कास्कीको सिक्लेसमा बन्यो शान्ति स्मारक, प्रचण्डले उद्घाटन गर्ने

सन्देश श्रेष्ठ
पोखरा, २० मंसीर

शान्ति प्रक्रियाको प्रस्थान बिन्दु मानिने सिक्लेसमा शान्ति स्मारक निर्माण सम्पन्न भएको छ । कास्कीको मादी गाउँपालिकामा पर्ने सिक्लेसमा करीब १५ लाखको लागतमा शान्ति स्मारक निर्माण गरिएको हो । मादी गाउँपालिकाको १० लाख, शान्ति स्मारक निर्माण गरिएको सम्बन्धित वडा मादी गाउँपालिका वडा नम्बर १ को १ लाख र स्थानियको ४ लाख वरावरको श्रमदान गरी १५ लाखको लागतमा सिक्लेसमा शान्ति स्मारक निर्माण गरिएको विहीबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । करीब डेढ रोपनी क्षेत्रफलमा २० वटा भाव झल्कनेगरी स्मारक निर्माण गरिएको बताईएको छ । यसमा केहि सरप्राइज रहेको भन्दै त्यो समुद्घाटनमा थाहा हुने मादी गाउँपालिकाका अध्यक्ष बेदवहादुर गुरुङले बताए । ३ महिना लगाएर निर्माण गरिएको यस स्तम्भ परिसरमा अर्काइभमार्फत शान्ति प्रक्रियाका विभिन्न झलक तथा जानकारी गराइने ब्यबस्था हुने उनले बताए ।

जनयुद्धबाट शान्ति प्रक्रियामा आउने वातावरण निर्माणका लागि तत्कालिन द्वन्द्वरत पक्ष नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, अर्का नेता बाबुराम भट्टराई सिक्लेसमा आजभन्दा १२ वर्षपहिले पहिलोपटक सार्वजनिक भएका थिए । उनीहरु २०६३ साल असार २ गते सिक्लेसमा सार्वजनिक भएका थिए । तत्कालिन सरकारी वार्ता टोलीका संयोजक कृष्णप्रसाद सिटौलाले माओवादी नेताहरु प्रचण्ड र बाबुरामलाई हेलिकोप्टरमार्फत सिधै काठमाडौं पु¥याएका थिए ।

सो दिनलाई ऐतिहासिक दिन मान्दै मादी गाउँपालिकाले सोहि दिनको सम्झना स्वरुप शान्ति स्तम्भ निर्माण गरेको मादी गाउँपालिकाका अध्यक्ष बेदबहादुर गुरुङ ‘श्याम’ले बताए । उनले भने,‘शान्ति प्रक्रियाको लागि प्रचण्ड, बाबुराम सिक्लेसमा उत्रिएको ऐतिहासिक दिन हो, यो शान्ति प्रक्रियाको प्रस्थान बिन्दु हो, त्यहिंबाट विद्रोह शान्तिमा रुपान्तरण भएको हो, त्यसैले यसैको सम्झना स्वरुप हामीले शान्ति स्मारक बनाएका हौं ।’

अध्यक्ष गुरुङले शान्ति स्मारकले विद्रोहको शान्तिपूर्ण रुपान्तरणको पाइलालाई चीरस्थायी रुपमा सम्झाउने उनले बताए । यसले द्वन्द्वको विभिषिकाबाट पाठ सिक्दै समाज रुपान्तरणका कामलाई पनि निरन्तरता दिन नेतृत्वलाई दवाब दिने उनको विश्वास छ । नयाँ पुस्तालाई इतिहासको आलोचनात्मक समीक्षा गर्नपनि झकझकाईरहने उनको विश्वास छ । साथै विश्वसामु नेपालको द्वन्द्व ब्यबस्थापनको उदाहरणीय बाटो सम्झाइरहन पनि भूमिका खेल्ने उनको जिकिर छ ।

शान्ति स्मारकले पर्यटक आगमनमा पनि सघाउ पु¥याउने उनले बताए । उनले भने,‘शान्ति स्मारकले नेपाल मात्र नभई नेपालको शान्ति प्रक्रियाको पहिलो पाइला चालिएको ठाउँ सिक्लेसलाई विश्वमै परिचित गराउनेमा हामी ढुक्क छौं ।’

प्रचण्डले उद्घाटन गर्ने

शान्ति स्मारकको नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने मादी गाउँपालिकाका अध्यक्ष बेदबहादुर गुरुङ श्यामले जानकारी दिए । शान्ति प्रक्रियाका लागि सिक्लेसमा प्रकट भएका तत्कालिन विद्रोही पक्षका सर्बोच्च कमाण्डर भएकाले प्रचण्डकै हातबाट स्तम्भ समुद्घाटन गर्न लागिएको उनले प्रष्ट पारे । समुद्घाटन कार्यक्रममा तत्कालिन सरकारी पक्षका वार्ता टोली संयोजक कृष्णप्रसाद सिटौला र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पनि सहभागी हुने उनले जानकारी दिए ।

स्विजरल्याण्ड भन्दा राम्रो बनाउने प्रचण्डको बाचा सम्झाइने

शान्ति स्तम्भको समुद्घाटनका बेला प्रचण्डलाई स्थानियले विगतको बाचा सम्झाउने भएका छन् । विद्रोहबाट शान्ति प्रक्रियामा आउने क्रममा पहिलोपटक सिक्लेसमा प्रकट हुँदा प्रचण्डले सिक्लेसलाई स्विजरल्याण्ड भन्दा पनि राम्रो बनाईदिने बचन दिएकाले सो बाचा समुद्घाटनका बेला सम्झाइने मादी अध्यक्ष गुरुङले बताए । उनले भने,‘यस पटक हामीले प्रचण्डलाई सडक मार्गबाट सिक्लेस लैजाँदै छौं, यसो गर्नुको कारण हो, बाटोको अवस्था जानकारी गराउने, सो बेला हामी आफैले गरेको बाचालाई पनि स्मरण गराउँछौं ।’

शान्ति स्मारकनिर्माण गरिएको क्षेत्रको प्रतिनिधित्व गर्ने गण्डकी प्रदेश सभा सदस्य मनबहादुर गुरुङले शान्ति स्तम्भको समुद्घाटनमार्फत प्रचण्डलाई सिक्लेसबासीसँग भेटाउने र बाचा सम्झाउने प्रयास गरिएको बताए । उनले प्रचण्डलाई काहुँखोलादेखी सिक्लेससम्मको बाटो निर्माणका लागि आग्रह गरिने बताए ।

You might also like

Comments are closed.