कृष्णदास महाराजलाई पोखरामा नागरिक अभिनन्दन गरिने

आर्थिक आवाज

पोखरा, ७ चैत । पोखरामा समाधीमा बसेर चर्चामा आएका आद्य जगद्गुरु रामानन्दाचार्य पद विभुषित महायोगी सिद्वबाबा श्री १००८ डा.श्रीवैष्णव कृष्णदास महाराजलाई पोखरामा नागरिक अभिनन्दन गरिने भएको छ । नारायणस्थान धार्मिक क्षेत्र विकास समितिको व्यवस्थापनमा चैत ९ गते शनिवार पोखरामा गण्डकी प्रदेश स्तरीय कार्यक्रम गरी उनलाई नागरिक अभिनन्दन गरिने विहीबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

नागरिक अभिनन्दनअघि कृष्णदास महाराजलाई बाजागाजा र धार्मिक झाँकी सहित रथारोहण गरी पोखराका विभिन्न स्थान परिक्रमा गराइने जगद्गुरु महायोगी सिद्धबाबा नागरिक अभिनन्दन मूल समारोह समिति गण्डकी प्रदेशका संयोजक शुक्रराज शर्माले जानकारी दिए । नारायणस्थान मन्दिरमा पूजाअर्चनापछि शुरु हुने रथारोहण नदीपुर, पालिखेचोक, महेन्द्रपुल, चिप्लेढुङ्गा, न्यूरोड, सभागृहचोक, पृथ्वीचोकहुँदै प्रदर्शनी केन्द्र नयाँबजार पुगेर नागरिक अभिनन्दन समारोहमा परिणत हुनेछ ।

कार्यक्रममा गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवर, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलगायतले अभिनन्दन गर्ने कार्यक्रम रहेको कार्यक्रम संयोजक शर्माले जानकारी दिउ । उनका अनुसार कार्यक्रममा अभिनन्दन कार्यक्रमका प्रमुख संरक्षक विन्ध्यबासिनी मन्दिरका पीठाधेश्वर श्री १००८ स्वामी निशेषानन्द महाराज, निजामति कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीका उच्च पदस्थ अधिकारीहरुसहित सर्वसाधारणको बाक्लो उपस्थिति रहने जनाइएको छ । अभिनन्दन कार्यक्रममा करीब ५० हजार सहभागि हुने आयोजकले दाबी गरेको छ ।

महायोगी सिद्धबाबा नारायणस्थान धार्मिक क्षेत्र विकास समिति अन्तर्गत रहेको लक्ष्मीनारायण मन्दिरका पिठाधिश पनि हुन् । कृष्णदासजी महाराज जगद्गुरु श्री रामानन्दाआर्या सेवा पीठ चतराधामका संस्थापक एवम् पीठाधीश, श्री रामतारक ब्रह्मपीठ चतराधामका पीठाधीश हुन् । महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठान भक्तपुर नेपालका संस्थापक तथा आजिवन अध्यक्ष रहेका उनले समाज र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृतिको उत्थानमा महत्वपूर्ण योगदान दिएको आयोजकले जनाएको छ ।

अभिनन्दन गर्न लागिएका सिद्धबाबाले १२ सय साधकहरुलाई १ अर्ब ६० करोड श्रीरामतारक महामन्त्र मन्त्र जाप, १२ करोड हवन, ४ करोड मार्जनसहितको महायज्ञलगायत गरि सफलता प्राप्त गर्न सफल भएको बताइएको छ । उनले विभिन्न रोग र शोकले आक्रान्त नेपाली समाजलार्य योग र स्वदेशी उत्पादित विभिन्न जडीबुटीका माध्यमले निरोगी स्वस्थ बनाउने संकल्पमासमेत लागेको, स्वास्थ्य क्षेत्रका लागि आहार विहार र घरेलु दवाईको सहज जानकारी गराउने पुस्तकहरु प्रकाशन गरेको, समाधीमा सिद्धी प्राप्त गरेकोलगायतका उल्लेख्य अभियान सञ्चालन गरेको आयोजकले जनाएको छ ।

You might also like

Comments are closed.