कावासोतीमा राष्ट्रिय सहकारी बैंकको ४४ औं शाखा, सहकारीलाई व्यावसायिक कार्यमा केन्द्रीत गरौं : अध्यक्ष बडाल

कावासोती (नवलपुर), १७ असार ।

नेपालको सहकारी अभियानको शिर्षस्थ निकाय राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडालले सहकारीको जागरण अभियान प्रभावकारी बन्दै गएकोले अब सहकारी क्षेत्रलाई व्यावसायिकतातर्फ केन्द्रीत गर्नु पर्नेमा जोड दिए । सहकारी क्षेत्रको एक मात्र बैंक राष्ट्रिय सहकारी बैंक लिमिटेडको ४४ औं शाखाको नवलपुरको कावासोतीमा शनिवार उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

सहकारीका बारेमा आम जनतालाई जानकारी गराउने, विपन्न वर्गका जनतालाई सहकारी अभियानमा सहभागी गराउने तथा सहकारीमार्फत आयआर्जन गर्ने काममा सहकारीहरु अब्बल बनिसकेकाले अबको सम्पूर्ण ध्यान व्यावसायिकतातर्फ केन्द्रीत गर्नु पर्नेमा उनले जोड दिए । सहकारी क्षेत्रमा रहेको श्रम, सीप र पूँजिलाई व्यावसायिक क्षेत्रमा केन्द्रीत गर्न सक्यौ भने राज्यले अंगिकार गरेको तीन खम्बे अर्थनीति अनुसार समाजवाद उन्मुख अर्थतन्त्र निर्माणमा सहजता आउने उनको भनाई छ ।

सहकारीका सदस्यहरुले ब्याज कति आयो, नाफा कति भयो भन्ने र सहकारीका सञ्चालकहरुले सदस्यहरुलाई कसरी नगदमा नाफा दिन सकिन्छ भनेर होडवाजी गर्ने हो भने सहकारीको मुल लक्ष्य प्राप्ति हुन सक्दैन, अध्यक्ष बडालले भन्नुभयो–सहकारीको लक्ष्य र राज्यको उदेश्य पुरा गर्नका लागि सहकारीहरुलाई व्यावसायिक क्षेत्रमा केन्द्रीत गर्नै पर्छ । राष्ट्रिय सहकारी बैंकले देशभरका सबै विषयका सहकारीहरुलाई वित्तीय लगायत शिक्षा तालिम र प्रविधिहरुका बारेमा सहयोग गर्ने भएकाले समन्वय गरेर व्यावसायिक योजनाका साथ अगाडि बढ्न उनले सबै सहकारीकर्मीहरुलाई आव्हान गरेका छन् ।

कार्यक्रममा महासंघका सञ्चालक तथा नेफ्स्कुनका महासचिव चन्द्र प्रसाद ढकालले सहकारीहरुलाई उत्पादनमा केन्द्रीत गर्नका लागि वित्तीय सहयोग र आवश्यक प्रविधिका लागि समेत सहकारी बैंकसंग सहकार्य गरेर अगाडि बढ्न नवलपुर क्षेत्रका सहकारीहरुलाई आव्हान गरे । सहकारीहरुको प्रवद्र्धनका लागि स्थापना भएको बैंकका पैसा नराखेर सहकारीसंग सरोकार नै नभएका वित्तीय क्षेत्रमा सहकारीको रकम राखिएको भन्दै उनले सहकारी क्षेत्रको सबै रकम सहकारीकै बैंकमा आउनु पर्नेमा जोड दिए ।

कार्यक्रममा नेफ्स्कुनका सञ्चालक शान्ति अधिकारी र जिल्ला वचत तथा ऋण सहकारी संघ नवलपरासीका अध्यक्ष माधवप्रसाद गौतमले सहकारी बैंकको कावासोती शाखाबाट अधिक भन्दा अधिक सेवा सुविधा लिनका लागि सहकारी संघ संस्थाहरुलाई आव्हान गरे । कार्यक्रममा बैंकको अवस्थाका बारेमा बैंकका प्रवन्ध सञ्चालक के.बी. उप्रेती र लेखा समितिका संयोजक कुलचन्द्र अधिकारीले जानकारी गराएका थिए ।

जिल्ला सहकारी संघ नवलपरासीका सचिव तिलक पराजुलीले जिल्लाको सहकारीको अवस्था, नवलपुर क्षेत्रका सहकारीको वित्तीय तथा अन्य सेवा लगायतका विषयमा जानकारी गराएका थिए ।

कार्यक्रम बैंकका अध्यक्ष रमेशप्रसाद पोखरेलको अध्यक्षता, सञ्चालक रामबहादुर जिसीको सञ्चालन र कावासोती शाखाका प्रमुख अरुणा अधिकारीको स्वागतमा सम्पन्न भएको थियो । यसैबीच शाखा उद्घाटनकै दिन सुस्ता पूर्वका सहकारी संघ संस्थाहरुले १२ करोड भन्दा बढी निक्षेप संकलन गरेको शाखाका कर्मचारी नारायण ढकालले जानकारी दिए ।

नवलपुर क्षेत्रमा करिव २ सय ५० सहकारी संघ संस्था रहेका छन्, ति सहकारीले वार्षिक १० अर्ब भन्दा बढीको कारोबार गर्दै आएका छन् । सबै सहकारीले तरलताको रकम मात्रै राष्ट्रिय सहकारी बैंकमा कारोबार गरेमा वार्षिक २ अर्व भन्दा बढीको कारोबार कावासोती शाखाबाट हुने जिल्ला सहकारी संघ नवलपरासीका सचिव तिलक पराजुलीले बताए ।

देशभरका १० हजार बढी सहकारी संघ संस्थाहरु सदस्य रहेको बैकमा १ अर्ब शेयर रकम, १४ अर्ब निक्षेप र १२ अर्ब कर्जा लगानी र १८ अर्बको कुल कारोबार गरेको बैंकमा हाल ३ सय जना कर्मचारी कार्यरत छन् ।

You might also like

Comments are closed.