कास्की समाजलाई कम्प्युटर हस्तान्तरण

पोखरा । कास्की समाज अन्तर्राष्ट्रिय समन्वय परिषद् नेपाल च्याप्टरलाई कास्की पोखरा समाज जापानले कम्प्युटर हस्तान्तरण गरेको छ । परिषद्का अन्तर्राष्ट्रिय उपाध्यक्ष सुन्दर पौडेल र कास्की पोखरा समाज जापानका संरक्षक शिवप्रसाद पौडेलले संयुक्त रूपमा नेपाल च्याप्टरका संयोजक निरज थापालाई एक समारोहबिच कम्प्युटर प्रदान गरेका थिए ।

अन्तर्राष्ट्रिय उपाध्यक्ष सुन्दर पौडेलले आफ्नो मूल थलो कास्कीबाट जापानमा गएर विभिन्न पेशा व्यवसायमा संलग्न सहयोगी मनहरूले रकम संकलन गरी घरदेशमा रहेको सचिवालयलाई प्रविधि मैत्री बनाउँदै संसारभरि छरिएका कस्केलीहरूलाई एकिकृत गर्नका लागि कम्प्युटर उपलब्ध गराएको जनाए ।

कास्की पोखरा समाज जापानका संरक्षक शिवप्रसाद पौडेले सचिवालय बलियो र दरियो भयो भने नै हामी परदेशमा रहनेहरू खुशी हुन्छौं, अब हामीलाई चिठी पत्रले होइन प्रविधिले जोड्ने छ भने । उनले आगामी दिनमा आवश्यकता अनुसार सचिवालयलाई निरन्तर सहयोग गर्ने जानकारी दिए ।

नेपाल च्याप्टरका संयोजक निरज थापाले मनकारी मनहरूलाई धन्यवाद र आभार व्यक्त गर्दै भोलिका दिनमा सचिवालयलाई स्रोत साधन सम्पन्न बनाई सामाजिक र विकासका काममा लागि पर्ने प्रतिवद्धता जनाए ।

जापानमा रहेका कस्केली शिवप्रसाद पौडेल, सुन्दर पौडेल, विश्व सुवेदी, विकास पौडेल र विकास श्रेष्ठले रकम संकलन गरी जापान कै तोसिवा ब्राण्डको कम्प्युटर नेपाल च्याप्टरलाई दिएका थिए ।

‘विश्वभरि छरिएका कस्केलीको खोजी अभियान, समृद्ध जन्मथलो हाम्रो स्वाभिमान’ मूल उद्घोषका साथ स्थापना भएको परिषद्ले यहि असोज २५ र २६ गते पोखरामा दोस्रो महाधिवेशन गर्दै छ । ४० देशबाट महाधिवेशनमा सहभागिता रहने जानकारी सहसंयोजक शोभाकर भण्डारीले दिए ।

You might also like

Comments are closed.