कांग्रेसलाई लार्भा, कम्युनिष्टलाई झुसिलकिरा भन्दै डा.भट्टराइले भने : अब पुतलीको पालो

 

सन्देश श्रेष्ठ

पोखरा, ४ जेठ

समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले नेपालमा कांग्रेस र कम्युनिष्टको युग सिद्धिएको बताएका छन् । नयाँशक्ती पार्टी र संघीय समाजवादी फोरम नेपालपछि बनेको समाजवादी पार्टी नेपालको गण्डकी प्रदेश स्तरिय अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै डा.भट्टराईले कांग्रेस र कम्युनिष्ट दुबैको युग सिद्धिएको बताएका हुन् । उदारवादी स्वतन्त्रतामा आधारित लोकतन्त्र ल्याउन कांग्रेसले भूमिका खेलेकै हो–उनले भने,‘त्यसैले कांग्रेसलाई धन्यवाद दिनुपर्छ, तर अब कांग्रेसको युग सिद्धियो, उसलाई अब सम्मान दिएर म्यूजियममा राख्न सकिन्छ, कांग्रेसले देशको नेतृत्व लिन सक्दैन ।’

डा.भट्टराईले कम्युनिष्टको युगपनि सिद्धिएको बताए । कांग्रेसलाई लार्भाको संज्ञा दिएका उनले कम्युनिष्टलाई झुसिलकिराको संज्ञा दिए । हिजो प्रारम्भिक लोकतन्त्रका लागि भूमिका खेल्ने कांग्रेस लार्भा हो–उनले भने,‘प्रारम्भिक लोकतन्त्रबाट गणतन्त्रसम्म ल्याउने कम्युनिष्ट झुसिलकिरा हो, तर अब संघीय लोकतान्त्रिक गणतन्त्रहुँदै समृद्धीको जगमा टेकेर समुन्नत संघीय समाजवादमा जाने हो भने रंगीबिरंगी पुतलीको रुपमा समाजवादी शक्ति आवश्यक छ ।’ उनले कांग्रेस र कम्युनिष्ट भन्दा माथि उठेको अत्यन्त सुन्दर समाजवादी पाटी निर्माण गर्न लागेको र समृद्धीमा पु¥याउने उल्लेख गरे ।

डा.भट्टराईले नेपालमा पुँजीबादको पनि अन्त्य भएको घोषणा गरे । विश्वमै संकटमा फसिसकेको पुँजीवादले नेपाललाई समृद्ध बनाउन नसक्ने उनको भनाई थियो । उनले अबको ५० वर्षमा नेपालको राष्ट्रिय अखण्डता र राष्ट्रिय स्वाधिनता जोगाउने पाटी समाजवादी पाटीमात्र हुने दाबी गरे ।

डा.भट्टराईले वर्तमान सरकार कम्युनिष्टको नामधारी कमाउनिष्ट सरकार भएको आरोप लगाए । यो कम्युनिष्ट नाम गरेको सरकार नाम मात्रको कम्युनिष्ट हो–उनले भने,‘बास्तवमा यो कमाउनिष्ट हो, भ्रष्टाचारी हो, हारेका र फाटेकाहरुमात्रै त्यहाँ छन् ।’ वर्तमान नेकपालाई कुहिएको फर्सी भएको टिप्पणी गर्दै उनले यो कुनै दिन फुटेर झर्ने भएकाले वर्तमान सरकारको आयु धेरै नभएको बताए ।

डा.भट्टराईले असली संघीयता नआएको बताउँदै पहिचानसहितको ११ प्रदेश बनाउनुपर्ने बताए । सबै पाटीहरुको सहमतिमा बनाएको विज्ञहरुले बनाएको ११ प्रदेशको राज्यपुर्नसंरचना खाका पहिचानको ५ आधार र सामथ्र्यको ४ आधारमा बनाइएकाले यो वैज्ञानिक भएको उनले तर्क गरे । उनले आफू बौलाएर वा सन्किएर पहिचानसहितको संघीयता नभनेको स्पष्ट पारे । बाबुराम बौलाएर वा सन्किएर पहिचान भनेको होइन, अनि मलाई केहि चाहिएकाले आदिवासी जनजाति, मधेशीलाई फुर्काउनका लागि पनि भनेको होइन–उनले भने,‘बरु आदिवासी, जनजाति र मधेशीलाई उनीहरुको पहिचान दिलाउन, इतिहासको सम्मान र विभेदबाट मुक्त गर्दै राज्यसत्ताप्रति अपनत्व महशुष गराउनका लागि पहिचानसहितको संघीयता भनेको हुँ ।’

