केही पूर्व अध्यक्षको चरित्र र राजनीतिक पूर्वाग्रह प्रस्ट भएको छ : अधिकारी (विज्ञप्तिसहित)

आर्थिक आवाज
पोखरा, ४ असोज । असोज ५ र ६ गते पोखरा उद्योग वाणिज्य संघको ३२औं महाधिवेशन हुँदैछ । महाधिवेशनको पूर्व सन्ध्यामा बुधबार संघका १० जना पूर्व अध्यक्षहरुको विज्ञप्ति सार्वजनिक भयो । अध्यक्षका उम्मेदवार रवीन्द्रबहादुर प्रजूको पक्षमा सार्वजनिक लविङ गर्दै निकालिएको उक्त वक्तव्यप्रति अध्यक्षका अर्का उम्मेदवार दामु अधिकारीले विज्ञप्तिमार्फत कडा जवाफ दिएका छन् ।

राजनीतिक पूर्वाग्रह र स्वार्थका आधारमा केही पूर्व अध्यक्षहरुले वक्तव्य जारी गरेको अधिकारीले आरोप लगाएका छन् । ‘१० जना पूर्व अध्यक्षहरुले संघभित्र गरेको राजनीति देख्दा मलाई निकै दुःख लागेको छ,’ विज्ञप्तिमा अधिकारीले भनेका छन्, ‘राजनीति र स्वार्थ भन्दा माथि उठेर अभिभावकीय जिम्मेवारी बहन गर्नुपर्ने केही पूर्व अध्यक्षहरु यतिसम्म संकूचित हुनुहुन्छ भन्दा मलाई मात्र होइन पोखरा उद्योग वाणिज्य संघलाई माया गर्ने आम उद्योगी व्यवसायीहरु निरास भएको मैले महसुस गरेको छु । निरास नहुन र यथार्थको पछि लाग्न म सम्पूर्ण उद्योगी व्यवसायीलाई आग्रह गर्न चाहन्छु ।’

विज्ञप्तिको पूर्ण पाठ

प्रेस विज्ञप्ति

मितिः २०७५ असोज ४ गते ।

अग्रजहरुको योगदानबाट स्थापित निजी क्षेत्रको छाता संस्था पोखरा उद्योग वाणिज्य संघको आफ्नै गरिमा र इतिहास छ । वि.सं. २०११ मा तत्कालीन व्यापार संघबाट स्थापना भएको पोखरा उद्योग वाणिज्य संघले अहिले स्थापनाको ६४ वर्ष पार गरिसकेको छ । निजी क्षेत्रको हकहितमा मात्रै होइन समग्र पोखरा क्षेत्रको बृहत्तर विकासमा पनि संघको विशेष योगदान र भूमिका छ । संघमा रहेर हाम्रा अग्रजहरुले पु¥याउनुभएको योगदानलाई हामीले भुल्न सक्दैनौं । हाम्रा अग्रजहरुको योगदानबाट संघले प्राप्त गरेका उचाईलाई जोगाई राख्नुपर्ने प्रमुख दायित्व हामीमाझ छ । यसमा म र मेरो टिम पूर्ण प्रतिबद्ध छ ।

पोखरा उद्योग वाणिज्य संघमा पूर्व अध्यक्षहरुसहित सम्पूर्ण अग्रजहरुको योगदानलाई नकार्न सकिदैन । तर, स्मरण रहोस् १० जना पूर्व अध्यक्षले मात्रै पोखरा उद्योग वाणिज्य संघलाई यहाँसम्म ल्याउनुभएको होइन । राजनीतिको आडमा निजी क्षेत्रलाई चलाउन खोज्ने केही पूर्व अध्यक्षहरुकै कारण संघ माथि प्रश्न चिन्हहरु खडा भएका छन् । १० जना पूर्व अध्यक्षहरुले संघभित्र गरेको राजनीति देख्दा मलाई निकै दुःख लागेको छ । राजनीति र स्वार्थ भन्दा माथि उठेर अभिभावकीय जिम्मेवारी बहन गर्नुपर्ने केही पूर्व अध्यक्षहरु यतिसम्म संकूचित हुनुहुन्छ भन्दा मलाई मात्र होइन पोखरा उद्योग वाणिज्य संघलाई माया गर्ने आम उद्योगी व्यवसायीहरु निरास भएको मैले महसुस गरेको छु । निरास नहुन र यथार्थको पछि लाग्न म सम्पूर्ण उद्योगी व्यवसायीलाई आग्रह गर्न चाहन्छु ।

असोज ३ गते बिहीबार मलाई लक्षित गरी प्रकाशित विज्ञप्तिका सन्दर्भमा मेरो ध्यानाकर्षण भएको छ । यसका सन्दर्भमा यथार्थ र वास्तविक धारणा यहाँ सार्वजनिक गरेको छु ।

– संघमा राजनीति प्रवेशको सन्दर्भमा :
राजनीति प्रवेश गरेको भन्ने पूर्व अध्यक्षहरुको भनाई म प्रति लक्षित हो जस्तो लाग्दैन । किन कि उहाँहरु स्वयमले अगाडि बढाउनुभएको अध्यक्षका उम्मेदवार रवीन्द्रबहादुर प्रजू सक्रिय राजनीतिक कार्यकर्ता भएको र पोखरा महानगरपालिका वडा नं. ३ को जननिर्वाचित अध्यक्ष भएको कुरा सबैलाई जगजाहेर भएकै कुरा हो । म र मेरो प्यानलका कोही पनि सदस्य सक्रिय राजनीतिमा नभएको कुरा सबैलाई जानकारी गराउँछु ।

