पोखरा ।
पोखराको नदीपुरमा स्थापना गरिएको महिला क्वारेन्टिनमा महिलाहरुलाई राख्न थालिएको छ । कुवेतबाट फर्किएका ७ जनालाई पोखरा–३ नदीपुरस्थित पद्म नर्सिङ हस्पिटलमा महिला क्वारेन्टिनमा राखिएको हो । कुवेतबाट फर्किएका महिलालाई महिला क्वारेन्टिनमा राखिएको पोखरा महानगरपालिकाकी उप–प्रमुख मञ्जुदेवी गुरुङले जानकारी दिइन् ।
महिलामात्रै राख्नेगरि सञ्चालनमा ल्याइएको महिला क्वारेन्टिनमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मी पनि महिला मात्रै हुने पोखरा महानगरपालिकाले जनाएको छ । कुवेतबाट आएकालाई राखेर शुरु गरिएको क्वारेन्टिनमा अन्यलाईपनि राख्छौं,‘महानगर उप–प्रमुख गुरुङले भनिन्,‘परिवारसँग आएकालाई छुटाएर यहाँ राख्दैनौं, महिला मात्रै आएकालाई यहाँ राख्ने हो ।’ महिला क्वारेन्टिन ५० जना अटाउने क्षमताको भएको अस्पतालले दाबी गरेको छ । तर अहिले २० जनाको लागि मात्रै तयारी गरिएको उप–प्रमुख गुरुङले बताइन् । ‘थप राख्नुपर्ने भयोभने पछि थप्दै जान्छौं’–उनले भनिन् ।
कुवेतमा २ महिना क्वारेन्टिनमा बसेर आएको बताउने उनीहरुले नेपाल आएपछि तनाव भोग्नुपरेको गुनासो गरेका छन् । काठमाडौंदेखि पोखरा आउन २६ घण्टा लगाएको, गाडीबाट उत्रिन नदिएको, खाना र पानीसमेत नदिई गाडीमा राखेको तथा मुग्लिनमा ६ घण्टा रोकेर राखेर तनाब दिएको उनीहरुको भनाई छ ।




Comments are closed.