कृषियोग्य समथर भूमि बचाएर डाँडामा बस्ती बसाउनुपछ : परिषद् अध्यक्ष शर्मा

‘कृषिको व्यावसायीकरण र पर्यटन प्रवद्र्धनका लागि रोपाईं महोत्सव’

केदारनाथ शर्मा
अध्यक्ष, पोखरा पर्यटन परिषद

पोखरा पर्यटन परिषदले असार १५ गते असारे रोपाईं महोत्सव गर्दैछ । ‘पोखरा सबैै मौषमका लागि’ नाराका साथ परिषद्ले वर्षेनी महोत्सव गर्दै आइरहेको छ । यस पटक आयोजित १५औं रोपाईं महोत्सवका विविध पक्ष तथा परिषदका गतिविधि र पर्यटन व्यवसायसँग केन्द्रित रहेर परिषद्का अध्यक्ष केदारनाथ शर्मासँग आर्थिक आवाजले गरेको कुराकानीः

रोपाईं महोत्सव आयोजना गर्नुको उद्देश्य के हो ?
अहिले हामी १५औं संस्करणको रोपाई महोत्सव गर्दैछौं । नेपाल र नेपालीको पहिचान कृषि व्यवसायलाई जोड दिएर हामीले महोत्सव आयोजना गरेका हौं । नेपाल कृषि प्रधान देश हो र प्रमुख बाली धान हो । कृषि योग्य भूमि प्लटिङ तथा अन्य विभिन्न वहानामा सकिदै गएका छन् । हाम्रो भावी पुस्तालाई धान कहाँ उत्पादन हुन्छ र चामल कसरी बन्छ भन्ने कुरा सिकाउन नपाउने अवस्था नआउला भन्न सकिदैन । कृषि योग्य भूमिलाई संरक्षण गर्नुपर्छ भन्ने सन्देश दिदैं पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यसहित हामीले महोत्सव आयोजना गरेका हौं । अहिलेसम्म जे जति कृषियोग्य भूमि बचेको छ त्यसको संरक्षणको लागि हामीले महोत्सव आयोजना गरेका हौं । हामीले जुन ठाउँमा असारे रोपाईं महोत्सव गरेर आएका छौं त्यो ठाउँ बचिरहेको छ ।

महोत्सवले कृषि व्यवसायलाई कसरी प्रवद्र्धन गर्छ ?
असार १५ मा हिलोमा टेक्नुपर्छ भन्ने प्रचलन छ । बाजा बनाएर नाँच गान सहित धान रोपाईं गर्ने चलन पनि थियो । कृषि व्यवसायमा नयाँ पुस्ताको चासो जगाउँन असार १५ को रोपाईं महोत्सव आयोजना गरिएको हो । संस्कृतिको संरक्षणको साथै कृषि व्यवसायको प्रवद्र्धन लागि पनि महोत्सव सहयोगी बन्नेछ । कृषि र पर्यटन जोड्न पनि मेलाले महत्वपूर्ण भुमिका खेल्नेछ । कृषिको आधुनिकीकरणमा पनि मेहासत्व सहयोगी बन्नेछ । सबै मौसमको लागि पर्यटन भन्ने भनाईलाई पनि यसले सार्थक पार्छ । पहिला पर्यटक कहिले काही मात्र आउथे । अहिले पोखरामा प्राय सबै सिजनमा हामीले आन्तरिक तथा बाह्य दुवै पर्यटक देख्न पाउछौं । पर्यटक बढाउन मेला तथा महोत्सव कोशेढुङ्गा बनेका छन् ।

