कोरला नाका समयमा सम्पन्न हुनेमा आशंका

आर्थिक आवाज/पोखरा

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले काली गण्डकी करिडोर समयमा सम्पन्न हुनेमा आशंका व्यक्त गरेका छन् ।  संघीय सरकार मातहत रहेर काम भइरहेको उक्त करिडोरको काम सुस्त गतिमा भइरहेको भन्दै उनले असन्तुष्टि पोखे । ‘अहिलेकै अवस्थामा तीन वर्ष भित्रमा उक्त नाकाको काम सम्पन्न नहुन सक्छ,’ उनले भने । सडक निर्माणको कामलाई संघीय सरकारले अनुगमन गर्न नसकेको उनले आरोप लगाए ।

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराको २५औं साधारणसभा तथा १५औं अधिवेशनको शनिबार उद्घाटनका क्रममा बोल्दै गुरुङले नेपाल र चीन जोड्ने कालीगण्डकी करिडोरको काम समयमा नै सक्नका लागि प्रदेश सरकारलाई जिम्मेवारी दिइनुपर्ने मागसमेत गरे ।

केही समय अगाडि कोरला नाकासम्मको सडकको आफूले स्थलगत अनुगमन गरेको बताउँदै उनले केही निर्माण कम्पनीले निकै सुस्त गतिमा काम गरिरहेको बताए । राष्ट्रिय गौरवको आयोजना भनिएपनि निर्माणको प्रगति सन्तोषजनक नरहेको उनको भनाइ छ ।

गण्डकी प्रदेशको आर्थिक समृद्धिको मुख्य आधार पर्यटन भएको बताउँदै उनले पर्यटन क्षेत्रको पूर्वाधार विकासका लागि सरकार तयार रहेको बताए । अहिलेकै अवस्थामा सन् २०२० भित्र नेपालमा २० लाख पर्यटक भित्र्याउन गाह्रो रहेको उनको भनाइ छ । चीनबाट नेपाल भित्रने रेललाई कोरला, पोखरा हुँदै काठमाडौं र लुम्बिनी जोड्न पनि उनले संघीय सरकार समक्ष माग गरे ।

कार्यक्रममा बोल्दै अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले देशको पहिलो आयस्रोतको माध्यम पर्यटन भएकाले पर्यटन क्षेत्रमा लगानी बढाउनुपर्ने धारणा राखे । माछापुच्छ«े गाउँपालिकाका अध्यक्ष कर्णबहादुर गुरुङले माछापुच्छ«े गाउँपालिकामा लगानी गर्न चाहने निजी क्षेत्रलाई आफूहरुले प्रोत्साहन गर्ने बताए ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष केदारनाथ शर्माले पर्यटन क्षेत्र कर तिर्न तयार रहेपनि सरकारले एकद्वार प्रणालीबाट कर उठाउनुपर्ने माग गरे । पदयात्रामा हिड्ने पर्यटकसँग प्रत्येक स्थानीय तहले कर संकलन गर्दा पर्यटकप्रति नकारात्मक प्रभाव पर्ने उनले बताए । नेपाल टुरिजम बोर्ड पोखराका वरिष्ठ अधिकृत सूर्य थपलियाले पर्यटन क्षेत्रको विकासका लागि पूर्वाधार पहिलो प्राथमिकतामा पर्नुपर्ने धारणा राखे ।

टान पोखराका पूर्व अध्यक्ष डम्बरबहादुर केसीले रोजगार सहितको पदयात्रा व्यवसायको पक्षमा आफूहरु रहेको बताए । पर्यटकको सुरक्षाका लागि टे«किङ गाइडको अनिवार्य व्यवस्था गरिनुपर्ने उनको भनाइ छ । टान पोखराका अध्यक्ष दीपकराज अधिकारीको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रथम उपाध्यक्ष हरि भुजेल, सचिव सुशीलराज पौडेल लगायतले बोलेका थिए ।

संस्थाका पूर्व अध्यक्ष लगायत पदयात्रा पर्यटनका क्षेत्रमा योगदान पु¥याउने विभिन्न व्यक्तिहरुलाई टानले सम्मान गरेको छ । सम्मानित हुनेहरुमा नरेश भट्टराई, इन्दिरा बराल, लक्की कार्की क्षेत्री, पासाङ ग्याल्पिङ शेर्पा, सरस्वती नेपाली, जगन्नाथ तिमिल्सिना, किसम अधिकारी लगायत छन् ।

You might also like

Comments are closed.