समाजवादी पाटीका अर्का अध्यक्ष तथा उप–प्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले विगतमा सरकारवादी पाटीसँग भएको सहमति र सम्झौता कार्यान्वयन गर्ने बेला आएको बताए । हिजो सरकार गठन गर्ने बेला भएका सहमति र सम्झौता कार्यान्वयन नभए सरकार छाड्ने संकेत गर्दै उनले भने,‘अब आफूले गरेको बचन, आफूले गरेका हस्ताक्षर र प्रतिबद्धताहरु कार्यान्वयन गर्ने बेला आएको छ, यदी आफैले गरेको बचन, आफैले गरेको हस्ताक्षर र प्रतिबद्धताहरु कार्यान्वयन हुँदैनन् भने त्यसले अर्कै मोड लिन्छ ।’ आफूहरु संविधानलाई संसोधन गरेर सच्याउने र प्राप्त अधिकारको रक्षा गर्न सरकारमा गएको स्पष्ट पार्दै उनले भने,‘यो पहिलो विकल्प हो, हामी यहि विकल्पबाट समाधान होस् भन्ने चाहन्छौं, तर हाम्रो कुरा सुनिएन र सहमति र सम्झौता कार्यान्वयन भएनन् भने हामी दोश्रो विकल्पमा जान्छौं, त्यो भनेको सडक संघर्ष हो, जन संघर्ष हो ।’

यादवले संघीयता समाप्त पार्ने षडयन्त्र भइरहेको बताए । प्रदेशलाई र स्थानिय तहलाई अधिकार नदिई कामै गर्न नसक्ने अवस्थामा पु¥याउने र पछि काम गर्न असक्षम र असफल भएको भन्दै संघीयता मास्ने षडयन्त्र भइरहेको उनको भनाई थियो । यद्वपी उनले यस्तो प्रयास कसले गरिरहेको छ भन्नेबारेमा भने केहिपनि खुलाएनन् । उनले नेपालमा अपाङ्ग संघीयता आएपनि यसलाई बचाउनु सबैको दायित्व भएको बताए । हाम्रोमा आएको संघीयता अपाङ्ग संघीयता हो–उनले भने,‘तर अपाङ्ग जन्मियो भन्दैमा कसैलेपनि आफ्नो सन्तानलाई फाल्न सक्दैन, बरु यहि अपाङ्गलाई सपाङ्ग सरह बनाउनुपर्छ ।’

गरिबी, असमानता र अन्यायपूर्ण समाज अध्यापी कायम रहेको भन्दै उनले यसको अन्त्य गर्नुपर्ने बताए । उनले नेपालमा बहुराष्ट्रियता रहेको दाबी गरे । एउटै देशमा विविधतापूर्ण राष्ट्रियता रहेकाले नेपाल बहुराष्ट्रिय मुलुक भएको उनको जिकिर थियो । यादवले अझैपनि लाखौं जनता अहिलेपनि नागरिकताविहिन् अवस्थामा रहेको बताउँदै त्यस्ता नागरिकलाई नागरिकता दिलाइनुपर्ने बताए । कुनै नेपालीले बिदेशमा बच्चा जन्माउँदा त्यो बच्चा अनागरिक बनाएर नागरिकता नदिइने गरेको दृष्टान्त पेश गर्दै यो अन्यायपूर्ण अवस्थाको अन्त्य गरि त्यस्ता बिदेशमा जन्मेका बच्चालाई पनि उमेर पुगेपछि नागरिकता दिइनुपर्ने बताए । साथै उनले नागरिकतामा लैंगिक असमानता रहेको बताउँदै त्यसलाई समान बनाइनुपर्नेमा जोड दिए ।

यादवले पार्टी एकताले अझै बृहद रुप लिने बताए । बिचार मिल्नेलाई मिलाउँदै लाने हो–उनले भने,‘यो हाम्रो फुल स्टप होइन, अन्य बिचार मिल्नेसँग एकता गर्दै जाने हो ।’

सहअध्यक्ष अशोक राईले सरकारको नेतृत्व गरेको नेकपा फोहोर देखिसकेपछि दैलो देख्ने स्थितिमा पुगेको टिप्पणी गरे । पहिचानको बिपक्षमा उभिएर नेकपाले गल्ती गरेको भन्दै उनले भने,‘उल्टो गती, उल्टो मति ।’ उनले नेपाली कांग्रेस र पूर्व एमालेबाट पहिचान आउँछ भन्नेमा कोहि भ्रममा भए त्यो भ्रम पोखराको बिच भाग भएर बग्ने सेती नदीमा गएर बगाईदिए हुने बताए ।

You might also like

Comments are closed.