कांग्रेस ढिलो चाँडो हिन्दु राष्ट्र र राजसंस्थाको पक्षमा आउँछ : थापा

सन्देश श्रेष्ठ
पोखरा, ६ पुष

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले ढिलोचाँडो कांग्रेस हिन्दु राष्ट्र र राजसंस्थाको पक्षमा उभिने विश्वास व्यक्त गरेका छन् । मिडिया नेपालले शुक्रबार विहान पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले बिपीले प्रतिपादन गरेको हिन्दु राष्ट्र र राजसंस्थासहितको लोकतन्त्रमा कांगे्रस एकदिन आएरै छाड्ने विश्वास व्यक्त गरेका हुन् । उनले भने,‘कांग्रेसले आफ्नो सिद्धान्त र बिचार किन त्याग्यो मलाई आश्चर्य लाग्छ, तर ढिलोचाँडो हिन्दु राष्ट्र र राजसंस्थासहितको लोकतन्त्रमा कांग्रेस आउँछ भन्ने मलाई विश्वास छ ।’

राप्रपा अध्यक्ष थापाले कांग्रेसलाई हिन्दु राष्ट्रको पक्षमा शाहसिक निर्णय गर्न आग्रह गरे । कांग्रेस हिन्दु राष्ट्रको पक्षमा उभिएमा राप्रपा सहकार्य गर्न तयार रहेको बताउँदै उनले भने,‘कांग्रेसले हिन्दु राष्ट्रको पक्षमा शाहसिक निर्णय गरोस् ।’ राप्रपाले हिजो हिन्दु राष्ट्रको एजेण्डा एक्लै बोक्नु परेपनि अहिले कांग्रेसमा हिन्दु राष्ट्रको पक्षमा आवाज उठ्न थालेको भन्दै उनले थपे,‘कांग्रेसमा जोडदार रुपमा हिन्दु राष्ट्रको पक्षमा आवाज उठ्न थालेको छ, हस्ताक्षर अभियान नै चल्न थालेको छ, अन्ततः कांग्रेस यसैको पक्षमा उभिन्छ ।’

अध्यक्ष थापाले धर्म प्रचारक संस्था युनिभर्सल पिस फेड्रेसनको सम्मेलनमा तामझामसहित सरकारका प्रधानमन्त्री नै सहभागि हुनु संविधानको भावना बिपरित भएको दाबी गरे । उनले अल्पसंख्यकलाई रिझाउने नाममा सरकारले बहुसंख्यकलाई आघात पु¥याएको आरोपसमेत लगाए । उनले नेपालमा योजनाबद्ध ढंगले धर्म परिवर्तन गराउँदै आएको र हालसम्म करीब १२ लाख नेपालीलाई धर्म परिवर्तन गराईसकेको बताए । यस्ता गतिविधिले सामाजिक सद्भाव खल्बलाउँदै राष्ट्र नै बिखण्डन गर्ने बताए । उनले तराईमा मधेश छुट्टै देशको नारा लगाउँदा प्रशासन मौन बसेको भन्दै सरकारको यस्तै अकर्मन्यताले आवाज बढ्दै गएर देश विखण्डनमा पुग्नसक्ने खतरा रहेको औंल्याए ।

अध्यक्ष थापाले राप्रपाले फागुन २७ गतेबाट हिन्दु राष्ट्र निर्माणलाई प्रमुख मुद्धा बनाएर जन संघर्ष शुरु गर्ने बताए । जन संघर्ष राजसंस्थाको पुर्नस्थापना, संघीयता खारेजी, भ्रष्टाचार नियन्त्रण, सुशासनका लागिपनि भएको स्पष्ट पारे । उनले जन संघर्षलाई बेवास्ता गरे त्यसको परिणाम राम्रो नहुने चेतावनी दिए ।

अध्यक्ष थापाले पूर्व सहमति अनुसार आएमात्र तीन राप्रपा बिच एकीकरण हुने बताए । उनले भने,‘पहिले सबै कुरामा सहमति भइसकेको थियो, पशुपति समसेर र प्रकाशचन्द लोहनीले एक दिन ढिला गरेर भोलि घोषणा गरौं भन्नुभयो, तर पछि उहाँहरु आउनु भएन, पूर्व सहमति अनुसार आए जुनसुकै बेला उहाँहरुसँग एकीकरण हुन्छ ।’

अध्यक्ष थापाले पूर्व राजा ज्ञानेन्द्र पोखरा आउँदा उनलाई स्वागत गर्न आएको भीडले राजसंस्थाप्रति अझैपनि जनतामा आस्था र विश्वास छ भन्ने देखाएको बताए । उनले पोखरामा रहँदा पूर्व राजा ज्ञानेन्द्रसँग भेट हुने सम्भावना रहेको बताए । पूर्व राजा ज्ञानेन्द्र पुस २ गतेदेखी पोखरामा छन् । उनी १६ दिन पोखरामा रहने बताइएको छ । राप्रपा अध्यक्ष कमल थापा भने राप्रपा गण्डकी स्तरीय सम्मेलन तथा प्रशिक्षण कार्यक्रममा सहभागि हुन विहीबार पोखरा आएका हुन् ।

You might also like

Comments are closed.