यस पटकको महोत्सवका विशेषताहरु के–के छन् ?
महोत्सवलाई परिमार्जित गर्दै अगाडि बढाइरहेका छौं । हामीले एकै स्थानमा महोत्सव गर्दैनौं । हरेक वर्ष फरक स्थानमा महोत्सव गर्छौं । त्यस पश्चात त्यहाँका स्थानीयले महोत्सवलाई निरन्तरता दिदै आउनुभएको छ । खेतीयोग्य भूमिलाई प्लटिङ गर्न तथा बस्ती बसाल्न नपाउने नीति ल्याउनु आवश्यक छ । रोपाईं महोत्सवमा हामीले कृषिलाई नै प्राथमिकतामा राखेका छौं । पोखरा लेखनाथ महानगरपालिकाको पामेमा महोत्सव हुनेछ । पामे कृषियोग्य जमिन भएको क्षेत्र पनि हो । त्यस क्षेत्र पर्यटकको गन्तव्य पनि हो । यहाँ रहेको जमिनको संरक्षणको लागि पहल गर्दै ठाउँको प्रचार–प्रसारको लागि हामीले त्यहाँ महोत्सव गर्दैछौं । महोत्सवमा असारे गीत, रस्साकस्सी, हिलोमा दौडने, साउने, गोरु दौडाउने लगायतका प्रतियोगिता हुनेछन् । प्रत्येक वर्ष महोत्सवमा विदेशी पर्यटकको संख्या बढिरहेको छ । अहिले पनि धेरै भन्दा धेरै पर्यटक आउने विश्वास हामीले गरेका छौं । विदेशी कलेजबाट पनि विद्यार्थी आउने जानकारी हामीले पाएका छौं । महोत्सव हेर्न कै लागि भनेर कतिपय पर्यटक फर्किएर आएको पनि हामीले पाएका छौं ।

पर्यटन प्रवद्र्धनमा महोत्सव कसरी सहयोगी बन्छ ?
पोखरालाई मेला तथा महोत्सवको राजधानी पनि भन्ने गरिएको छ । महोत्सवले पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भुमिका खेलेको छ । असार साउनलाई अफ सिजन मानिन्छ तर अहिले त्यस्तो छैन । महोत्सवकै लागि भनेर आन्तरिक तथा बाह्य पर्यटक पोखरा आउने क्रम बढेको छ । हामीले अफ सिजनको महसुस गर्नुपरेको छैन ।

असार १५ का सन्दर्भमा सरकारलाई तपाईंको सुझाव के छ ?
नेपाल सरकारले असार १५ लाई धान दिवसको रुपमा मनाउँदै आएको छ । दिवस मनाउने काम मात्र नगरेर खेती योग्य भूमि बचाउन सरकारले पहल गर्नुपर्छ । समथर भूमिलाई बचाएर डाँडामा बस्ती बसाउने योजना सरकारले ल्याउनुपर्छ । बस्ती बसाउने स्थानमा पुर्वाधारको विकासमा जोड दिनु आवश्यक छ ।

परिषद्ले रोपाईं महोत्सवका अलवा अन्य केके गतिविधि गर्दै आइरहेको छ ?
पोखरा पर्यटन परिषद्ले जनचेतना जगाउने काम गरिरहेको छ । विभिन्न संघ संस्थासंग समन्वय गरेर विभिन्न गतिविधि हामीले संचालन गरिरहेका छौं । पर्यटन प्रवद्र्धनको लागि हामी निरन्तर सक्रिय भएर लागिरहेका छौं । देश तथा विदेशका विभिन्न स्थानमा गएर पर्यटन प्रवद्र्धका गतिविधि संचालन गरिरहेका छौं । होटल संघ, टान, रेवान लगायतका संघ संस्थाले विभिन्न गतिविधि संचालन गरिरहेका छन् ।

पोखरामा पर्यटकको आगमन कस्तो छ ?
पोखरामा पर्यटकको आगमन बढिरहेको छ । पर्यटन प्रवद्र्धनको लागि धेरै भन्दा धेरै काम गर्नु आवश्यक छ । विभिन्न पुर्वाधार निर्माण गर्नुपर्छ । भएका ट्रेकिङ रुटलाई व्यवस्थित गरेर अन्य गन्तव्य तथा रुट बनाउनु पर्छ । सरकारले धेरै कुरामा ध्यान दिनु आवश्यक छ । स्तरीय पर्यटक भित्र्याउन सरकार लाग्नुपर्छ । पर्यटन व्यवसायलाई विशेष प्राथमिकतामा राखेर विभिन्न गतिविधि संचालन गर्नुपर्छ ।

You might also like

Comments are closed.