कोरोना त्रासले व्यवसायमा मन्दी, घर भाडामा छुट गर्न विशालबजारको आग्रह

बैंक ब्याज ४५ दिन पछाडि तिर्न मिल्ने वातावरण बनाउन माग

पोखरा । विश्वव्यापी फैलिएको कोरोना भाइरसको त्रासले व्यवसायमा मन्दी आएपछि घरभाडामा विशेष छुट दिन बुद्ध विशाल बजार व्यापारिक एशोसियसन पोखराले आग्रह गरेको छ । एसोसिएसनका अध्यक्ष केशव बहादुर खत्रीको अध्यक्षतामा बसेको आकस्मिक बैठकले कम्तीमा एक महिनाको घरभाडा छुट गर्न घरधनी तथा कम्पनीलाई आग्रह गरेको हो ।

हाल देखिएको आर्थिक मन्दीले व्यवसाय चौपट्ट भएको बताउँदै न्युनतम एक महिनाको भाँडा छुट गरी व्यवसायीलाई राहात दिन पोखरा महानगरपालिका भित्रका घर बहाल लगाउने घर धनी तथा कम्पनीलाई अनुरोध गरिएको अध्यक्ष खत्रीले जानकारी दिए ।

कोरोना समस्याले व्यवसायमा देखिएको मन्दीले सम्पूर्ण व्यवसायीलाई ठुलो समस्या परेको भन्दै हाल त्रैमासिक बैंक व्याज तिर्ने बेलामा समस्या भएको संघको ठहर छ । बैंक ब्याज कम्तीमा ४५ दिन पछाडि तिर्न मिल्ने वातावरण बनाइदिन नेपाल सरकार तथा सम्वन्धित निकायलाई एसोसिएसनले आग्रह गरेको छ ।

हाल देखिएको कोरोना भाइरसको प्रकोपप्रति सचेत हुँदै एशोसियसनका सचिव बुद्वि कुँवरको संयोजकत्वमा पाँच सदस्यीय आकस्मिक स्वास्थ्य उपसमिति गठन गरेको छ । एशोसियसनले विशाल बजारमा कोरोना भाइरस सम्वन्धी परामर्श केन्द्र समेत सञ्चालनमा ल्याएको छ ।

You might also like

Comments are closed.