पोखरा, २१ कात्तिक । कास्की निर्वाचन क्षेत्र नम्बर–२ मा २५ जनाले उम्मेद्वारी दर्ता गरेका छन् । उप निर्वाचन अन्तर्गत मंसिर १४ गते हुने कास्की–२ मा १५ वटा दल र १० जना स्वतन्त्रले उम्मेद्वारी दर्ता गरेका हुन् । स्वर्गिय पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधन भएपछि खाली रहेको कास्की–२ मा हुने चुनावमा ठूला दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली कांग्रेस, समाजवादी पार्टीदेखि साझा र विवेकशील नेपाली दल सम्मले निर्वाचन आयोगले दिएको पूर्वाह्न १० बजेदेखि १ बजेसम्मको समयमा उम्मेद्वारी दर्ता गरेका छन् ।
कास्की–२ मा रवीन्द्रको उत्तराधिकारीका रुपमा उनकै पत्नी विद्या भट्टराईलाई उम्मेद्वार बनाएको नेकपाले तेश्रो नम्बरमा उम्मेद्वारी दर्ता ग¥यो । पूर्वाह्न १०ः४० मा उम्मेद्वारी दर्ता गरेकी विद्याको प्रस्तावक नेकपा कास्कीका अध्यक्ष कृष्ण थापा र समर्थक प्रदेश सांसदसमेत रहेकी नेकपा नेतृ प्रभा कोइराला बसेकी छन् ।
नेपाली कांग्रेसबाट पुराना नेता खेमराज पौडेलले उम्मेद्वारी दर्ता गरेका छन् । दिउँसो १२ः४० मा उम्मेद्वारी दर्ता गरेका पौडेलको प्रस्तावकमा देवराज चालिसे र समर्थकमा सोभियतबहादुर अधिकारी बसेका छन् ।
समाजवादी पार्टीबाट ईञ्जिनियर धर्मराज गुरुङ, राप्रपाबाट रोमबहादुर भण्डारी, राप्रपा संयुक्तबाट गंगा मल्ल, साझा पार्टीबाट रजनी केसी, विवेकशील नेपाली दलबाट जमुना सुबेदी, नेपाली कांग्रेस बिपीबाट चन्द्रबहादुर रानाभाट, नेकपा मालेबाट टेकनाथ भण्डारी, राष्ट्रिय जनमुक्ति पार्टीबाट पूर्णबहादुर राना, देशभक्त समाज पार्टीबाट बिरबहादुर विश्वकर्मा, मंगोल नेसनल अर्गनाइजेसनबाट रियाज गुरुङ, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट गजेन्द्र सुब्बा, नागरिक पार्टीबाट नवराज घले र राष्ट्रिय मुक्ति आन्दोलनबाट जयवन्त विक्रम सिंह शाहले उम्मेद्वारी दर्ता गरे ।
त्यस्तै स्वतन्त्र उम्मेद्वारी दर्ता गर्नेहरुमा कमलजंग कुँवर, यक्षप्रसाद पंगेनी, लक्ष्मीकुमारी भुजेल, सुनिल भुषाल, सुनिलबहादुर कोइराला, उमनाथ गौतम, दीपक रेग्मी, नवराज बास्तोला, रनबहादुर दमै र पुरुषोत्तम खनाल रहेका छन् ।
उम्मेद्वारी दर्ताका क्रममा दलहरुले शक्ति प्रदर्शन गरे । उम्मेद्वारी दर्ता गर्न केहि सिमित नेता कार्यकर्ता लिएर पुगेका दलहरुले पछि जुलुशसहित ¥याली निकाल्नुका साथै कोण सभासमेत गरेका थिए । नेकपाले पार्टी कार्यालय नयाबजारबाट जुलुश निकालेर पृथ्वीचोक, सृजनाचोकहुँदै रत्नचोकमा पुगेर कोणसभा गरेको थियो ।
नेपाली कांग्रेसले सभागृहचोकबाट जुलुश निकालेर सृजनाचोक, रत्नचोक, राष्ट्रवैंकचोकहुँदै ड्यामसाइडचोकमा पुगेर कोणसभा गरेको थियो । त्यस्तै समाजवादी दलले पोखरा सभागृहबाट जुलुश निकालेर सृजनाचोक, राष्ट्रवैंकचोकसम्म पुगेको थियो । राप्रपाले पृथ्वीचोकमा आमसभा गरेको थियो । राप्रपाको आमसभालाई कमल थापाले सम्बोधन गरेका थिए । त्यसलगत्तै शुरु भएको जुलुश सृजनाचोक, रत्नचोक, राष्ट्रवैंकचोकहुँदै पर्यटन बसपार्कसम्म पुगेको थियो । अन्य साना दल तथा स्वतन्त्र उम्मेद्वारहरु भने जुलुश ननिकाली उम्मेद्वारी दर्ता गर्न पुगेका थिए ।
प्रस्तावक र समर्थक नपाउँदा उम्मेद्वारी दर्ता गर्नबाट बञ्चित
धनुषाबाट उम्मेद्वारी दर्ता गर्न आएका डा.कृष्णचन्द्र प्रसाद शाह उम्मेद्वारी दर्ता गर्नबाट बञ्चित भएका छन् । उम्मेद्वारी दर्ता गर्न भनेर विहानै पोखरा आइपुगेका शाह प्रस्तावक र समर्थकले बार्गेनिङ गरेर मोटो रकम मागेपछि उनले उम्मेद्वारी दर्ता गर्न नपाएका हुन् । प्रस्तावक र समर्थक बस्नेहरुसँग एक किसिमको समझदारी भएको थियो,‘उनले भने,‘तर उम्मेद्वारी दर्ता गर्ने दिन आज एक्कासी मोटो रकम माग्नु जुन मैले स्वीकार्न सकिन, जसका कारण मैले चाहेरपनि उम्मेद्वारी दर्ता गर्न पाईन ।’
स्वतन्त्र उम्मेद्वारी दर्ता गर्न धनुषाबाट पोखरा आएका शाह तत्कालिन मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य हुन् । ६ वर्ष अघिदेखि फोरम लोकतान्त्रिक छाडेको बताउने शाहले राष्ट्रियता बलियो बनाउन आफू कास्कीमा उम्मेद्वार बन्न आएको बताए । पहाडबाट मधेशमा गएर धेरैले चुनाव लडे,‘उनले भने,‘तर मधेशबाट पहाडमा आएर कोहिपनि चुनाव लडेन, जसका कारण राष्ट्रियता कमजोर भयो, एकअर्का माथि हेर्ने नजर र दृष्टिकोण खराब भयो, हो म त्यहि दृष्टिकोण बदलेर राष्ट्रियता बलियो बनाउन उम्मेद्वार बन्न आएको हुँ, तर मेरो प्रयास सफल भएन ।’