पोखरा । गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले किसानलाई पचास प्रतिशत अनुदान दिने नीति सहि भएको दाबी गरेका छन् । प्रदेशको ‘भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयद्वारा सञ्चालित कार्यक्रमहरुको खर्च तथा प्रगति विवरण सार्वजनिक सुनुवाई’ कार्यक्रममा आइतबार बोल्दै मन्त्री थापाले किसानलाई कृषिमा गरेको लगानीको आधा रकम अर्थात पचास प्रतिशत अनुदान दिने नीति ठीक भएको बताएका हुन् । अहिले तोकिएको पचास प्रतिशत अनुदान घटाउन वा बढाउन दुबै गर्न जरुरी छैन,‘उनले भने,‘किनकि लागतको पचास प्रतिशत अनुदान पाए किसानपनि खुशी हुन्छन्, अन्य धेरैलाई दिनपनि पुग्छ ।’
मन्त्री थापाले नक्कली किसानले अनुदानका बारेमा अफवाह फैलाएको आरोप लगाए । अनुदान नपाउने झोले (नक्कली) किसान बन्नेहरुले अनुदानका बारेमा अफवाह फैलाएको उनको आरोप छ । उनले प्रदेशले वितरण गरेको अनुदान बास्तविक किसानले मात्रै पाएको दाबी गरे । प्रदेश सरकार आएपछि नक्कली किसान खारेज भएका छन्,‘उनले भने,‘त्यहि भएर आफूले नपाएपछि अनुदानका बारेमा बजारमा अफवाह फैलाएका छन् ।’ उनले आगामी दिनमा पनि बास्तविक किसानलाई मात्रै अनुदान वितरण गर्ने बताए ।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव दुर्गाप्रसाद दवाडीले कृषिमा कम बजेट छुट्टिनु विडम्वना भएको टिप्पणी गरे । कुल गाह्र्यस्थ उत्पादनमा ३६ प्रतिशत योगदान रहेको कृषिमा संघ सरकारले साढे २ प्रतिशत र प्रदेश सरकारले ५ प्रतिशत छुट्याएकोप्रति उनले रोष प्रकट गरे । कृषि प्रदान देशमा यति न्यून बजेट कृषिमा छुट्टिनु विडम्वना हो,‘उनले भने,‘यति बजेटले के गर्ने ? टाउको छोप्यो खुट्टा नाङ्गै, खुट्टा छोप्यो टाउको नाङ्गै भएजस्तै हुन्छ ।’
सचिव दवाडीलेपनि कृषिको अनुदान दुरुपयोग नहुने ज्ञारन्टी गरिने बताए । मन्त्रीज्यू र म सचिवलेपनि भ्रष्टाचार नगर्ने र गर्न नदिने प्रतिज्ञा गरेका छौं,‘उनले भने,‘त्यसैले अनुदानमा होस् कि अन्य ठाउँमा एक रुपैयाँपनि दुरुपयोग हुन दिदैनौं ।’
सचिव दवाडीले अनियमित तरिकाले खर्च गरेर बजेट खर्चको रकम बढाउनु भन्दा खर्च नगर्नु नै उत्तम हुने बताए । अनियमित तरिकाले खर्च गरेको भए शतप्रतिशत बजेट खर्च हुन्थ्यो,‘उनले भने,‘तर त्यसरी खर्च बढाउनु भन्दा खर्च नगर्नु नै राम्रो हुन्छ, बरु बजेट रहेमा पछि पुनः राम्रो काममा खर्चिन सकिन्छ ।’ उनले यस वर्ष साउनबाटै काम अघि बढ्ने भएकाले बजेट खर्च राम्रो हुने दाबी गरे । दशैं अगाडि नै किसानसँग सम्झौता भएर दशैंपछि काम शुरु भएकाले कामको प्रगति चालु आर्थिक वर्षमा राम्रो हुने उनको भनाई थियो । मन्त्रालयले राम्रो गर्ने कर्मचारीलाई पुरस्कार र नराम्रो गर्नेलाई दण्डसमेत दिने तयारी गरेको जानकारी गराए । उनले भने,‘ढुक्क हुनुस्,‘राम्रो गर्नेलाई पुरस्कृत गरिन्छ, नराम्रो गर्नेलाई दण्डपनि दिइन्छ ।’
Comments are closed.