कास्कीमा होली शान्तिपूर्ण, होहल्ला गर्ने ६० जनालाई नियन्त्रण्मा लिएर छाडियो

सन्देश श्रेष्ठ
पोखरा, चैत ६

पोखरामा होली अवसरमा नियम उलंघन गर्ने ६० जनालाई प्रहरीले नियन्त्रणमा लिएर छाडेको छ । रंगहरुको पर्व होलीमा झैझगडा गर्ने, मापसे गरेर होहल्ला गर्ने, उच्छृङ्ल ब्यबहार गर्ने ६० जनालाई नियन्त्रणमा लिएर छाडिएको कास्की प्रहरीले जनाएको हो । विहानदेखी दिउँसो सम्म नियन्त्रणमा लिइएका उनीहरुलाई साँझ परिवारको जिम्मा लगाएर पठाएको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक रवीन्द्रमान गुरुङले बताए ।

त्यस्तै, ट्राफिक नियम उलंघन गर्ने ५० वटा मोटरसाइकल तथा स्कुटरलाई नियन्त्रणमा लिएको कास्की प्रहरीले बताएको छ । हेलमेट नलगाउने, जिकज्याक गरेर चलाउने, स्कुटर र मोटरसाइकलमा २ जना भन्दा बढी सवार गर्ने मोटरसाइकल तथा स्कुटरलाई नियन्त्रणमा लिइएको प्रवक्ता गुरुङले जानकारी दिए । उनीहरुलाई कार्वाही स्वरुप जरिवाना तिराएर छाडिने उनले बताए । कास्कीमा होलीको अवसरमा शान्ति सुरक्षा कायम गर्न विशेष सुरक्षा योजना बनाएर प्रहरी परिचालन गरिएको थियो । शान्ति सुरक्षाका लागि नेपाल प्रहरीका ५ सय ७ जना र सशस्त्र प्रहरीको करीब १५० जना खटाइएको प्रवक्ता गुरुङले बताए । उनले ८ वटा मेट्रो टोली र २५ वटा मोवाइल टोली तथा बाँकीलाई पैदल गस्तीमा खटाइएको बताए । यसैगरी पोखराका विभिन्न नाका तथा सहरी क्षेत्रमा ४४ ठाउँमा चेकिङ राखेर ट्राफिक चेकजाँच गरिएकोपनि उनले बताए ।

कास्कीमा सामान्य झैझगडाबाहेक शान्तिपूर्ण रुपमा होली सकिएको प्रवक्ता गुरुङले जानकारी दिए । उनले भने,‘सामान्य झैझगडाबाहेक कास्कीमा शान्तिपूर्ण रुपमा होली सम्पन्न भयो ।’ लेकसाइडक क्षेत्रमा नसोंचेको भीड भएपनि शान्ति सुरक्षा कायम गर्न प्रहरी सफल भएको उनले बताए ।

You might also like

Comments are closed.