सन्देश श्रेष्ठ/पोखरा
कास्कीका शैक्षिक परामर्शदाता संस्था (एजुकेसनल कन्सल्टेन्सी)मा आधा अर्ब भन्दा बढीको लगानी भएको छ । उच्च शिक्षाका लागि विदेश अध्ययन गर्न जाने विद्यार्थीलाई लक्षित गरेर पोखरामा खोलिएका कन्सल्टेन्सीमा ५० करोड भन्दा बढीको लगानी भएको हो । सामान्य कन्सल्टेन्सीले कम्तिमा पनि १५ लाख र बढीमा १ करोड रुपैयाँसम्म लगानी भएका कन्सल्टेन्सी पोखरामा रहेको नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्कीले जनाएको छ ।
इक्यान कास्कीका अध्यक्ष मीलन तिवारीका अनुसार कास्कीमा २ सय बढी एजुकेसनल कन्सल्टेन्सी छन् । ती मध्ये एक सय वटा कन्सल्टेन्सी शिक्षा मन्त्रालयबाट एप्रुभल लिएका छन् । शिक्षा मन्त्रालयबाट एप्रुभल लिएका मध्येका ४५ वटा कन्सल्टेन्सी मात्र इक्यानमा आबद्ध छन् । त्यस्तै करिब १० वटा कन्सल्टेन्सीले काठमाडौंको ब्राञ्चका रुपमा काम गर्ने गरेका छन् । दि नेक्स्ट, काठमाडौं इन्फोसिस, ओली एन एसोसियट, एइसिसी ग्लोवल सेन्ट्रल कलेजलगायतका काठमाडौंका कन्सल्टेन्सीहरुका पोखरामा शाखा छन् ।
त्यसबाहेक करिब १ सय वटा कन्सल्टेन्सीले शिक्षा मन्त्रालयबाट एप्रुभल लिइनसकेको अध्यक्ष तिवारीले जानकारी दिए । उनका अनुसार करिब ४० वटाले एप्रुभका लागि शिक्षा मन्त्रालयमा आवेदन दिएका छन् भने अन्यले आवेदनसमेत दिएका छैनन् ।
यसरी शिक्षा मन्त्रालयबाट एप्रुभल नलिनेहरु घरकै एउटा कोठामा कन्सल्टेन्सी सञ्चालन गर्नेहरु पनि रहेको अध्यक्ष तिवारीले बताए । घरको सानो कोठामा त्यो पनि एप्रुभल नलिई चलाउँदा उनीहरुबाट विद्यार्थी ठगिने सम्भावना रहेको उनको भनाई छ । त्यस्तै उनीहरुले पठाएका विद्यार्थीको भिसा क्यान्सिल भएको अवस्थामा उनीहरुबाट त्यस्ता विद्यार्थीको पैसा फिर्ता गर्ने सामथ्र्य नहुँदा समस्या हुने बताउँदै उनले भने, ‘त्यस्ता कन्सल्टेन्सीले गर्दा विद्यार्थीले पनि हैरानी बेहोर्नु पर्छ भने हामी व्यवस्थित रुपमा कन्सल्टेन्सी चलाउनेहरुको पनि बदनाम हुनेगर्छ ।’ यसलाई अनुगमन गरेर नियमन गर्न आवश्यक रहेको तिवारीले बताए ।
पोखराका कन्सल्टेन्सीहरुमा करिब एक हजार जनाले रोजगारी पाएको इक्यान कास्कीका सचिव भुवनबहादुर क्षेत्रीले जानकारी दिए । उनका अनुसार साना कन्सल्टेन्सीले कम्तिमा पनि ५÷६ जनालाई रोजगारी दिने गरेका छन् । ठूला कन्सल्टेन्सीले १० देखि १५ जनासम्मलाई रोजगारी दिने गरेका छन् । स्वयम लगानीकर्ताहरु पनि स्वरोजगार हुँदा बेरोजगार घटाउन पनि यसले भूमिका खेलेको उनको भनाई छ । शिक्षा मन्त्रालयबाट एप्रुभ लेटर लिएर कन्सल्टेन्सी चलाएकाहरुले दर्ता नभई चलेका कन्सल्टेन्सीहरुलाई कार्वाहीको माग गर्ने गरेका छन् । त्यस्ता कन्सल्टेन्सीका कारण आफूहरुले बदनामी भोग्नुपरेको उनीहरुको भनाई छ ।यसैगरी उनीहरुले विदेश गएका विद्यार्थीको ट्यूसन फि तिर्नका लागि ईन्सुरेन्सको ब्यबस्था गर्न आवाज उठ्न थालेको छ । नेपालबाट गएका विद्यार्थीहरु त्यहाँ पुगेपछि पढाई त्याग्ने, अलपत्र हुने, भाग्ने लगायतका समस्यबाट मुक्तिका लागि ईन्सुरेन्स पोलिसी अपनाउनुपर्ने इक्यान कास्कीका अध्यक्ष मीलन तिवारीले बताए ।
Comments are closed.