पोखरा ।
प्रतिपक्षी दलहरुले गण्डकी प्रदेश सरकारले कोरोनालाई सम्बोधन गर्न नसकेको आरोप लगाएका छन् । आइतबार ल्याएको नीति तथा कार्यक्रमले विश्वव्यापी रुपमा महामारीका रुपमा फैलिएको कोरोनालाई सम्बोधन गर्न प्रदेश सरकार असफल भएको उनीहरुको आरोप रहेको हो । उनीहरुले प्रदेश सरकारले कोरोनालाई चिन्नै नसकेकोसमेत टिप्पणी गरे ।
प्रस्तुत नीति तथा कार्यक्रममाथि सोमबारदेखि शुरु भएको छलफलमा भाग लिदै नेपाली कांग्रेसका सांसद सरिता गुरुङले सरकारले कोरोनालाई पहिचान गर्न प्रदेश सरकार असफल भएको बताइन् । जसका कारण कोरोनाको रोकथाम, नियन्त्रण र उपचार तथा प्रभावित क्षेत्र पुनरुत्थानको कुनै ठोस योजना नआएको उनको भनाई छ ।
सांसद मेखलाल श्रेष्ठले कोरोनाबाट सिर्जित समस्या समाधान गर्न केन्द्रीत भएर आउनुपर्ने नीति तथा कार्यक्रम रामायणजस्तो भएर आएको टिप्पणी गरे । उनले प्रदेशको श्रोत र साधन उपयोग गरेर कोरोना संक्रमणको रोकथाम, नियन्त्रण र उपचारसँगै प्रभावित क्षेत्र पुनरुत्थान गर्नेगरी योजना नै नआएको बताए ।
सांसद विन्दुकुमार थापाले कोरोना संक्रमण रोक्न र यसबाट प्रभावित क्षेत्रलाई माथि उकास्न स्पष्ट रुपमा नीति कार्यक्रमले नबोलेको बताए । उनले कोरोना कोषमा रहेको रकमसमेत खर्च नभइरहेको स्थितिमा राहत र पुनरुत्थानको स्पष्ट खाका नआउनु आफैमा गम्भीर भुल भएको बताए । उनले सरकारको नीति तथा कार्यक्रममा समावेश लोकप्रिय नाराहरु जनता झुक्याउने, अल्मलाउने र कार्यान्वयन नगर्ने झुटको पुलिन्दा मात्र भएको टिप्पणी गरे ।
सांसद प्रकाशचन्द दवाडीले कुराले चिउरा चपाएपनि बास्तविक यथार्थमा कोरोनालाई सम्बोधन गर्न असफल भएको बताए ।
सांसद मनकुमारी गुरुङले सरकारले कोरोना मात्र नभई महिला, दलित, जनजाति, उत्पीडित समुदायका लागि ल्याएका कार्यक्रम आँखामा छारो हाल्ने खालको भएको टिप्पणी गरिन् ।
राष्ट्रिय जनमोर्चाकी पियारी थापाले कोरोना केन्द्रीत बजेट भनेपनि त्यसका लागि ठोस योजना र कार्यक्रम नआएको टिप्पणी गरिन् । उनले कोरोनाबाट प्रभावितलाई राहतसँगै स्वास्थ्य र पोषण कार्यक्रम नसमेटिएको तथा दिर्घकालिन स्वास्थ्य योजनाको मार्गचित्र नदेखिएको बताइन् ।
समाजवादी पार्टीकी धनमाया लामा पोखरेलले प्रदेश सरकारको नीति तथा कार्यक्रमले बास्तविक यथार्थलाई समबोधन नगरेको बताए ।
सत्तारुढ सांसदहरुले भने प्रदेशको नीति तथा कार्यक्रम वर्तमान परिस्थितिलाई मूल्यांकन गरेर प्रदेश विकासको स्पष्ट मार्गचित्र प्रस्तुत भएर आएको बताए ।
प्रदेश सभाको अर्को बैठक जेठ २० गते मंगलबार पूर्वाह्न ११ बजे बस्ने सभामुख नेत्रनाथ अधिकारीले बताए ।
Comments are closed.