are closed.