कोरोना राहत कोषमा भाटभटेनीको २ करोड ७५ लाख रुपैयाँ

गण्डकी प्रदेशलाई २५ लाख हस्तान्तरण

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा भाटभटेनी सुपरमार्केटले सहयोग गरेको छ । कोरोना नियन्त्रण गर्न सरकारले स्थापना गरेको उक्त कोषमा भाटभटेनीले २ करोड ७५ लाख रुपैयाँ सहयोग गरेको हो ।

संघीय सरकारलाई १ करोड रुपैयाँ सहयोग गरेको भाटभटेनीले सातवटै प्रदेशलाई २५ लाख रुपैयाँका दरले सहयोग गरेको छ । कोरोना भाइरसको संक्रमण संसारभर फैलिरहेको अवस्थामा नेपालमा पनि जोखिम बढेपछि मुलुक लकडाउनको अवस्थामा छ । यस्तो विषम परिस्थितिमा निजी क्षेत्रले राज्यलाई सहयोग गर्नुपर्ने दायित्वलाई बुझेर भाटभटेनीले रकम हस्तान्तरण गरेको प्रवन्ध निर्देशक मीनबहादुर गुरुङले बताए । ‘भाटभटेनी यहाँसम्म आउनुको कारण नै आमजनता हुन्,’ उनले भने, ‘समस्या परेका बेला सहयोग गर्नु हामी व्यवसायीको कर्तव्य हो ।

गण्डकी प्रदेशलाई २५ लाख हस्तान्तरण

सातै प्रदेशलाई सहयोग गर्ने क्रममा भाटभटेनीले गण्डकी प्रदेशको कोरोना राहत कोषलाई २५ लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी शुब्बा गुरुङलाई पोखरा शाखाका प्रमुख चक्र लालचनले २५ लाख रुपैयाँ बुधबार हस्तान्तरण गरेका हुन् ।

सहयोगले संघीय सरकार र प्रदेश सरकारलाई थोरै भएपनि राहत पुग्ने विश्वास लिएको प्रवन्धक विनोद भट्टराईले बताए । गण्डकी प्रदेश सरकारले स्थापना गरेको कोरोना भाइरस रोकथाम आपतकालीन कोषमा भाटभटेनीबाट प्राप्त सहयोगप्रति मुख्यमन्त्री गुरुङले धन्यवाद ज्ञापन गरेका छन् ।

You might also like

Comments are closed.