पोखरा ।नेपाली कांग्रेसका पुराना नेता सिकन्दरकुमार गुरुङ (भोज)को निधन भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाका विश्वास पात्र गुरुङको आईतबार निधन भएको हो । रगत पातलो हुने हेपापाइटिस रोगबाट ग्रसित उनको पोखराको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको नेपाली कांग्रेस प्रचार विभाग सदस्य राजबहादुर गुरुङले जानकारी दिए । पुरानो घर कास्कीको अन्नपूर्ण गाउँपालिका भदौरेतामागी घर भई पोखरा ५ प्रस्याङमा पुष्प व्यवसाय गर्दै आएका गुरुङको सोमबार अन्त्येष्टी गर्ने तयारी गरिएको उनले बताए ।
निष्ठाको राजनीति गर्ने गुरुङ कांग्रेस सभापति देउवाका रुममेटसमेत हुन् । पञ्चायत कालको अन्त्य तिर अर्थात २०४६ साल अघि देउवा र गुरुङ १७ महिना काठमाडौंमा एउटै कोठामा बसेका थिए । पञ्चायतबिरुद्धको आन्दोलनले उग्र रुप लिएका बेला गुरुङको कोठामा देउवाले आश्रय लिएर आन्दोलनमा सहभागि हुने गरेका थिए । लौह पुरुष गणेशमानलाई आदर्श व्यक्ति मान्ने गुरुङ बिपीका बडिगाडपनि हुन् । स्याङ्जा गोली काण्डमा गुरुङले नै बिपीलाई जोगाएका थिए ।
आईतबार निधन भएका गुरुङ गत संसदीय निर्वाचनमा कास्की ३ को (ख)बाट उम्मेद्वार बनेका थिए । यद्वपी सो निर्वाचनमा उनी पराजित भए । उनलाई नेकपाका युवा नेता राजिव पहारीले पराजित गर्दै बिजयी भएका थिए । देउवाको रुममेट गुरुङले त्यतिबेला सोंच्दै नसोंचेको टिकट पाएका थिए । कास्कीको माछापुच्छ«े निवासी भीमबहादुर गुरुङका लागि टिकट माग्न गएका उनलाई देउवाले अरु होइन तिमी आफै उठ भन्दै टिकट दिएको गुरुङले टिकट पाएपछि कास्केली कांग्रेसीहरुलाई सुनाएका थिए ।
नेपाल विद्यार्थी संघबाट राजनीति शुरु गरेका नेता गुरुङ त्यागी र सादगी नेताका रुपमा परिचित छन् । देउवा पटक÷पटक प्रधानमन्त्री हुँदापनि उनले कहिल्यै लाभको पद लिएनन् । बरु उनी सँधै भन्ने गर्थे,‘मलाई केहि चाहिंदैन, देश बन्नुपर्छ ।’ पार्टीमा नेतृत्वका लागिपनि उनले कहिल्यै दाबी गरेनन् । नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसीले गुरुङ कांग्रेसको आदर्श व्यक्तित्व भएको बताउँदै उनको निधनले पार्टीलाई अपूरणीय क्षेति पुगेको प्रतिक्रिया दिए । उनले भने,‘सिकन्दर दाई हिंडेको बाटो हामी हिंड्न सके कांग्रेस साँच्चै बलियो हुन्थ्यो ।’
Comments are closed.