कोरोना संक्रमितलाई काउन्सिलिङ अभाव !

आइतबार जान नमानेकालाई सोमबार सम्झाईबुझाई गरेर आइसोलेसन पठाइयो

सन्देश श्रेष्ठ
पोखरा । पोखरामा गत बुधबार एक चिकित्सकमा नोभल कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखियो । त्यसलगत्तै उनको परिवारमा पनि संक्रमण भएको आशंकामा स्वाब लिइयो । स्वाब टेस्ट लिएको ५ दिनपछि आइतबार उनको ९४ वर्षीया हजुरआमा र ७२ वर्षिया फूपूमा संक्रमण पुष्टी भयो ।

कोरोना संक्रमण देखिएपछि आइतबार साँझ डाक्टरको हजुरआमा र फूपूलाई लिन जनप्रतिनिधि एम्बुलेन्ससहित पोखरा–४ स्थित उनको घर पुग्यो । शुरुमा वडाध्यक्ष र सचिवले घरधनी अर्थात चिकित्सकका बुबालाई बोलाए । बुबाको सट्टा उनकी श्रीमती बाहिर निस्किन् । वडाध्यक्ष र सचिवले हजुरआमा र फूपूलाई कोरोना पोजिटिभ देखिएकाले एम्बुलेन्स लिन आएको बताए । बिना काउन्सिलिङ सिधै आइसोलेसनमा लैजान आएको बताएपछि उनले आफ्नो परिवारका सदस्य जान तयार नभएको भन्दै नपठाउने बताइन् । वडाध्यक्ष र सचिवले एम्बुलेन्स आइसकेको भन्दै चाँडै तयार हुन भने । तर ति महिला चुक्कुल लगाएर भित्र पसिन् ।

भित्र पसेको केहिबेरपछि बाहिरबाट वडाध्यक्षले फेरि बोलाए । तर भित्रबाट कुनै जवाफ आएन । एकछिनपछि डाक्टरका बुबा देखिए । उनले छोरालाई आइसोलेसनमा लगेकोप्रति गुनासो गर्दै अबफेरि अन्य परिवारका सदस्यलाई आइसोलेसनमा नपठाउने बताए । वडाध्यक्षले तुरुन्त तयार हुन कर गरे । त्यतिञ्जेल कुराकानी गर्दै बसेका डाक्टरका बुबा वरण्डामै ढले । संक्रमित भएपनि आमा र दिदीलाई आइसोलेसन नपठाउने अडान लिएका उनी अचेत अवस्थामा रुँदै, बर्बराउँदै मूल गेट अगाडि लम्पसार परे ।

धेरैबेरसम्म गलफति भएपछि पनि संक्रमित जान तयार नभएपछि जनप्रतिनिधिले प्रहरी बोलाए । प्रहरी आएपछि पनि घरधनी डाक्टरका बुबा उठेनन् । नत उनको परिवारले घरको चुक्कुल नै खोले । बरु डाक्टरका परिवार आइसोलेसन जान नमानेपछि कोरोना संक्रमित लिन आएको एम्बुलेन्स चालक हतारिए । उनले जनप्रतिनिधिलाई चाँडो गर्न दवाब दिदै नत्र आफू रित्तै फर्किने चेतावनी दिए । अन्त्यमा जनप्रतिनिधि र प्रहरीको केहि जोर चलेन र रित्तै एम्बुलेन्स फर्काइयो ।

आइतबार साँझ कोरोना संक्रमित लिन आएको टोलि संक्रमितलाई नलिई फर्किएपछि स्थानीयमा त्रास फैलिएको थियो । संक्रमितलाई आइसोलेसनमा नलैजानुका साथै उनीहरुले घरलाई सिलपनि गरेनन् । नत घरलाई नै आइसोलेसन बनाउनतिर ध्यान दिए । सोमबार साँझसम्म पनि संक्रमित व्यक्तिहरु परिवारका अन्य सदस्यहरुसँग घुलमिल गर्दै बसेका थिए । जसका कारण संक्रमण अन्यमा पनि फैलिएको हुनसक्ने आशंका गरिएको छ । संक्रमित परिवारका छिमेकी एक महिलाले संक्रमितलाई आइसोलेसनमा नलैजानु गम्भीर गल्ती भन्दै भनिन्, ‘कि आइसोलेसनमा लैजानुपथ्र्यो, किचाहिं घर सिल गर्नुपथ्र्यो । दुबै नगर्दा हामीलाई झनै त्रास भएको छ ।’

आइतबार कसैगरी आइसोलेसनमा जान नमानेका कोरोना संक्रमित महिलालाई सोमबार आइसोलेसन लगिएको छ । आफन्त तथा समाजका अगुवाहरुले सम्झाई बुझाई गरेपछि उनीहरु राजी भएपछि एम्बुलेन्स मगाएर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसोलेसन वार्डमा लगिएको हो ।

काउन्सिलिङ बिना कोरोना संक्रमितलाई आइसोलेसनमा लैजान खोज्दा यस्तो समस्या आएको अधिकारकर्मी बिना सिलवाल बताउँछिन् । कोरोना ब्यबस्थापन टिमलाई संक्रमितलाई हस्पिटल लैजानुअघि काउन्सिलिङ जरुरी छ भनेर हामीले पटक÷पटक भनेका छौं,’ उनले भनिन् ‘तर उनीहरुले यसको महत्व नै बुझेनन्, यहि कारण समस्या झन् बढ्दो छ ।’

समाजशास्त्री विश्वकल्याण पराजुली कोरोनालाई डरलाग्दो रोगका रुपमा बुझ्दा समस्या आएको बताउँछन् । ‘पहिलो कुरा त रोगकै बारेमा बुझाउन सकिएको छैन,’ उनले भने ‘कोरोना लाग्दैमा मरिदैन, यसको उपचार सम्भव छ, उपचारका लागि आइसोलेसन जानुपर्छ र आइसोलेसन व्यवस्थित छ भनेर काउन्सिलिङ गर्नुपथ्र्यो, त्यसो नगर्दा संक्रमितहरु डराएका हुन सक्छन् ।’

सामाजिक अभियन्ता तथा कवि तीर्थ श्रेष्ठले संक्रमितलाई आइसोलेसनमा लैजानुअघि काउन्सिलिङ अपरिहार्य रहेको बताए । ‘संक्रमितलाई पहिले रोगको बारेमा बुझाउनु प¥यो,‘ उनले भने ‘त्यसपछि उनीहरुलाई आइसोलेसनबारे बुझाएर उपचारपश्चात ठीक भइन्छ भनेर आश्वास्त र विश्वस्त पार्नुप¥यो ।’ त्यसपछि पनि नमानेको खण्डमा भने संक्रामक रोग ऐन अन्तर्गत रहेर बाध्यकारी रुपमा बल प्रयोग गरेरपनि लैजान सकिने बताए ।

नागरिक अगुवा रामबहादुर पौडेल पनि बिना काउन्सिलिङ संक्रमितलाई जबरजस्ती आइसोलेसनमा लैजान नहुने बताउँछन् । ‘जबरजस्ती र बेइज्जतीपूर्ण होइन,’ उनले भने ‘सम्झाई, बुझाई गरेर आइसोलेसनको महत्व बुझाउन जरुरी छ, तबमात्र आइसोलेसनमा लैजाँदा सहज हुन्छ ।’

You might also like

Comments are closed.