कार र्याली सहभागीलाई पोखरामा रोटरीको स्वागत

आर्थिक आवाज
पोखरा, २८ पुस । विभिन्न उद्देश्यका साथ कार ¥यालीमा निस्किएको भारतको एक टोलीलाई शुक्रबार पोखरामा स्वागत गरिएको छ । यहाँका विभिन्न रोटरी क्लवहरुले संयुक्त रुपमा सो टोलीलाई स्वागत गरेको हो । पोलियो रोग तथा जलवायु परिवर्तनका बारेमा जनचेतना जगाउने उद्येश्यले मुम्बैबाट २२ जनाको टोली २१ दिने ¥यालिमा निस्किएको हो ।

भुटानका विभिन्न स्थानको भ्रमण पश्चात नेपाल छिरेको टोली धनगढी, बुटबल, लुम्बिनी हुँदै शुक्रबार पोखरा आइपुगेको थियो । स्वागत कार्यक्रममा बोल्दै टोली प्रमुख सुवोध जोशीले यो भ्रमण अन्तर्राष्ट्रिय सम्बन्ध कायम गर्न पनि सफल भएको दावी गरे । भारतमा प्रधानमन्त्रि नरेन्द्र मोदीले थालेको ‘स्वच्छ भारत’ अभियानले भारतलाई स्वच्छ राख्न ठूलो भूमिंका निर्वाह गरेको बताउँदै यस्ता अभियान नेपालले पनि थाल्नुपर्नेमा उनले सुझाव दिए । त्यस्तै ¥यालिकै सदस्य रञ्जनी मुलेले पर्यटन प्रवद्र्धनका लागि पनि यस्तो कार्यक्रम सिद्ध हुने औल्याए ।

टोलीलाई रोटरी क्लब अफ पोखरा, पोखरा मिडटाउन, अन्नपूर्ण, फिष्टेल, लेखनाथ, लेकसाइड, न्यूरोड लगायत क्लबका पदाधिकारीहरुले सम्मानका साथ स्वागत गरेका थिए । भ्रमण टोलीले पोखरेलीको आतिथ्यताप्रति कृतज्ञता जाहेर गर्दै नेपाल र भारतबीच सदियौदेखि भाइचाराको प्रगाढ सम्बन्ध रहँदै आएकोमा खुसि व्यक्त गरे ।

सो अवसरमा असिस्टेण्ट गर्भनर रविप्रसाद बराल, रोटरी क्लव अफ पोखरा फिष्टेलका निवर्तमान अध्यक्ष लक्ष्मी गिरी, रोटरी क्लब अफ मिडटाउनका पूर्वअध्यक्ष केशव आचार्य, रोटरी क्लब अफ फिष्टेलका अध्यक्ष बाबुराम पाठक लगायतले यहाँका रोटरी क्लबहरुका गतिविधीबारे प्रकाश पारेका थिए । त्यस्तै, पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवि पोखरेल पोखराको पर्यटनबारे टोलीलाई अवगत गराउँदै आगामी दिनहरुमा पनि पोखरा घुम्नका लागि निम्तो प्रदान गरेका थिए । भ्रमण टोली ८ हजार किलोमिटर दूरी पार गर्दै पुन मुम्बै फर्कनेछ ।

You might also like

Comments are closed.