– सहमतिका सन्दर्भमा :
अघिल्लो निर्वाचनमा म सहित वर्तमान अध्यक्षको प्यानल अगाडि बढाउँदा आगामी निर्वाचनमा रवीन्द्रबहादुर प्रजूकै नेतृत्वमा अगाडि बढ्ने सहमति भएकै हो । तर, उहाँ पोखरा उद्योग वाणिज्य संघमा समय नदिई जनप्रतिनिधि हुन गएपछि उहाँसहित अघिल्लो निर्वाचनमा सहमति गर्ने समूहले अबको अध्यक्ष दामु अधिकारी भनेर पुनः सहमति भएको यथार्थ हो । उहाँ आफैले दामु अधिकारीलाई अध्यक्ष बनाएर अगाडि बढाउने प्रस्ताव गर्नुभएको थियो । हाल आएर उक्त प्रस्ताव उल्लंघन उहाँ आफैले गर्नुभएको छ । त्यसैले सहमति मैले होइन, उहाँले तोड्नुभएको हो ।

– सरकारसँगको सहकार्यका सन्दर्भमा :
देशमा अहिले तीन तहको सरकार छ । संघले सबैभन्दा बढी सहकार्य गर्नुपर्ने स्थानीय तहसँग हो । यस्तो अवस्थामा प्रतिस्पर्धी प्रजू पोखरा महानगरपालिकाको प्रतिनिधि रहेको कुरा सर्वविधितै छ । महानगरपालिकाको आर्थिक समितिको जिम्मेवारीमा बसेर कर बढाउने बैठकमा हस्ताक्षर समेत गरेका प्रजू निजी क्षेत्रको प्रतिनिधि बन्छु भनेर अगाडि सर्नु आफैमा विरोधाभास र हास्यास्पद कुरा हो ।

– १० जना पूर्व अध्यक्षको वक्तव्य नौलो होइन :
हालसम्म २३ जना पूर्व अध्यक्षहरुले नेतृत्व गरिसकेको पोखरा उद्योग वाणिज्य संघमा १० जना पूर्व अध्यक्षहरुले कुनै उम्मेदवारको पक्षमा विज्ञप्ति निकालिनु नयाँ कुरा रहेन । स्मरण रहोस् अघिल्लो वर्ष पनि बर्तमान अध्यक्षको टिमको विपक्षमा यही प्रकारको विज्ञप्ति उहाँहरुबाट प्रकाशित भएकै हो । पार्टीबाट निर्वाचित सांसद र गत संघीय चुनावमा पार्टीको चुनाव चिन्ह लिएर उम्मेदवार बनेका केही पूर्व अध्यक्षहरु सहितका व्यक्तिहरुले ‘गैर राजनीतिक चरित्रको विश्युद्ध व्यावसायिक र सामाजिक संस्थाको रुपमा रहेको पोखरा उद्योग वाणिज्य संघलाई राजनीतिक रंग दिने दुस्प्रयासलाई निस्तेज गर्नुछ’ भनी आफ्नो विज्ञप्तिको नम्बर ४ मा उल्लेख गरेको देख्दा उहाँहरुको चरित्र र राजनीतिक पूर्वाग्रह प्रस्ट भएको छ ।

– सहमतिको स्वामित्व सम्बन्धमा :
गत वर्ष गरिएका दुवै सहमति अहिले वक्तव्य जारी गर्ने कुनैपनि पूर्व अध्यक्षहरुको उपस्थितिमा गरिएको सहमति होइन । उहाँहरु विश्वशंकर पालिखे समूहको विपक्षमा हुनुुहुन्थ्यो । आज एकाएक त्यही सहमतिको पक्षमा हामी थियौं भन्नु सबै उद्योगी व्यवसायीलाई मुर्ख बनाउन सकिन्छकि भन्ने राजनीतिक र पूर्वाग्रही दाउपेच हो । यस विषयमा आम उद्योगी व्यवसायीहरुले वास्तविकता बुझ्नुभएकै छ ।

– मेरो प्रतिबद्धता :
मेरो एक मात्र उद्देश्य व्यवसायी साथीहरुको सेवक बन्ने हो । उद्योग व्यवसायको प्रवद्र्धनमा सक्रिय भएर नेतृत्व प्रदान गर्ने हो र गरिरहेको पनि छु । अन्य अवसर पाउँदा संघलाई लात हानेर व्यक्तिगत फाइदातर्फ लाग्नेहरुसँग मेरो तुलना हुन सक्दैन ।
अन्त्यमा, म बिगत ८ वर्षदेखि संघभित्र रहेर प्रत्यक्ष रुपमा र बिगत डेढ दशकदेखि अप्रत्यक्ष रुपमा संघको प्रगति, उन्नति र सम्वद्र्धनमा क्रियाशील छु । म सम्पूर्ण उद्योगी व्यवसायीको सच्चा प्रतिनिधिका रुपमा उभिने छु । भ्रममा पार्न सकिन्छ कि भनेर पूर्वाग्रही सोचबाट भएका वक्तव्यबाजीको पछि हाम्रा उद्योगी व्यवसायी साथीहरु लाग्नुहुने छैन भन्नेमा म पूर्ण विश्वस्त छु ।

दामु अधिकारी
अध्यक्ष पदको उम्मेदवार, पोखरा उद्योग वाणिज्य संघ, ३२औं महाधिवेशन

 

You might also like

Comments are closed.