पोखरा । पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले कर्मचारीलाई परम्पराबादी प्रवृत्ति सुधार्न चेतावनी दिएका छन् । पोखरा महानगरपालिका वडा नम्बर २४ को हालै निर्माण गरिएको वडा कार्यालयको दोश्रो तल्लाको समुद्घाटन कार्यक्रममा बोल्दै उनले सेवा दिने परम्पराबादी प्रवृत्ति अझै हावी भएको बताउँदै त्यसलाई सुधार्न कर्मचारीलाई चेतावनी दिएका हुन् । अझैपनि कर्मचारीहरु सेवाग्राहीबाट कसरी पैसा झार्न सकिन्छ भनेर यो मिलेन, ऊ मिलेन भन्छन्, ‘उनले भने, ‘अब त्यसो गर्नु भएन, छिटो, छरितो र सहज ढंगले सेवा दिनुस्, जनताको मन जित्नुस् ।’
प्रमुख जिसीले महानगरका जनप्रतिनिधिहरुलाई सेवाग्राहीका कुरा सेकेण्डमा सुनेर मिनेटमा काम सक्न निर्देशनपनि दिए । प्रमुख जिसीले जनताको काम गर्दा आग्रहपूर्वाग्रह नराखी काम गर्नपनि आग्रह गरे । हामीले चुनाव लड्दा एउटा पार्टीबाट लड्यौं होला तर जनप्रतिनिधि त हामी सबै जनताको हो,’ ‘उनले भने, ‘त्यसैले कसैसँगपनि आग्रह पूर्वाग्रह नराखी जनताको काम गरिदिनुहोला ।’
हालै निर्माण भएको दोश्रो तलामा चार कोठाहरु रहेका छन् । दोश्रो तलामा वडाध्यक्ष, वडा सचिव र वडा सदस्यहरुको कार्यकक्ष बनाइएको पोखरा–२४ का वडाध्यक्ष ओम सुबेदीले जानकारी दिए । तला थप्न ३३ लाख ४५ हजार रुपैयाँ लागेको उनले बताए ।
Comments are closed.