कास्कीका बन्द सुनचाँदी पसल मंगलबारबाट खुल्ने

आर्थिक आवाज
पोखरा, १२ भदौ । आइतबार र सोमबार दुई दिनसम्म बन्द रहेका कास्कीका सुनचाँदी पसलहरु मंगलबारबाट खुल्ने भएका छन् । चाडपर्वको मुखमा सुनचाँदी व्यवसायीहरु व्यवसाय नै बन्द गरेर आन्दोलनमा उत्रिएका थिए ।

सुनचाँदी व्यवसाय सम्बन्धी निर्देशिकाको अभाव, सुनको अभाव र सुनको असमान वितरणका विरुद्ध व्यवसायीले दुई दिनसम्म व्यवसाय नै बन्द गरेका थिए । सुनचाँदी व्यवसायी संघ कास्की र नेपाल सुनचाँदी रत्न तथा आभूषण व्यवसायी संघ कास्कीको अगुवाईमा व्यवसाय बन्द गरिएको थियो ।

कास्कीमा दैनिक ४ किलो सुनको माग भएपनि राष्ट्रबैंकले सातामा जम्मा ३ किलो सुन मात्र उपलब्ध गराउँदै आइरहेको व्यवसायीहरु बताउँछन् । नेपालमा राष्ट्रबैंकले नेपालमा दैनिक २० किलो सुन व्यवसायीलाई उपलब्ध गराउँछ । उपलब्ध सुन मध्ये काठमाडौंका तीन जिल्लालाई ६० प्रतिशत र बाँकी ७४ जिल्लालाई जम्मा ४० प्रतिशत सुन वितरण हुँदै आइरहेको छ । यो असमान सुन वितरण प्रणालीको अन्त्य हुनुपर्ने व्यवसायीहरुको माग छ । माग पुरा नभएर आगामी दिन पुन आन्दोलन गर्ने व्यवसायीहरु बताउँछन् ।

You might also like

Comments are closed.