सुरेन्द्र पौडेल
जेठ २०, पोखरा ।
गाउँको यस्तो डाँडामा कहाँ पर्यटक आउँछन् ? विश्वराज अधिकारीलाई गाउँलेले मात्रै होइन आफ्नै परिवारले पनि प्रश्न गर्थे । तर उनले हिम्मत हारेनन्, आफ्नो योजना सफल बनाउन निरन्तर लागिरहे । फलस्वरुप सन् २००४ मा निर्माण सुरु गरेको अन्नपूर्ण इको भिलेज रिसोर्ट सन् २००७ मा आएर सम्पन्न भयो । उनले कास्कीको माछापुच्छे« गाउँपालिका ६ अस्ताममा इको भिलेज रिसोर्ट सुरु मात्र गरेनन् सोचे भन्दा बढी पर्यटक भित्र्याएर ग्रामीण पर्यटनमा नयाँ आयाम नै थपिदिए । उनलाई रिसोर्ट सञ्चालनमा भाइहरु बेदनिधी अधिकारी र पूर्णप्रसाद अधिकारीले पनि साथ दिए ।
ग्रामीण पर्यटनको क्षेत्रमा निरन्तर सक्रिय विश्वराजले अस्ताम गाउँको चुचुरोमा सञ्चालन गरेको रिसोर्ट अहिले पर्या पर्यटन, योगा पर्यटन र शैक्षिक पर्यटनको केन्द्र नै बनेको छ । पुतलीको अध्ययन, हिमाली श्रृङखला र हरियाली पहाडहरुको दृश्यावलोकन, पशुपंक्षी अवलोनका लागि पनि उनको रिसोर्ट प्रशिद्ध छ । ७५ प्रतिशत भन्दा बढी विदेशी पर्यटकले भरिभराउ रिसोर्टले कहिल्यै पनि अफ सिजन व्यहोर्नु नपरेको अनुभव सुनाउँछन् विश्वराज । ‘पोखरामा अफसिजन लाग्दा पनि यहाँ सिजन नै चल्छ,’ उनी भन्छन् ।
सन् १९९० देखि पर्यटक भरिया भएर पर्यटन यात्रा सुरु गरेका विश्वराजले सन् १९९९ मा पोखराको लेकसाइडमा फ्रेन्स कटेजबाट होटल यात्रा सुरु गरेका हुन् । त्यसपछि ट्रेकिङ गाइड भएको अनुभव पनि छ उनीसँग । उनको पर्यटन यात्रा रोकिएन, क्रमशः अगाडि बढिरह्यो । सन् २००४ मा खच्चड र कामदारले सहायतामा ढुंगाहरु ओसार्दै इको भिलेजको निर्माण अगाडि बढ्यो । ‘३ वर्षमा निर्माण सम्पन्न भयो र २ वटा कटेजबाट सेवा सुरु ग¥यौं,’ बिगत सम्झन्छन् उनी ।
सन् २००७ मै ट्रेकिङ कम्पनी पनि दर्ता गरे विश्वराजले । रिसोर्टमा पर्यटकको आगमन बृद्धि भएसँगै रुमहरु बढाउनुपर्ने दबाब बढ्यो । अहिले रिसोर्टमा १२ वटा रुमबाट सेवा प्रदान भइरहेको छ । पर्यटकको चाप धान्न नसकेपछि लगानी बिस्तार गरी रुम थप्नुपर्ने बाध्यतामा छन् अहिले सञ्चालक अधिकारी दाजुभाइहरु । ‘लगानी बिस्तार सुरु गरिसकेका छौं,’ विश्वराजले भने ।
२८ रोपनी जग्गामा बनेको रिसोर्टमा अहिलेसम्म जग्गा बाहेक ४ करोड रुपैयाँ भन्दा बढी लगानी भइसकेको छ । अब २ करोड ५० लाख रुपैयाँ लगानी बिस्तार गर्ने तयारी भइरहेको विश्वराजले जानकारी दिए । ‘रुम बढाएर कम्तीमा पनि २० वटा बनाउने तयारी भइरहेको छ,’ उनले भने । २ सय जना क्षमताको सभाहल र योगा हलसमेत बिस्तार गरिने उनले बताए ।
बगैंचा र फलफुलका विरुवाले रिसोर्ट परिसर हरियाली र सुन्दर छ । बगैंचामा लालिगुराँसदेखि सालका रुखसम्म पाइन्छन् । ‘यहाँको सुन्दरताबाट पर्यटक निकै प्रफुल्लित हुन्छन्,’ विश्वराले भने, ‘यहाँ आएपछि कम्तीमा पनि ५ दिनको बसाईँ पर्यटकको रोजाईमा पर्छ ।’ पर्यटकलाई इको टुर गराउनुका साथै शैक्षिक भ्रमणमा आएकाहरुलाई अध्ययन अवलोकनको व्यवस्थासमेत मिलाइकोछ । गाउँले परिवेश र संस्कृति सिक्न पनि पर्यटक आउने गरेको उनी बताउँछन् । ‘पर्यटकलाई ६० प्रतिशत यहीँको उत्पादन खुवाउँछौं,’ उनले भने । अन्नपूर्ण बेसक्याम्प, मर्दिहिमाल, पुनहिल र जोमसोम जाने ट्रेक रुट पनि अस्ताम हो । ‘ट्रेकिङमा आउनेहरुको एक दिनको बसाईं पनि अस्ताम बन्ने गरेको छ,’ उनले भने ।
ग्रिन टि रिसोर्टको विशेष पहिचान हो । युरोपका पर्यटकले उहाँको ग्रिन टि किनेर लग्छन् । केमो माएल, स्टेभिया, लेमनग्रास, वनपाखामा पाइने सिनामन लगायतका जडिबुटीबाट उक्त चिया तयार पारिएको उनले जानकारी दिए । पर्यटकलाई दुध, दही खुवाउन गाईसमेत पालिएको छ । सौर्य इनर्जीको प्रयोग गरिएको रिसोर्टमा आकाशे पानीलाई प्रशोधन गरी प्रयोग गरिन्छ । रिसोर्टमा अहिले १२ जना कर्मचारी आबद्ध छन् ।
Comments are closed.