कास्कीमा निषेधाज्ञा लम्बिन सक्ने, तर खुकुलो बनाइने

 

सन्देश श्रेष्ठ

पोखरा

कास्कीमा गत भदौ ३ गते मध्यरातबाट लगाइएको निषेधाज्ञा लम्बिने भएको छ । भोलि मध्यरातबाट सकिन लागेको निषेधाज्ञा लम्ब्याउने तयारी भएको हो । निषेधाज्ञा लम्बिने भएपनि केहि खुकुलो बनाइने जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ । केहि खुकुलो बनाएर कसरी निषेधाज्ञा लम्ब्याउन सकिन्छ भन्ने कोणबाट छलफल चलिरहेको कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले जानकारी दिए ।

लकडाउन वा निषेधाज्ञा अन्तिम विकल्प नभएकाले अन्य विकल्पहरुबारे छलफल भइरहेको प्रजिअ ढकालले बताए । निषेधाज्ञा सँधैभरी लागु गरेर त हुँदैन, उनले भने,‘त्यसो भनेर पूरै खोल्न सक्ने स्थितिपनि छैन किनभने संक्रमण फैलिएर उग्र रुप लियो भने कन्ट्याक्ट ट्रेसिङसमेत गर्न सकिदैन । त्यस्तो स्थिति नआओस् भन्ने नै हो हाम्रो चाहना । त्यसैले हामी उपयुक्त विकल्पको खोजीमा छौं ।’

विकल्पको खोजी गर्ने क्रममा केहि खुकुलो बनाएर निषेधाज्ञा लम्ब्याउनु पर्छ कि भन्ने सुझाव बलियो रुपमा आएको प्रजिअ ढकालले बताए । छलफलमै छौं हामी, उनले भने,‘अहिलेको निषेधाज्ञा प्रभावकारी भएको छ, निषेधाज्ञा प्रभावकारी भएकैले संक्रमण फैलिन पाएको छैन, त्यसैले निषेधाज्ञा लम्ब्याउनुपर्छ भन्नेमा धेरैको जोड छ । तर केहि खुकुलो बनाएर लम्ब्याउँदा उपयुक्त हुन्छ भन्ने सुझाव आएको छ ।’ सरकारी कार्यालय, वैंक तथा वित्तिय संस्थाहरु खोलेर निषेधाज्ञा लम्ब्याउने मोडालिटीबारे छलफल चलिरहेको उनले बताए । उनले विज्ञ तथा स्थानिय तहसँगको छलफलबाट निर्णय हुने स्पष्ट पारे ।

निषेधाज्ञा लगाउन सिफारिस गर्ने पोखरा महानगरपालिकापनि निषेधाज्ञाको मोडालिटी परिवर्तन गर्नुपर्ने पक्षमा उभिएको छ । महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले आईतबार विहान कोरोना भाइरस रोकथाम तथा नियन्त्रण एवम् प्रतिकार्यका लागि बनाएको जिल्लास्थित कोभिड–१९ संकट ब्यबस्थापन केन्द्र (डिसीएमसी)ले निषेधाज्ञाको नया मोडालिटीबारे निर्णय गर्ने बताए । महानगरपालिका निषेधाज्ञा वा लकडाउन मात्रै समाधान होइन भन्ने पक्षमा छ,‘उनले भने,‘निषेधाज्ञाको विकल्पबारे छलफल गरिरहेका छौं, निषेधाज्ञा लम्ब्याएपनि फरक ढंगले लम्ब्याउनु प¥यो । त्यसका लागि केहि खुकुलो बनाउनुपर्छ कि भन्नेबारेमा छलफल भइरहेको छ ।’ उनले विज्ञहरुको राय नै अन्तिम निर्णय हुने बताए ।

You might also like

Comments are closed.