कृषि क्याम्पसमा योग शिविर

 

लमजुङ, ४ जेठ

लमजुङको सुन्दरबजार नगरपालिकामा रहेको कृषि क्याम्पसमा निशुल्क योग शिविर शनिबारदेखि सुरु भएको छ । सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशको आयोजनामा स्वास्थ्य जीवन अभियान कार्यक्रम अन्तर्गत नागरिकहरुको स्वास्थ्य प्रवद्र्धन साथै नसर्ने रोगको न्यूनीकरण गर्ने उद्देश्यले शिविर गरिएको हो ।

तीन दिनसम्म चल्ने योग शिविरको शुभारम्भ लमजुङ जिल्ला समन्वय समितिका प्रमुख लोकराज पाण्डे र डाक्टर योगी विकासानन्दले गरे । जिल्ला समन्वय समिति प्रमुख पाण्डेले स्वास्थ जीवन र स्वास्थ समाज निर्माण गर्न नियमित योग अभ्यास आवश्यक रहेको बताए ।

सुन्दरबजार नगरपालिका प्रमुख जनकराज मिश्रले यो कार्यक्रमलाई नगरबासीले अवसरको रुपमा लिएर विशेषज्ञ आयुर्वेद स्वास्थ्य शिविरबाट लाभ लिन अनुरोध गरे । योग शिविरमा प्रमुख प्रशिक्षक डा. योगी विकासानन्दले स्वास्थ रहनको लागि खानपिन, जीवन शैलीमा सुधार र नियमित योग गर्नुपर्ने सुझाव दिएका थिए ।

सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख रमेश अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन मन्त्रलयका वरिष्ठ कविराज निरीक्षक नवीनकिरण भुसालले गरेका थिए ।

educational
टिप्पणिहरु
Loading...
Education Fair