किरियापुत्री भवनका लागि तनहुँ अमेरिका सोसाइटीको साथ

तनहुँ, ७ असोज । तनहुँ अमेरिका सोसाइटीले तनहुँको व्यास नगरपालिका–३ मा निर्माणाधीन किरियापुत्री भवनको लागि ७ लाख रुपैयाँ सहयोग गरेको छ । अमेरिकाको विभिन्न शहरमा बसोबास गर्ने तनहुँवासीबाट संकलन भएको रकम बुधबार दमौलीमा एक कार्यक्रमको आयोजना गरी हस्तान्तरण गरिएको छ ।

सोसाइटीका महासचिव कृष्णजीवि पन्थले उक्त रकम जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने, किरियापुत्री भवन निर्माण समितिका अध्यक्ष उपेन्द्र लम्साललाई संयुक्त रुपमा हस्तान्तरण गरे । सो अवसरमा अमेरिकाको न्युयोर्क, बाल्टिमोर, भर्जिनिया, सनफ्रान्सिस्को, डालास, ह्युसटन लगायतका ठाउँमा बस्ने ४२ जनाले उपलब्ध गराएको रकम हस्तान्तरण गरिएको हो ।

सोसाइटीका महासचिव पन्थले विदेशमा रहेर पनि मातृभूमिलाई सहयोग गरौं भन्ने भावना आफूहरुमा सँधै रहिरहेको भन्दै किरियापुत्री भवन जस्तो सकरात्मक काममा सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरे ।  सो अवसरमा जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले विदेशमा रहेर पनि मातृभूमिका लागि सहयोग गर्नु ठूलो कुरा भएको भन्दै सोसाइटीलाई धन्यवाद ज्ञापन गरे ।

व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले सामान्य रुपले शुरु भएको अभियानमा अमेरिकाकाबाट समेत सहयोग प्राप्त हुनु मातृभूमिप्रतिको सद्भाव र माया भएको बताए । भवन निर्माण समितिका अध्यक्ष लम्सालले सबैको सहयोगले आफूहरुलाई हौसला थपेको भन्दै सहयोगदाताप्रति आभार व्यक्त गरे ।

You might also like

Comments are closed.