पोखरा ।
कोरोना भाइरस (कोभिड १९)को कारण सिथिल रुपमा रहेको अर्थतन्त्रलाई थोरैमात्रामा भए पनि चलायमान बनाउन कास्की जिल्ला भित्र लकडाउनलाई खुकुलो पार्न पोखरा चेम्बर अफ कमर्स कास्कीले माग गरेको छ ।
पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी र कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकाललाई ज्ञापनपत्र पेस गर्दै चेम्बरले कोरोना भाइरसको कारण उद्योगी व्यवसायीलाई परेको असरलाई कम गर्न लकडाउनलाई खुकुलो पार्न माग गरेको हो । चेम्बर अफ कमर्स कास्कीका बस्तुगत तर्फका उपाध्यक्ष तथा कोभिड १९ नियन्त्रण तथा न्युनिकरण उच्च स्तरीय समन्वय समितिका संयोजक यमनाथ पौडेलले स्वास्थ्य सतर्कता र सामाजिक दुरी कायम गरी उद्योग व्यवसाय सञ्चालन गर्ने व्यवस्था मिलाई दिन पोखरा महानगरपालिका र स्थानीय प्रशासनको ध्यानाकर्षण गराएको जानकारी दिए । ‘नेपाल सरकारको निर्देशनमा रोक्का गरिएका वाहेकका मझौला तथा साना व्यवसाय विहान १० देखि साँझ ५ बजेसम्म सञ्चालन गर्ने व्यवस्था मिलाउन अनुरोध गर्दछौं,’ज्ञापनपत्रमा भनिएको छ, ‘निर्माण सामाग्रीहरुको आपुर्ती साँझ ५ देखि राती १० बजेसम्म गर्ने व्यवस्था मिलाउन अपिल गर्दछौं ।’ होटल तथा रेष्टुरेन्ट व्यवसायीले प्याकिङ खाना उपलब्ध गराउने व्यवस्था गर्न माग गर्दै ज्ञापनपत्रमा सरकारले गर्ने हरेक अनुगमनमा चेम्बरको प्रतिनिधिको सहभागिता रहने व्यवस्था गर्न आग्रह गरिएको छ ।
चेम्बर अफ कमर्स कास्कीका महासचिव उमराज बास्तोलाले चेम्बरले विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डको पालना गरी उद्योग व्यवसाय गर्ने प्रतिवद्धता जनाएको बताए । पसलहरुका सामाजिक दुरी कायम गर्ने उल्लेख गर्दै ज्ञापनपत्रमा व्यवसाय गर्दा व्यवसायी र ग्राहकले पञ्जा, माक्स,सेनिटाइजर प्रयोग गर्ने प्रतिवद्धता जनाइएको छ । पसलमा आएका ग्राहकको नाम, ठेगाना, फोन सहितको रेकर्ड पुस्तिका तयार गर्ने जानकारी दिदै ज्ञापनपत्रमा ति सबै कार्यको अनुगमन सरकारी निकायले गर्ने व्यवस्था मिलाउन अनुरोध गरिएको छ ।
Comments are closed.