कास्कीका सुनचाँदी व्यवसायी आन्दोलित, दुई दिनसम्म व्यवसाय बन्द (विज्ञप्तिसहित)

माग पुरा नभए अनिश्चितकालीन व्यवसाय बन्द गर्ने चेतावनी

सुरेन्द्र पौडेल
पोखरा, ९ भदौ । कास्कीका सुनचाँदी व्यवसायी आन्दोलित भएका छन् । सुनचाँदी व्यवसाय सम्बन्धी निर्देशिकाको अभाव, सुनको अभाव र सुनको असमान वितरणका विरुद्ध व्यवसायी आन्दोलित भएका हुन् । माग अनुसार सुनको अभाव भएपछि कास्कीमा आइतबार र सोमबार सुनचाँदी व्यवसाय नै बन्द गरिएको छ ।

सुनचाँदी व्यवसायी संघ कास्की र नेपाल सुनचाँदी रत्न तथा आभूषण व्यवसायी संघ कास्कीको संयुक्त बैठकले भदौ १० र ११ गते कास्कीमा सुनचाँदी व्यवसाय बन्द गर्ने निर्णय भएको हो । सुनचाँदी व्यवसायी संघ कास्कीका कार्यबहाक अध्यक्ष भविन्द्र विश्वकर्मा र नेपाल सुनचाँदी रत्न तथा आभूषण व्यवसायी संघ कास्कीका अध्यक्ष किसान सुनारले संयुक्त विज्ञप्ति जारी गरी चाडपर्वको समयमा सुन अभावका कारण व्यवसाय नै बन्द गर्नुपर्ने अवस्था आउनु दुःखद भएको बताए ।

‘बिगत लामो समयदेखि सुनचाँदी व्यवसाय सञ्चालन गर्नका लागि छुट्टै निर्देशिका जारी गर्न हामी व्यवसायीहरु संघर्ष गर्र्दै आएकोमा हालसम्म निर्देशिका नबनेकाले व्यवसाय सञ्चालन गर्न निकै अप्ठ्यारो भएकाले तत्काल निर्देशिका जारी गरियोस,’ विज्ञप्तिमा भनिएको छ ।

कोटा प्रणाली अन्तर्गत नेपाल राष्ट्र बैंकद्वारा उपलब्ध गराइने सुन १ केजीको परिणाममा मात्र रहेको हुँदा व्यवसायीहरुलाई असहज भएको भन्दै ५० ग्राम, १ सय ग्राम र ५ ग्रामको परिणाममा समेत सहजै सुन उपलब्ध गराउन माग गरिएको छ । ‘झिटी गुन्टा मार्फत आउने सय ग्राम सुनमा साबिककै अवस्था अनुरुप व्यवस्था गरियोस्,’ विज्ञप्तिमा भनिएको छ, ‘नेपाल राष्ट्र बैंकले सुन आपूर्तिमा लगाएको सिन्डिकेट अन्त गरियोस् ।’

नेपालमा राष्ट्रबैंकले दैनिक २० किलो सुन व्यवसायीलाई उपलब्ध गराउँछ । उपलब्ध सुन मध्ये काठमाडौंका तीन जिल्लालाई ६० प्रतिशत र बाहिर ७४ जिल्लालाई जम्मा ४० प्रतिशत सुन वितरण हुँदै आइरहेको छ । यो असमान सुन वितरण प्रणालीको पनि अन्त्य हुनुपर्ने व्यवसायीहरुको माग छ । दुई दिनसम्म व्यवसाय नै बन्द गरेर आन्दोलन गर्दासमेत माग पुरा नभए थप आन्दोलन गरी अनिश्चितकालीन व्यवसाय बन्द गर्ने विज्ञप्तिमार्फत चेतावनी दिइएको छ ।

 (विज्ञप्तिसहित)

footwear
सम्बन्धित खवर
baba hardware
टिप्पणिहरु
Loading...